नयाँ जीवन दिँदै प्राकृतिक अस्पताल



गणेश रावत । कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका–४ का स्थानीय हरिबहादुर केसी विगत लामो समयदेखि ढाड दुख्ने समस्याले पीडित थिए । उनी ढाडको उपचारका लागि काठमाडौँलगायत भारतसम्म पुगे । आर्थिक रूपमा पनि धेरै खर्च गरे । तर, उनको ढाड दुख्ने समस्या समाधान हुन भने सकेन।
उनले कोहलपुर नगरपालिका–२ प्रेमनगरमा रहेको सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पतालमा उपचार गराएपश्चात् भने उनको ढाड दुख्ने समस्या समाधान भएको छ ।

जसका कारण विगत लामो समयदेखि सहँदै आएको पीडा अन्त्य भएको उनी बताउँछन् । ‘ढाडको नसा च्यापिएकाले ढाड दुख्ने समस्याले धेरै दुःख पाएँ,’ उनले भने, ‘यसको उपचारका लागि भारतसम्म पुगेँ । धेरै पैसासमेत खर्च भयो । तर, सञ्चो भएको थिएन् । अहिले सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पतालमा उपचार गरेर सञ्चो भएको छ । ’

अहिले थोरै आर्थिक रकमले सहजै ढाड दुख्ने समस्यासमेत समाधान भएपछि उनको मुहारमा खुसी छाएको छ । जसका कारण नयाँ जीवन पाएको महसुस भएको उनले बताए । अस्पतालमा एक महिनासम्मको निरन्तर उपचारपश्चात् ढाड दुख्ने समस्याबाट मुक्त भएको उनी बताउँछन्। यस्तै कोहलपुर–११ का स्थानीय खिमबहादुर घर्ती पनि लामो समयदेखि हाडजोर्नीको समस्याले पीडित थिए ।

धेरै ठाउँहरूमा उपचार गराए पनि सञ्चो नभएपछि सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पतालमा उपचार गराउन पुगे । अहिले उनको हाडजोर्नी दुख्ने समस्या पनि समाधान भएको छ । ‘पहिला प्राकृतिक उपचारमा विश्वास नगर्दा धेरै आर्थिक र समयको खर्च भयो,’ उनले भने, ‘त्यसैले सबैले समयमै बुझ्न आवश्यक छ ।’ अबको समयमा प्राकृतिक उपचार विधि नै उत्तम रहेको उनी बताउँछन् ।

उनीहरू त केवल उदाहरण मात्र हुन् । उनीहरूजस्तै अहिले ५ हजार जनाले सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पतालबाट सेवा लिएको अध्यक्ष नमप्रसाद शर्माले जानकारी दिए । पछिल्लो समय दिनप्रतिदिन प्राकृतिक उपचार गराउनेको आकर्षण बढ्दो रहेको उनले बताए । सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालनमा आएको छोटो समयमै उपचार गराउनेको आकर्षण बढेको उनको भनाइ छ ।

गत वर्षको भदौ ७ गतेबाट सञ्चालनमा आएको अस्पतालबाट अहिले करिब ५ हजार जनाले उपचार सेवा लिएका छन् । करिब एक दशकदेखि आर्थिक अभावले थला परेको प्राकृतिक चिकित्सालय सञ्चालनमा आएपछि अहिले दैनिक २० जनाले उपचार लिने गरेको उनले बताए । आर्थिक अभावले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद अस्पतालले गुणस्तरीय आयुर्वेद तथा प्राकृतिक उपचार सेवा प्रदान गर्दै आएको उनले दाबी गरे ।

पश्चिम नेपालको केन्द्रबिन्दुका रूपमा रहेको कोहलपुरमा एउटा पनि आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र नहुँदा अन्य ठाउँहरूमा धाउनुपर्ने बाध्यता अब अन्त्य भएको उनले बताए । उक्त सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकलाई धेरै राहत भएको उनले बताए । पछिल्लो समय खानपिनका कारणले घातक रोगहरू बढ्दो क्रममा रहेकाले समयमै योग एवम् आयुर्वेद तथा प्राकृतिक उपचार आवश्यक रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार