कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा जारी महोत्सवमा सबैभन्दा खोजिएको नाम हो, दुर्गेश थापा । पछिल्लो पुस्ताका निकै चर्चित स्टेज पर्फमर तथा कलाकार थापा मंगलबार कोहलपुर महोत्सवका मुख्य आकर्षण थिए । महोत्सवको १४औँ दिनमा आफ्नो प्रस्तुतिका लागि आएका थापाको जबरजस्त क्रेज देखियो । नेपालमा मात्रै नभएर विदेशमा समेत उत्तिकै माग रहेका थापाको लागि दर्शकले दिउँसोदेखि पर्खिरहेका थिए । थापा बेलुका ५ः४५ मा महोत्सवस्थल प्रवेश गरेका थिए । उच्च सुरक्षासहित गाडीमा आएर स्टेज उक्लिएका उनले आफ्ना चर्चित गीतहरू गाए । फिल्मी शैलीमा मञ्च प्रवेश गरेका थापालाई नजिकबाट हेर्न दर्शकहरू उत्साहित देखिन्थे ।
टिमसहित मञ्च उक्लिएका उनी स्टेज चढ्नुअघि कालो मास्क र कालो पहिरनमा थिए । उद्घोषकले बोलाउनेबित्तिकै मास्क खोलेर सिधैँ प्रस्तुति दिए । चर्चित गीत दुस्मन हेरेको हेरेईबाट उनको प्रस्तुति सुरु भयो । त्यतिबेला अध्याँरो भइसकेको थियो । तर, उनको प्रस्तुति हेर्न आएका दर्शकले उनी मञ्जमा प्रवेश गर्नेबित्तिकै न्यानो स्वागत गरे । महोत्सवको माहोल एकाएक तात्तियो । दर्शकहरू उनको गीतमा झुम्न थाले । केही समय उनले आयोजकलाई सम्बोधन गरे । एक फ्यानले थापाको चित्र कोरिएको फोटो फ्रेम उपहार दिएका थिए ।
त्यसपछि सुरु भयो दुर्गेशको धमाका । उनको अर्को चर्चित गीत ‘बमबम भोले’ गाउँदासम्म महोत्सवको माहोल नै गरमागरम भइसकेको थियो । उनी गीत गाउँदै जान्थे । दर्शकहरू उनलाई फूल बर्साउँथे । विशेषगरी युवा संगीतप्रेमीमाझ निकै लोकप्रिय रहेका उनको फ्यान कति छन्, कोहलपुर महोत्सवमा राम्रैसँग देखियो । उनले प्रस्तुति सुरक्षाकर्मीहरूलाई सम्हाल्न नै धौ धौ भयो । यतिसम्म भयो, उनको प्रस्तुतिमा झुमेका दर्शकहरूले फलामे बारसमेत पन्छाएर स्टेल अगाडी आए ।
केही दर्शक त उनीसँगै स्टेजमै आएर नाचेका थिए । धेरैजना आउन थालेपछि सुरक्षाकर्मीको टोलीले उनीहरूलाई मञ्चभन्दा तल झार्नुपरेको थियो । तर, उनको प्रस्तुतिमा झुमेर रमाइरहेका दर्शकलाई कसले रोक्न सक्ने ?
माहोल झन् झन् उत्तेजित हुन थाल्यो । स्थिति नियन्त्रणमा लिनै नसकिने अवस्था भइरहेको थियो । दर्शकहरूले अरु गीत गाउन हुटिङ गरिरहेका थिए । उनले त्रेसो गीत गाए ‘क्षेत्रीको छोरो हिरो छ ।’ थापाले छोटो समयको प्रस्तुति दिए पनि दर्शकलाई निराश बनाएनन् । दर्शकहरूबाट अन्य गीतका लागि हुटिङ आएपछि सुरक्षा चुनौतीका कारणले उनले प्रस्तुति नै रोक्नुपर्ने स्थिति आयो । तर उनलाई निरन्तर गीत आउन दर्शकहरूले आग्रह गरिरहे ।
अवस्था यस्तो भइसकेको थियो कि उनले चाहेर पनि प्रस्तुति दिन सक्ने अवस्था थिएन । दर्शकहरूको मागका बाबजुद उनलाई सुरक्षित स्थानमा राखियो । थापालाई मञ्चबाट झारेर सचिवालयमा लैजान निकै हम्मेहम्मे नै थियो । जहाँ उनी आधा घण्टासम्म राखिए । बाहिर भने दर्शक र उनका फ्यानहरूले कुरिरहे । स्थिति सम्हाल्न प्रहरीलाई निकै समय लाग्यो । स्थिति सामान्य भएपछि मात्रै उनी महोत्सवस्थलबाट कडा सुरक्षाका बीच बाहिरिए । उनका गीत र प्रस्तुतीले महोत्सवको माहोल थप रोमाञ्चक बनेको थियो ।

थापालाई हेर्न हजारौँ दर्शक, विशेषगरी युवा–युवतीहरूको उल्लेख्य भीड थियो । महोत्सवमा थापाभन्दा अघि गायिका सम्झना रनपाल, रिता केसी, तृप्ती खड्का तथा गायक भुवन भट्टराई, विश्वजित मल्ल ठकुरी र डान्सर पूजा बुढाले समेत प्रस्तुति दिएका थिए । चिसो मौसमका बाबजुद महोत्सव परिसर दर्शकले खचाखच भरिएको थियो ।
पुस ९ गतेदेखि कोहलपुर न्यूरोडस्थित खुला मैदानमा सञ्चालन भइरहेको महोत्सव पुस २४ गते समापन हुने कार्यक्रम तय गरिएको छ । यद्यपि, पुस २३ गतेसम्म मात्र सांगीतिक प्रस्तुति रहने र २४ गतेको समापन समारोह खुला रूपमा सञ्चालन हुने मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले जानकारी दिए ।
महोत्सवको १५औँ दिन बुधबार चर्चित गायिका सिर्जना खत्री (हाउडे माया), गायक एस कुमार, श्रीकृष्ण बम मगर, शिव सङ्गीतलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उपसमितिका संयोजक चण्डीप्रसाद गैरेले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्