छायाँनाथमा पाँच विधेयक पारित



मुगु ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले पाँचवटा विधेयक पारित गरेको छ । छायाँनाथ रारा नगरपालिकाको १८औँ नगर अधिवेशनबाट पाँचवटा विधेयक पारित भएको नगरप्रमुख बिष्णुकुमार भामले जानकारी दिए । उनका अनुसार विधानसभाले नगरपालिकाका अत्यावश्यक विधेयक पारित गरेको हो ।

पारित भएका विधेयकमा छायाँनाथ रारा नगरपालिकाका एकल तथा दलित महिला जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०८२, छायाँनाथ रारा नगरपालिका युवा क्लब गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि–२०८२ र लैंगिक समानता र अपांगता सामाजिक समावेशीकरण रणनीति–२०८२ रहेका छन् ।

यस्तै नगरप्रमुखको श्रमदान अभियान कार्यान्वयनसम्बन्धी कार्यविधि–२०८२ र बालविवाह न्यूनीकरण रोकथाम नीति–२०८२ कार्यविधि पारित गरिएको नगरप्रमुख भामले बताए । उनका अनुसार विधायन समितिका संयोजक राजबहादुर विकले उक्त विधेयक सभामा पेश गरेका थिए ।
सभामा प्रस्तुत गरिएका विधेयक पारित भएपछि नगरप्रमुख भामले प्रमाणीकरण गरेका हुन् ।

नगरपालिकाको सुशासन कायम, अनियमितता र भ्रष्टाचार रोकथामलगायत स्थानीय विकासमा कार्यविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ । नगर उपप्रमुख ऐश्वर्या मल्लले नगरपालिकालाई भ्रष्टाचारमुक्त र शून्य सहनशीलतासहित सुशासन र पारदर्शिता कायम गर्न लागिपरेको बताइन् । पाँचवटा कार्यविधिलाई मूर्तरुप दिन नगरपालिकाका जनप्रतिनिधिहरूको ऐक्यबद्धता रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार