वाटरपार्क बस्ती विकासको योजना सुस्त



त्यतिबेला उक्त क्षेत्रमा बस्ती विकास भएमा नेपालगन्जको सहरी विकासका हिसाबले नमुना र सुविधासम्पन्न बस्ती विकास हुने भनिएको थियो । जुन अवधारणाले २०६७ सालमा नेपाल सरकारबाट स्वीकृति पाएसँगै नेपालगन्ज नगर विकास समितिले उक्त परियोजना अघि बढाउने स्वीकृति पाएको थियो । स्वीकृति पाएको डेढ दशक बित्दा पनि सो क्षेत्रमा जग्गा पर्ने नागरिकहरूले अझै आफ्नो ‘सपनाको घर’ बनाउन पाउने अवस्था बनेको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके नेपालगन्जका बलबहादुर चन्दका पिताले २०४० सालतिर नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्ने वाटरपार्क सुशील नगरभित्र करिब एक बिघा जग्गा खरिद गरेका थिए । अहिले पनि चन्द परिवारको करिब नौ कट्ठा जगा उक्त क्षेत्रमा छ । नेपालगन्ज सहरको केन्द्र मानिने उक्त क्षेत्रको जग्गा बैंकमा धितो राख्नेबाहेक न चन्द परिवारले त्यहाँ घर बनाउन पाएको छ, न खेती गर्न ।

वाटरपार्क क्षेत्रलाई पर्यटकीय क्षेत्र र देशकै एक सुन्दर बस्तीको रूपमा विकास गर्ने भन्दै करिब दुई दशकअघि त्यस क्षेत्रको करिब ६५ बिघा जग्गा एकीकरण गरी बस्ती विकासको अवधारणा अघि सारिएको थियो । त्यतिबेला उक्त क्षेत्रमा बस्ती विकास भएमा नेपालगन्जको सहरी विकासका हिसाबले नमुना र सुविधासम्पन्न बस्ती विकास हुने भनिएको थियो । जुन अवधारणाले २०६७ सालमा नेपाल सरकारबाट स्वीकृति पाएसँगै नेपालगन्ज नगर विकास समितिले उक्त परियोजना अघि बढाउने स्वीकृति पाएको थियो ।

स्वीकृति पाएको डेढ दशक बित्दा पनि सो क्षेत्रमा जग्गा पर्ने नागरिकहरूले अझै आफ्नो ‘सपनाको घर’ बनाउन पाउने अवस्था बनेको छैन । यसबीचमा वाटरपार्क क्षेत्रको जग्गा एकीकरण गरी सडकको नक्सांकनपश्चात् जग्गाधनीहरूलाई बचेको जग्गाको लालपुर्जा वितरण गरिएको छ। नेपालगन्जको पुष्पलाल चोकबाट सुरु भई विशाल चोक निस्कने सडकमा माटो पटानको काम पनि भएको छ । तर, मूल सडकलाई कालोपत्रे गर्ने, अन्य सडकको निर्माण गर्ने, बिजुली बत्ती र खानेपानीको व्यवस्थापन गर्ने काम अझै हुन सकेको छैन ।

सडकबाट कति मिटर छोडेर घर बनाउने भन्ने मापदण्ड पनि तय नभइसकेकोले अहिले नगरपालिकाले उक्त क्षेत्रमा घर बनाउनका लागी नक्सा पासको कामलाई पनि रोकेको छ । उपमहानगरका नापी शाखा प्रमुख मनराज थापाले सडकतर्फ छोड्नुपर्ने जमिनको सन्दर्भमा निर्णय भएर आएपछि मात्रै नक्सा पास गर्न सकिने भएकोले अहिले उक्त काम रोकिएको बताए । उनले उक्त मापदण्ड तोक्ने विषयमा छलफल चलिरहेको र केही दिनमा निर्णय हुनसक्ने जानकारी पाएको बताए ।

यतिमात्रै होइन उक्त क्षेत्रमा घर बनाउँदा एउटै डिजाइन र रङका घरहरू बनाइने भनिएको थियो । तर, अहिलेसम्म त्यस क्षेत्रका उपभोक्ता जग्गाधनीसँग मापदण्डका विषयमा छलफल नभएको चन्दले बताए । उनले भने, ‘यस्ता विषयमा उपभोक्ताहरूसँग छलफल गर्नुपर्ने हो । त्यसले उपभोक्ताहरूलाई पनि केही भइरहेको भन्ने सन्देश जाने थियो । यो व्यवस्थित सहरीकरणतर्फ नेपालगन्जको एउटा नमुना योजना भएकोले सार्वजनिक महत्वको योजना हो भन्ने पनि नगरपालिका र नगर विकास समितिले ख्याल गर्नुपर्छ,’ चन्दले भने ।

नेपालगन्ज नगर विकास समितिका सदस्य एवं वाटरपार्क एकीकृत बस्ती विकास क्षेत्र पर्ने वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले नगर विकास समितिले करिब चार महिनाअघि नै सडक कालापत्रेका लागि टेण्डर आह्वान गर्ने निर्णय गरे पनि अहिलेसम्म किन टेण्डर आह्वान भएन भन्ने आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘बाटो नबनेसम्म मानिसहरू घर बनाउँदैनन् । बाटो बनाउनका लागि ठेक्का निकाल्नु भनेर हामीले चार महिनाअघि नै निर्णय गरिसकेको हो । त्यसबारे अहिले के भइरहेको छ मैले बुझ्न पाएको छैन ।’

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले बस्तीको मुख्य सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारीमा रहेको बताए । ‘यो हप्ताभित्रमा ठेक्का आह्वान गर्ने तयारीमा छौँ । त्यस सडकलाई भाइरल रोड नै बनाउनेगरी निर्माण गर्ने हामीले सोचेका छौँ,’ शर्माले भने । शर्माका अनुसार अहिले सडक निर्माणका लागि करिब पाँच करोड रूपैयाँको योजना अघि सारिएको छ ।

‘यो अर्बबढीको लागत अनुमान गरिएको योजना हो । अब घडेरी बिक्री गर्दै पैसा जम्मा गर्दै अरु पूर्वाधार बनाउँदै जाने त हो नि । पहिला अब टेण्डर खोलौँ । टेण्डर खोलेर प्रचारप्रसार हुन्छ,’ शर्माले अगाडि भने, ‘त्यसपछि घडेरी बिक्री गर्नलाई सूचना निकालेपछि मान्छेले किन्देलान् । किनेपछि अलि पैसा बढ्छ । त्यसपछि फेरि अर्काे प्रोजेक्ट बनाउने । त्यसरी कमाउँदै काम गर्दै जाने हो ।’

नगरप्रमुख एवं नगर विकास समितिका अध्यक्ष प्रशान्त बिष्टले पनि वाटरपार्क क्षेत्रमा बस्ती विकासको योजना अब केही दिनमै पुनः सुचारु हुने बताए । उनले घरको नक्सा पासको काम अहिले घरको रङलगायतका मापदण्डबारे निर्णय हुन बाँकी रहेकोले रोकिएको र सडक निर्माण भएसँगै उक्त काम पनि सुचारु हुने बताए । बस्ती विकासको योजना स्वीकृत भएको एक दशकपछि २०७७ सालमा जग्गाको स्थायी प्रमाणपत्र वितरण सुरु गरिएको थियो ।

परियोजनाअन्तर्गत हालसम्म ६ सय ६२ जनालाई स्थायी पुर्जा वितरण गरिएको छ । लालपुर्जा हस्तान्तरण गर्दै तत्कालीन नगरप्रमुख डा. धवलशमशेर राणाले डेढ वर्षभित्र सम्पूर्ण रूपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेका थिए । राणाले उक्त दाबी गरेको पनि पाँच वर्ष बितिसकेको छ ।

तर, निर्माणका नाममा अहिलेसम्म मूल सडकमा नाली निर्माण र एक चरण माटो पटानबाहेक अरु काम हुन सकेको छैन। बरु उक्त पर्यटकीय क्षेत्रको प्रवेशद्वारमै यातायात व्यवसायीहरूले सवारीसाधनको पार्किङस्थल बनाएर एक किसिमको अतिक्रमण सुरु गरिसकेका छन् । वाटरपार्कमा मोटरबोट सञ्चालन भई पर्यटकीय गतिविधि भने सुरु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार