जापानः जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ गठबन्धनलाई चुनौती दिन संयुक्त चुनावी मोर्चा गठन गर्ने सहमति जनाएका छन् । सम्भावित आकस्मिक चुनावलाई लक्षित गर्दै उनीहरूले स्विङ मतदाताहरू आकर्षित गर्ने उद्देश्यका साथ नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।
सबैभन्दा ठूलो विपक्षी दल जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीका नेता योशिहिको नोडाले बिहीबार पत्रकारहरूसँग भने,‘हामी संयुक्त रूपमा चुनाव लड्न नयाँ पार्टी गठन गर्न सहमत भएका छौँ ।’ उहाँका अनुसार विपक्षी शक्तिहरू एकीकृत भएर सत्तारूढ पक्षको सामना गर्ने तयारीमा छन् ।
मिडिया रिपोर्टहरूका अनुसार आगामी महिना हुनसक्ने आम चुनावमा सिडिपीले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी को पूर्व गठबन्धन साझेदार कोमेइटोसँग सहकार्य गर्दै चुनाव लड्ने तयारी गरेको छ । यस गठबन्धनलाई प्रधानमन्त्री ताकाइची नेतृत्वको दक्षिणपन्थी सत्तारूढ गठबन्धनको ‘मध्यमार्गी’ विकल्पका रूपमा प्रस्तुत गरिने बताइएको छ ।
प्रधानमन्त्री ताकाइचीको पार्टी तथा यसको वर्तमान कनिष्ठ साझेदार जापान इनोभेसन पार्टीका अधिकारीहरूले बुधबार पत्रकारहरूलाई जानकारी दिँदै अर्को हप्ता संसदीय सत्र सुरु भएलगत्तै शक्तिशाली तल्लो सदन विघटन गरी आकस्मिक चुनावको घोषणा गर्ने प्रधानमन्त्रीको योजनाबारे आफूहरूलाई सूचित गरिएको बताएका थिए ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्