१०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारी नगरिएको भन्दै असन्तुष्टि



सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । तोकिएकै मितिमा खेल सम्पन्न गर्नेगरी १०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारी नगरिएको उनको दाबी छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग मंगलबार सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मिति मात्र तोक्दै तयारी नदेखाउनु जनतालाई ढाँट्ने काम भएको बताएका हुन् । मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद कर्णालीमै आयोजना गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तर संघीय सरकारले पटक–पटक मिति तोकेर पनि आवश्यक तयारी नगरेको भन्दै उनले यस्तो कार्यप्रति आपत्ति जनाए । मुख्यमन्त्री कँडेलले खेलकुदका लागि आवश्यक सामग्रीसमेत खरिद प्रक्रिया अगाडि नबढाएकोप्रति आपत्ति जनाउँदै यही गतिले फागुनमा पनि प्रतियोगिता सञ्चालन हुन मुस्किल पर्ने बताए ।

हालसम्म खेलका लागि चाहिने सामग्री खरिद प्रक्रिया नै सुरु नभएको उनको भनाइ छ । तोकिएको मितिमा खेल सम्पन्न गर्न आवश्यक पहल गर्ने खेलकुदमन्त्री गुप्ताले आश्वासन दिएका छन् । यसबारे तयारी भइरहेको भन्दै छिटो तयारी गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार