पश्चिम नेपालको सबैभन्दा ठूलो फुटसल प्रतियोगिता नेपालगन्जमा हुँदै



नेपालगन्ज (बाँके) ।

पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता गोलफेस्ट २०२६ आगामी माघ ९ र १० गते (जनवरी २३ र २४, २०२६)मा बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब नेपालगन्जमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिता इश्वरी युनाइटेड प्रालिद्वारा आयोजना गर्न लागिएको हो ।

गोलफेस्ट २०२६ ले नेपालगन्ज तथा आसपासका जिल्लाहरूबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवद्र्धन गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक ईश्वरी युनाईटेडका अध्यक्ष सौगातविक्रम शाहले जनाएका छन् ।

अध्यक्ष शाहले भने, ‘गोलफेस्ट केवल एक प्रतियोगिता मात्र नभई पश्चिम नेपालमा फुटसल संस्कृतिको उत्सव हो । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै व्यावसायिक फुटसल वातावरण निर्माण गर्नुका साथै बाँके जिल्लालाई खेलकुद एक गन्तव्यको रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य हो।’

प्रतियोगिताका खेलहरू व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिने छ भने प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार नगद, ट्रफी तथा पदकको व्यवस्था गरिएको छ । साथै दर्शकहरूका लागि मनोरञ्जनात्मक गतिविधि, खानाका स्टल र अन्य गतिविधि पनि रहने छ, जसले प्रतियोगितालाई अझ आकर्षण, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास कार्यक्रम संयोजक रोशन महतराले व्यक्त गरे ।

प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ । इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब तथा मान्भी स्पोट्र्स हाउस (क्यूएफएक्सभित्र)बाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन् । सीमित सिट भएकाले छिटो दर्ता गर्न आयोजकले अनुरोध गरेको छ । गोलफेस्ट २०२६ ले पश्चिम नेपालमा फुटसल प्रतियोगिताको नयाँ मापदण्ड स्थापित गर्दै खेलकुद, सामुदायिक एकता र युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आयोजनकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार