भेनेजुएलाकी विपक्षी नेता मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिइन्



काठमाडौं ।

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले पाएको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन् ।बिहीबार ह्वाइट हाउसमा भएको भेटवार्ताको क्रममा उनले आफूले पाएको नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिएकी हुन् । भेटपछि पत्रकारहरुसँग मचाडोले भनिन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको मेडल दिएँ ।’

उनका अनुसार यो कदम भेनेजुएलाको स्वतन्त्रताप्रति ट्रम्पको अनोठो प्रतिबद्धताको सम्मानका रूपमा उठाइएको हो । अमेरिकाले सैन्य कारबाही गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि मचाडो र ट्रम्पबीचको यो भेट भएको हो । मेडल दिएको सन्दर्भमा मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभरको एउटा किस्सा सुनाइन् ।

उनका अनुसार दुई सय वर्षअघि जनरल (मार्क्विस डी) लायाफेटले सिमोन बोलिभरलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिंगटनको अनुहार अंकित थियो। बोलिभरले त्यो मेडल जीवनभर आफ्नै साथमा राखे । मचाडोले भनिन्, ‘इतिहासमा दुई सय वर्षपछि, आज बोलिभरका मानिसहरूले वाशिंगटनका उत्तराधिकारीलाई एउटा मेडल फर्काइरहेका छन् । यस पटक नोबेल शान्ति पुरस्कारको मेडल—हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप ।’

दक्षिण अमेरिकी महादेशमा सिमोन बोलिभरको नाम अत्यन्त सम्मानका साथ लिइन्छ । सन् १७८३ मा भेनेजुएलाको काराकसमा जन्मिएका बोलिभरले धेरै ल्याटिन अमेरिकी देशहरूलाई स्वतन्त्रता दिलाएका थिए । उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला राखिएको छ । त्यसैगरी बोलिभिया देशको नाम पनि उनको सम्मानमा राखिएको हो ।

ट्रम्पको नोबेल पुरस्कारको चाहना

ट्रम्पले लामो समयदेखि खुलेआम नोबेल पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन् । पुरस्कार नदिएको भन्दै उनले नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गर्दै आएका छन् । ट्रम्पको यस्तो लगातारको बयानबाजीका बाबजुद, गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो ।

नोबेल शान्ति पुरस्कार जितेपछि मचाडोले उक्त सम्मान ट्रम्पलाई समर्पित गरेकी थिइन् । यसैबीच नोबेल कमिटीले नोबेल शान्ति पुरस्कारको मेडल कसैलाई दिन सकिए पनि, पुरस्कार आफैं भने हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ ।

नोबेल पुरस्कारसम्बन्धी नियम के छन् ?

नोबेल पीस सेन्टरले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा मेडल बेच्न वा कसैलाई दिन सकिने जनाएको छ । पोस्टमा भनिएको छ, ‘नर्वेजियन नोबेल कमिटीका अनुसार, एक पटक नोबेल पुरस्कारको घोषणा भइसकेपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई ट्रान्सफर गर्न सकिँदैन । यो निर्णय अन्तिम हुन्छ र सधैंका लागि मान्य रहन्छ ।’ पोस्टमा थप भनिएको छ– मेडलको मालिक परिवर्तन हुन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि भने परिवर्तन हुँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार