कालीकोट
जिल्लाको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।
नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए । उनकाअनुसार विद्यार्थीबाट केही रकम लिएर आवासीय कक्षा सञ्चालन गरिएको छ भने आर्थिक रूपमा विपन्न केही विद्यार्थीलाई विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् ।‘यसै शैक्षिक सत्रमा हुने एसइई नतिजा सुधारका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो,’ उनले भने, ‘नगरपालिकाका चारवटै माध्यमिक विद्यालयले यस वर्षदेखि ३०९ विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरिएको छ । उनीहरूलाई विद्यालयमै राखेर दिउँसो नियमित पढाइका साथै बिहानबेलुकी थप तयारी कक्षा सञ्चालन गराइएको छ ।’
बडीमालिका माध्यमिक विद्यालय रास्कोटले ५६ छात्र र ४८ छात्रा, कालाशिल्ला माध्यमिक विद्यालयले ४४ छात्र र ३७ छात्रा र जनजागृति माध्यमिक विद्यालय फुकोटले ३७ छात्र र ४४ छात्रालाई मासिक चार हजार शुल्क तिर्दै आएका छन् ।
त्यस्तै मोतीराम माध्यमिक विद्यालय सिप्खानाले २० छात्रा र २३ छात्रबाट नगद तीन हजार र १५ किलो चामल र दुई किलो दालका दरले शुल्क उठाएर आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शाखा प्रमुख शाहीले बताए । उनका अनुसार नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । आवासीय विद्यालयका लागि नगरपालिकाले प्रतिविद्यालय दुई लाख तथा द्रुत सिकाइअन्तर्गत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले ५० हजारका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने उल्लेख छ । विद्यार्थीबाट उठाइने शुल्कबाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खानासहित प्रत्येक शनिबार मासु खुवाउने मेनु बनाइएको कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाईंले बताए ।
गत वर्ष आफ्नो विद्यालयको एसइई नतिजा कमजोर भएकाले यस वर्ष आवासीय सुविधासहित पढाउन थालिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । नगरको बडिमालिका माध्यमिक विद्यालयले मात्र विगतमा आवासीय रूपमा विद्यार्थी राखेर थप कक्षा सञ्चालन गर्दा नतिजामा सुधार आएकाले यस वर्षदेखि चारवटै माध्यमिक विद्यालयले आवासीय रूपमा विद्यार्थी राखेको उनको भनाइ छ । उनका अनुसार शैक्षिक सुधारमा नगरपालिकाले विशेष प्रकारले कामको थालनी गरेको छ । तर जिल्लाका नौ स्थानीय तहमध्ये अन्य आठ स्थानीय तहका एसइई परीक्षा दिने विद्यार्थी, जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायत ठाउँ जान बाध्य छन् ।









प्रतिक्रिया दिनुहोस्