जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित



मस्को : रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित बेलायती दूतावासका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका छन् । यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ । रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले दूतावासका ती कर्मचारीमाथि बेलायती गुप्तचर सेवाका लागि काम गरेको आरोप लगाएको छ ।
तर एफएसबीले आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन । रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कूटनीतिज्ञको मान्यता रद्द गरिएको र उहाँले अब दुई हप्ताभित्र देश छोड्नुपर्ने जनाएको छ । यस निर्णयबारे जानकारी दिन मन्त्रालयले रुसमा बेलायतका चार्ज डी’एफेयर्स डाने ढोलकियालाई मस्कोस्थित मुख्यालयमा बोलाएको थियो ।
विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘रुसमा अघोषित बेलायती गुप्तचर अधिकारीहरूको गतिविधिलाई मस्कोले कदापि सहन सक्तैन ।’ साथै, यस विषयमा लन्डनबाट गरिने कुनै पनि कारबाहीको उपयुक्त जवाफ दिने चेतावनी पनि दिइएको छ ।यस घटनाप्रति बेलायती सरकारबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार