आत्मपरक निबन्धः ‘निरस गणितमा रस धुलन’



ऋषिराम सापकोटा

विद्यालयको कक्षामा पहिलोपटक प्रवेश गर्दा मेरो हातमा पुस्तकभन्दा धेरै आशा थियो, म स्वयंको छात्र जीवन सम्झन्छु। मलाई पनि सबै विषयमध्ये विज्ञान र अन्य विषयमा रुची राख्थेँ, तर गणितप्रति भने एक प्रकारको दुबैभाव रुची र डर दुवैले मनलाई दोसाँध उभ्याउने गथ्र्याे। पछि यही विषय लिएर स्नातक सम्पन्न गरेँ, र आज मावि तहमा गणित शिक्षक भएर स्थायी नियुक्ति पाएको छु। अहिले म आफ्नो विद्यार्थीहरूमा पनि त्यही अस्थिर भावनाको मिश्रण देख्छु—कसैलाई गणित अत्यन्त रोचक लाग्छ भने कसैलाई त्यत्तिकै गाह्रो र निरस। यही अनुभवबाट जन्मिएको छ—गणितमा कसरी रस प्रदान गर्ने भन्ने खोज। गणित केवल अंक, सूत्र र परिभाषाहरूको थुप्रो होइन। यो त सोचाइको भाषा हो।यसले समस्या हल गर्ने क्षमताको विकास, तर्क गर्न सक्ने शक्ति, र विश्वलाई संरचना तथा सम्बन्धका आधारमा बुझ्ने माध्यम हो। जीवनका हरेक निर्णयदेखि विज्ञान, प्रविधि, अर्थतन्त्र, निर्माण, डिजाइन सबैमा गणित लुकेको हुन्छ। तर यस वास्तविक महत्त्वलाई विद्यार्थीले अनुभव गर्न सकेभने मात्र गणित उनीहरूका लागि ‘विषय’ होइन, ‘उपकरण’ बन्न सक्छ।

धेरै विद्यार्थीले गणितलाई किन निरस मान्छन् ? म शिक्षक भएकै दिनदेखि बुझ्दै आएँ, विद्यार्थीलाई गणित निरस लाग्नुका मुख्य कारण धेरै छन्।
सूत्रकेन्द्रित शिक्षण– अर्थ नबुझी कण्ठ गर्न लगाइन्छ। जीवनसँग सम्बन्ध नजोडिनु आदि,उनीहरूले सोध्छन्, “सर, यो कहाँ काम लाग्छ त?” भन्ने प्रस्न।त्रुटिलाई असफलता मान्ने संस्कार, गल्ती भयो भने गणित गाह्रो, आफू कमजोर भन्ने धारणा। म आफैँ पनि विद्यार्थी हुँदा ‘गल्ती’ गर्न डराउँथेँ, किनकि गणितमा उत्तर सजिलोसँग ‘ठीक÷गलत’ हुनेगर्छ। यही डरका कारण धेरै विद्यार्थी गणितबाट टाढिन्छन्। गणित गाह्रो होइन, गाह्रो बनाइन्छ। आधारभूत अवधारणा कमजोर हुँदा नयाँ पाठ बुझ्न कठिन हुन्छ। अभ्यासको अभाव तथा ‘कहिलेकाँही मात्र पढ्ने’ प्रवृत्तिले गणित झन् कठिन लाग्छ। प्रारम्भिक अवधारणा नवुझाई,ठोस र अर्धठोसको प्रयोग नगरी भावनात्मक चरणमा जव शिक्षकले फड्को मार्छ विद्यार्थीको लागि गणित कठिन लाग्छ। शैक्षिक सामग्री विनाको गणित शिक्षण वास्तवमै निरसहुन्छ विद्यार्थी सिक्न चाँदैन अनि गणित कठिन हुन्छ। गणित विषयलाई शिक्षक र साथि हरुले जव हाउगुजी को रुपमा प्रस्तुत गरिन्छनि अनि विद्यार्थीलाई गणित कठिन लान्नथाल्छ। परियोजनाकार्य ,अभ्यास भन्दा बढी शिक्षक प्रस्तुतीकरण र व्याख्यानमा समय बढि खर्च गर्दछ, अनि विद्यार्थी कक्षामा निदाउँछ। मलाई थाहा छ—एकदिन कक्षामा पढाउँदा एउटा विद्यार्थी मिलनले कपिमा सजिलो हिसाव मिलाउन नसक्दा आइसक्रीम झैँ पग्लिरहेको अनुहार देखाएर भने, “सर, म त गणितमै कमजोर हो।” तर जब म उ संग बसेर ठआधारभूत अवधारणा दिएँ, छोटो तर सुबोध तरिकाले भनेँ,अघिल्लो एकाइमा रहेर १० मिनेट अभ्यास गराइदिएँ—उनको अनुहारमा आएको मुस्कानले बुझेँ ‘गणित गाह्रो होइन—सही ढङ्गले सिकाउने शिक्षक नपाउँदा मात्रै गाह्रो लाग्दोरहेछ।’

अचम्म लाग्दो कुरा पहिले डराएका विद्यार्थी पनि कहिलेकाहीँ गणितमै चम्किन्छन्। कारण के होला? यो मेरो आफ्नै जीवनको घटना थियो म गणितमा कमजोर थिएँ । जव मलाई मेरो गणित शिक्षक रामजी सरले केहि गणितिय समस्या सिकाउँदा आधारभूत अवधारणा प्रस्ट पारिदिनुभयो,ठोस अर्धठोस र भावनात्मक विधिको आधारमा सिकाउनु भयो, अभ्यास (ड्रिल)मा जोडदिनु भयो अनिमलाई गणित सजिलो लाग्न थाल्यो। अरु सवैविषयको गृहकार्य पुरागर्ने तर गणितको अभ्यास गर्न पटक्कै मननलाग्ने,गणितको गृहकार्य नगर्दा सधैजसो पिटाई खानुपर्ने , गणितको पिरियड आयोकी पिसाबलाग्ने,कक्षामा बस्नमननलाग्ने,गणित शिक्षक देख्योकी मुन्टो निहुरिर्याएर बाटोकाटेर हिड्नेमान्छे म गिणित शिक्षक मनपर्न थाल्यो,गणित विषय सजिलो लाग्न थाल्यो, गणितको गृहकार्य नसकि अरुविषय को गृहकार्य गर्न मननलाग्नेहुन थाल्यो। परिणामत सधैजसो गणित विषयमा फेलहुने म सवैभन्दा बढि अंक गणितमा आउन थाल्यो , मेजर विषय गणित लिएर पढेँ र मा वि गणित शिक्षकमा स्थायी भएँ। सफल गणित शिक्षकको रुपमा विद्यालयबाट,स्थानिय तहबाट,जिल्ला शिक्षाबाट, प्रदेशबाट , राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत पुरस्कृत हुने अवसर पाएँ। मेरो शिक्षण जीवनमा म जस्तै गणितलाई हाउगुजी मान्ने धेरै विद्यार्थीहरुलाई मेरो व्याक्तिगत घटनासंग जोडेर हेरेको छु र आफुभन्दा अव्वल बनाउन सफल भएको छु।

मलाई खोज गर्न मनलाग्छ। मैले गणितमा सारैकमजोर विद्यार्थीको केस स्टडी गर्दछु,समस्याको पहिचान गर्छु, समस्या समाधान गरेर अगाडि बढ्छु। गणित शिक्षण गर्दा प्रारम्भिक अवधारणा प्रट्ट पार्छु, शैक्षिक सामग्रीको प्रयोगबाट ठोस,अर्धठोस हुँदै भावनात्मक चरणमा प्रवेश गर्छु,साना–साना सफलतालाई प्रोत्साहित गर्छु र आत्मविश्वास बढाउँछु।अर्थपूर्ण र रमाइलो पद्धतिमा सिकाउँछु, प्रशंसा र हौसला दिन्छु,सानोकक्षाको लागि कार्यमा आधारित शिक्षण र ठुलो कक्षाका लागि परियोजनाकार्यमा आारित शिक्षण गर्छु। त्सैलेहोला विद्यार्थीमा मेरो गणितकक्षा बन्जड जस्तो निरस होईन उपन्यास जस्तो रसिक बन्छ।गणितमा संकल्पना बुझिन्छ, आत्मविश्वास आउँछ, अनि विद्यार्थी ती सबै पहिलाका कठिनाइलाई जितेर अगाडि बढ्छन्। म धेरैका अनुभव हेरेर भन्छु—सही विधि पाए विद्यार्थीहरू अन्य विषयभन्दा पनि बढी मनोयोगका साथ गणित पढ्छन्। ठोस, अर्धठोस र भावात्मक (ब्दकतचबअत) विधिको प्रयोगकक्षामा म प्रायः ठोस सामग्री ल्याउँछु,
दाउरा, कागजका टुक्रा, पासा, सिक्का ज्यामितिका आकार ,घन, आयतघन, सिलिन्डरका मोडल यी वस्तुले विद्यार्थीले ‘देखेर’ सिक्छन्, ‘छोएर’ बुझ्छन्। त्यसपछि अर्धठोस—चित्र वा चार्ट प्रयोग गर्छु। अन्त्यमा मात्र भावात्मक–सूत्र, प्रतीक, परिभाषा मा लैजान्छु। यसरी क्रमशःसार्थकता पैदा हुन्छ रस पनि बढ्छ। मैले धेरै पटक कक्षामा ‘गणित प्रतियोगिता’, ‘संख्या बिंगो’, ‘छुटेको संख्या खोज’ जस्ता खेल खेलाएँ। विद्यार्थीहरू प्रतिस्पर्धी बने, हाँसे, रमाए—सिकाइ आफैँ भयो।गणित खेलसँग जोडिँदा विद्यार्थीमा अनुशासन, ध्यान र दिगोपन दुवै बढ्छ।

जीवनसँग सम्बन्ध जोड्ने

गणितलाई जीवनसँग जोडेर पढाउँदा रस असाधारण रूपमा बढ्छ।ब्याजको बारेमा सिकाउँदा उनैहरूको बाबुआमालाई सोधेर दैनिक ब्यवहार मा जोडिदिने ,मापन, क्षेत्रफल घरका भित्तो नाप्न लगायर, ,प्रतिशत छुटमा सामाग्री किन्न लगाएर व्यवहारिक शिक्षण गर्याैभने
विद्यार्थी भन्छन्, “ओहो, यो त वास्तवमै काम लाग्ने कुरा रहेछ!” यही ‘ओहो’ नै रसको जन्म हो। गणितका प्रवर्तक र आइज्याक न्यूटन, रामानुजन, गाउस जस्ता गणित–विद्वानको कथा सुनाउँछु। तिनीहरूले पनि संघर्ष गरे, जिज्ञासाले काम गरे, खेल्दै–खेल्दै नियम खोजे।विद्यार्थीले बुझ्छन् गणित केवल ‘कठोर नियमको थुप्रो’ होइन, कल्पनाको उपज पनि हो। शिक्षक तथा विद्यार्थी जीवनका अनुभवले सिकाएको कुरा
एक विद्यार्थी हुनाले मैले बुझें,गणितमा रोमाञ्चको यात्रा चोटीमा होइन, बाटोमा हुन्छ। एक शिक्षक हुनाले बुझें—सही पद्धति अपनाइयो भने प्रत्येक विद्यार्थीमा गणितप्रतिको रुचि जगाउन सकिन्छ। गणित धेरैका लागि डरको विषय हो भन्ने धारणा मैले विद्यार्थी जीवनमै नजिकबाट भोगेको हुँ। सूत्र कण्ठ गर्नुपर्ने, उत्तर नमिल्दा दण्ड पाउने, र “गणित त गाह्रो हुन्छ” भन्ने वाक्य बारम्बार सुन्ने वातावरणमै मैले गणित पढेँ। त्यही कठिन अनुभवहरू नै आज मलाई शिक्षकको रूपमा समाधान खोज्न प्रेरणा बनेका छन्। म आज जुन गणित कक्षा मा मैले सिकाउँछु , त्यो मेरो विद्यार्थी जीवनको अपूरो चाहनाको प्रतिफल हो।

मेरा लागि गणित केवल अंक र सूत्रहरूको संग्रह होइन; यो त सोच्ने तरिका हो, जीवन बुझ्ने भाषा हो। त्यसैले म गणितलाई अवधारणागत सिकाइबाट सुरु गर्छु। विद्यार्थीले “किन” बुझेन भने “कसरी” कहिल्यै स्थायी हुँदैन। अवधारणा स्पष्ट हुँदा गणित आफैं सरल र रमाइलो बन्छ।
गणित जटिल होइन, हामीले जटिल बनाएका हौँ भन्ने मेरो विश्वास हो। त्यसैले म सरल पद्धति अपनाउँछु। कठिन प्रश्नलाई साना–साना चरणमा विभाजन गर्दा विद्यार्थीको आत्मविश्वास बढ्छ। गणितलाई जीवनसँग जोड्न सकेनौँ भने त्यो किताबमै सीमित हुन्छ। त्यसैले म जीवनसँग सम्बन्धित उदाहरण प्रयोग गर्छु—बजारको हिसाब, समय व्यवस्थापन, दूरी र गति, बचत र खर्च। जब विद्यार्थीले आफ्नै जीवनमा गणित देख्न थाल्छ, तब गणित बोझ होइन, आवश्यकता बन्छ। हरेक विद्यार्थी फरक हुन्छ भन्ने सत्यलाई स्वीकार गर्दै म व्यक्तिगत ध्यान दिन प्रयास गर्छु। कसैलाई समय चाहिन्छ, कसैलाई प्रोत्साहन। सबैलाई एउटै तराजुमा जोख्नु अन्याय हो। शिक्षकको सानो हौसला पनि विद्यार्थीका लागि ठूलो ऊर्जा बन्न सक्छ। गणित खेल्दा अझ मीठो हुन्छ। त्यसैले म खेल, क्रियाकलाप र परियोजना कार्यमा आधारित शिक्षण गतिविधि प्रयोग गर्छु। समूह कार्य, गणितीय खेल, साना परियोजनाले विद्यार्थीलाई सक्रिय बनाउँछन्। कक्षा बोल्ने ठाउँ बन्छ, डराउने होइन।

म सिकाइलाई ठोस–अर्धठोस–भावात्मक प्रविधिबाट अघि बढाउँछु। वस्तु छुँदा, चित्र देख्दा र अन्ततः प्रतीक बुझ्दा गणित गहिरो रूपमा बस्छ। यसले कमजोर र सक्षम दुवै विद्यार्थीलाई साथ लिएर अघि बढ्न मद्दत गर्छ। यद्यपि, अभ्यास बिना गणित अधुरो हुन्छ। त्यसैले निरन्तर अभ्यास (ड्रिल) लाई म सजाय होइन, आत्मविश्वास निर्माणको माध्यम ठान्छु। सही मात्रामा, सही तरिकाले गरिएको अभ्यासले डर हटाउँछ। यी सबैको आधार भनेको सकारात्मक वातावरण हो। गल्तीलाई अपराध होइन, सिकाइको हिस्सा मान्ने कक्षा नै साँचो गणित कक्षा हो। विद्यार्थी हाँस्दै प्रश्न सोध्न सक्ने वातावरण बनाउन सकियो भने, गणित आफैं रसिलो बन्छ। मैले विद्यार्थी हुँदा प्राप्त गरेका कठिन अनुभवहरू नै म आज शिक्षक भएर समाधान बनाउन खोजिरहेको छु। गणित केवल ज्ञान होइन—आनन्द पनि हो। सही शिक्षकको हातमा विद्यार्थीले गणितलाई डर होइन, अवसरको रूपमा बुझ्छन्। त्यसैले, गणितको कक्षामा म सधैं यही विश्वास बोकेर जान्छु।कक्षाकोठामा जब कुनै विद्यार्थीले ‘सर, गणित रमाइलो पो रहेछ!’ भन्छ, त्यो क्षण नै मेरो शिक्षक जीवनको सबभन्दा ठूलो पुरस्कार हो।जब विद्यार्थी भन्छ, “सर, यो त सजिलो रहेछ,” त्यही क्षण मेरो शिक्षण सफल भएको महसुस हुन्छ। मैले विद्यार्थी हुँदा प्राप्त गरेका कठिन अनुभवहरू नै म आज समस्या समाधान बनाउन खोजिरहेको छु।
गणित केवल ज्ञान होइन,आनन्द पनि हो। सही शिक्षकको हातमा विद्यार्थीले गणितलाई डर होइन, अवसरको रूपमा बुझ्छन्। त्यसैले, गणितको कक्षामा म सधैं यही विश्वास बोकेर जान्छु।‘हर एक विद्यार्थीमा गणितप्रतिको रस छ; मेरो काम भनेको त्यो रस ब्यूँझाउने हो।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार