भरतबहादुर रानाभाट
शनिवारको दिन मौसम सफा थियो । दिनको दुई बज्दै थियो, गेन्स्भीलको आकाशमा कता कति छिट्पुट बादलका झुप्पाहरु निकै टाढाटाढा देखिन्थे । मन्द मन्द चिसो हावा चलीरहेको थियो । एक ठाउँबाट अर्को ठाउँमा जाने अमेरिकन एयरलाइन्सका जहाजहरु उडेर आकाशमा अर्को छुट्टै राजमार्गको निर्माण भएझै देखिन्थ्यो । आकाशमा देखिएको त्यो लामो लामो धुँवाको मुस्लो हेर्नलायक थियो । अमेरिकाको फ्लोरिडा राज्यको गेन्स्भीलमा रहेको द पार्क अपार्टमेन्टमा ६ महिनाको लागि भिजिट भिषामा पुगेको थियो विभोर । त्यहाँ छोरी कुसुम, जवाइँ मुकेश र नातिनी ऐश्वर्याको साथमा बसेको थियो । छोरी कुसुम डिभी परेर अमेरिका पुगेकी थिइन् । मुकेशले वालमार्टमा काम गर्थे । नातिनी ऐश्वर्या अमेरिकामानै जन्मेकी थिइन् । उनी ग्रेड फाइबमा अध्ययन गर्थिन् । गेन्स्भीलमा बस्ने नेपालीहरुले आफ्ना नानी बाबुलाई नेपालको बारेमा थोरै भएपनि जानकारी गराउने उद्धेश्यले नेपाली पाठाशाला खेलेका थिए । महिनामा दुईपटक आइतबारको दिनमा अभिभावकहरुले नानी बाबुहरुलाई पाठशालामा लिएर जान्थे । महिना महिनामा रकम उठाएर संचालन हुन्थ्यो त्यो पाठशाला । पाठशाला एकै स्थानमा हुँदैनथ्यो । पायक पर्ने र खाली स्थान खोजेर पाठाशाला संचालन गर्नु पथ्र्यो । पछिल्लो समय फ्लोरिडा विश्वविद्यालयको हाता भित्र पाठशाला संचालन भएको थियो ।
त्यहाँ पढ्न जाने नानी बाबुहरुलाई राष्ट्रिय गान र नेपालको बारेमा जानकारी गराउँदै कखरा सिकाइन्थ्यो । अमेरिकामा जन्मेका वा आमा बुबासँग काखमा अमेरिका पुगेका नानी बाबुहरुलाई पायक पर्ने आमा बुबाले आइतबारको दिनमा त्यो पाठशालामा लिएर जान्थे । नेपाली संस्कृति, संस्कार, रितिरिवाज र चाडपर्वहरुको सामान्य जानकारी गराउने र एक आपसमा बच्चाहरुको परिचय होस् भन्ने उद्धेश्य पनि थियो पाठशालाको । छोरा बुहारी वा छोरी ज्वाइँलाई भेट्न अमेरिका पुगेका नेपाली अभिभावकहरुसँग पनि त्यहाँ सामान्य परिचय हुन्थ्यो । दिनको दुई बज्दै थियो । नेपाली पाठशालामासँगै पढ्ने साथी शिल्पाको बर्थडे पार्टीमा जाने कुरा सुनेपछि नातिनी ऐश्वर्या त्यसै त्यसै फ्रुर्र फ्रुर्र गर्दै तयारी भई रमाइरहेकी थिइन् । छोरी कुसुमले चलाएको गाडीमा बसेर विभोर र नातिनी ऐश्वर्या गेन्स्भीलको डिपोटपार्क नजिकै रहेको शिल्पाहरु बस्ने “ सनबे अपार्टमेन्टमा ” समयमानै पुगेका थिए । त्यहाँ बर्थडेको तयारी भइरहेको थियो । नेपाली पाठशालामा अध्ययन गर्ने साना नानी बाबुहरु पनि धेरै पुगेका थिए, त्यहाँ । सनबे अपार्टमेन्टको अफिसको ठिक सामुन्ने पौडी पोखरी थियो ।
त्यो पौडी पोखरीमा अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले पौडी खेल्थे । तर त्यो दिनमा त्यहाँ अभिभावकहरुसँग बर्थडे पार्टीमा पुगेका साना नानी बाबुहरु पौडी खेलीरहेका थिए । बर्थडे मनाउने स्थान पोखरी भन्दा थोरै पछाडि थियो । नातिनी ऐश्वर्या साथी शिल्पालाई भेट्ने बित्तिकै शिल्पासँगै गएर बसिन् । त्यहाँ नेपालबाट पुगेका धेरै अभिभावकहरु पनि आ आफ्ना छोरा बुहारी र छोरी ज्वाइँको साथमा पुगेका थिए । केक काट्दा सबैजनाले हेप्पी बर्थडे शिल्पा भनीँरहे । साना नानी बाबुहरुले रमाइलो मानेर केक खाए । खाना खाएर सबै विदा मागेर हिँड्दै थिए । विभोरको छोरी कुसुमले आफ्नो साथी दिपशिखासँग मेरो बुबा भनेर परिचय गराइन् । दिपशिखाले आफ्नी आमा दिया र छोरी शिल्पासँग परिचय गराइन् । त्यहाँ नमस्कार आदान प्रदान भयो । छोरीहरु एकछिन एक्लै आफ्नै तरिकाले कुरा गर्न थाले । नातिनीहरु भने रमाइ रमाइ गिफ्ट खोलेर हेर्न व्यस्त थिए । विभोरले दिपशिखाको आमासँगै उभ्भिएर कुरा ग¥यो । दियाको नाकमा रहेको कोठीले गर्दा कता कता परिचित जस्तो चिने जस्तो पनि लाग्न थाल्यो विभोरलाई ।
“ तपाईको नाम ”?
“ मेरो नाम विभोर ”
“ अमेरिका कसरी आउनु भयो ”?
“कुसुम मेरी छोरी हुन्, भिजिट भिषामा घुम्न आएको हुँ ”
“ श्रीमती आउनु भएन अमेरिका ?”
“ उनी नभएको दश वर्ष पुग्यो ”
“ मलाई चिन्नु भयो र ”?
“ तपाईलाई कतै देखे देखे जस्तो लाग्यो एकिन भएन ”
“ चालिस वर्ष अगाडि स्याङ्जाको गलेङबजारबाट बसको एउटै सिटमा बसेर पोखरा पुगेको याद छ तपाईलाई” ?
“ त्यो यात्रा सम्झीरहेको हुन्छु, मैले, तर लामो समय भयो”
दियाले विभोरलाई केही भन्न खोजेजस्तो गर्दै थिइन् । तर घाटीमा केही अड्के जस्तो भयो । उनले मौनता साँधेर विभोरलाई हेरी रहिन् । अचानक खेल्दै गरेकी दियाकी नातिनी शिल्पा आएर “ आमा यो अंकल तपाइको साथी हो ”? भनेर सोधिन् । तर दिया केही बोल्न सकिनन् । मुन्टो हल्लाइन् मात्र । झण्डै चालिस वर्षपछि अकास्मत भेट भयो, विभोर र दियाको, त्यो पनि अमेरिकामा । उनीहरुले एकआपासमा टेलीफोन नम्बर साटासाट गर्दै नमस्कार गरेर छोरी कुसुम, नातिनी ऐश्वर्याको साथमा विभोर त्यहाँबाट अपार्टमेन्ट तर्फ प्रस्थान ग¥यो । दियालाई भेटेपछि विभोरको मनमा झण्डै चालीस वर्ष अगाडिको एउटा पुरानो खाटा बसेको सम्झनाले हलचल मच्चायो । काली गण्डकीमा यो अवधीमा कति पानी बग्यो ? नाप्ने कसरी ? हो त्यस्तै सम्झनका मधुरा यादहरु कसरी सम्झनु, कसरी नाप्नु ? कतैकतै कहिलेकाहीँ झुलक्क स्मरणमा खिल बनेर झुल्किन्थे । लामो समय सम्झना बनेर पछ्रयाइरहे ति यादले । ति यादहरुले सारै चिमठे, फेरि बिस्तारै बिस्तारै अस्ताउन लागेको घाम झै मधुरा बनेर अस्ताए । तर यदाकदा ति यादहरु बल्झन्थे, चसक्क दुख्थे पनि, घाम झुल्केजस्तै झुल्कन्थे फेरि घामधmै अस्ताउँथे । पाल्पाको असेर्दीबाट हिडेर ऊ काली गण्डकीमा रहेको झोलुङ्गे पुल तरेर उकालो चढेर गलेङ भञ्ज्याङ पुग्छ । पोखरा पुगेर रात्रीबसमा त्यही दिनमा काठमाण्डौँ जानु थियो उसलाई । गलेङ बजारमा पुगेपछि रोकिएको बसमा चढ्यो । बस प्याक थियो । अगाडि बि साइडमा एउटा सिट खाली देख्यो । बच्चासँगै बसेकी युवतीलाई सिट खाली हो र? भनेर सोध्न पुग्छ । युवतीबाट सिट खाली भएको जानकारी पाएपछि ऊ सिटमा बस्छ । केही समय मौनता साधेर हराउछ ऊ ।
वुटवल पोखरा चल्ने लोकल बस पटकपटक रोक्दै यात्रु झार्दै, चढाउँदे गरीरहेको छ खलासीले । बस पुरानो थियो । भ्mयाल थर थर कापीरहेको थियो । यात्रुहरु भरीभराउँनै थिए बसमा । बसभित्र नमिठो दुर्गन्ध फैलिएको थियो । सबैलाई गन्तव्यमा पुग्न हतारो थियो । एउटै सिटमा बसेकी युवतीसँग बोल्ने बहाना खोजीरहेको छ उसले । तर बोल्ने कसरी ? जुक्ति निकाल्यो । “ छोरी कति राम्री पाउनु भएको हो ” ? युवतीले जिब्रो टोकिन् । आँखा तरेर “ मेरो छोरी कहाँ हो त ? यो दिदीको छोरी हो । पोखरा पु¥याउन हिँडेकी हुँ म । मेरो विवाह भएको छैन ” अलि झर्केर फेरि आँखा तरिन् युवतीले । विभोरलाई लाज लाग्यो, नसोध्नु पर्ने रहेछ जस्तो लाग्यो । उनको शारिरिक बनावट हेर्दा उनैको छोरी जस्तो लागेको थियो उसलाई । गाडी आफ्नै रफ्तारमा अगाडि बढीरहेको छ । गाडीमा झर्ने झरीरहेका छन् । चढ्ने चढीरहेका छन् ठाउँठाउँमा बस रोकिन्छ, कतै झर्ने छन् ,कतै चढ्ने छन् । खलासीलाई फुर्सद छैन । कसैको सामान छतमा राख्नुछ । कसैको सामान छतबाट झार्नु छ । बस घुम्ती, कुइनेटोमा कोल्टो पर्दै, ढल्किँदै थर थर गर्दै अगाडि कुदेको कुदे्यैँ छ । खलासीलाई भ्याइ नभ्याइ छ । ठाउँठाउँमा रोकेर घरी यात्रु चढाउनु ,घरी यात्रु झराल्नु छ । “ लौन उल्टी आयो पलास्टिक छैन ”? यात्रुहरु आत्तिएका छन् । कसैकसैले मुखमा उल्टी लिएका छन् । त्यो देखेर अरुलाई पनि घाटीबाट हुक्क हुक्क हुन थालेको छ । बसमा नहिँडे अर्को उपाय थिएन । हिँडे त्यो रुट घुमाउरो छ उल्टी भइहाल्छ । बसको नमिठो गन्धले पनि उल्टी गराउन सहजकर्ताको भूमिका निभाएको छ ।
त्यतिबेलासम्म सिटमा बस्न सहज भएको थियो । “ तपाईको नाम ”? युवतीलाई सोध्न पुग्छ ऊ । “ मेरो नाम दिया हो ” आह ! कति राम्रो नाम ।उसले प्रशंसा गर्छ । “ अनि हजुरको नाम ” ? । “ विभोर ” । “ तपाइको नाम पनि राम्रो रहेछ ” त्यति भनेर मसक्क मस्किइन् दिया । दियाले सानो पलास्टीकबाट केही खानेकुरा झिकेर सानी नानीको हातमा राखीदिइन । फेरि पलास्टीकमा हात घुसारेर खानेकुरा झिकिन् अनि विभोरलाई दिन थालिन् । विभोरलाई खाउँ ? कि नखाउ? भयो । “ मायाले दिएको खानेकुरा इन्कार गर्नु हुदैन ” दियाले त्यसो भन्दा पनि विभोरलाई फेरि पनि खाउँ ? कि नखाउँ ? जस्तो भएपनि उसले दुबै हात थाप्यो । तीनैजनाले खानेकुरा खाए । दुबैजनाको अकास्मत भेट भएको थियो, बसमा पहिलो पटक । उमेर समुह पनि एउटै थियो । दुबैजना बसका यात्रु थिए । दुबैको विवाह भएको थिएन । मन चञ्चल, हेराई झन हेरीरहुँ जस्तै गरेर चञ्चल भएको थियो उसलाई । दियाको अनुहार गहिरोसँग घरी घरी लुकेर हेर्न पुग्छ बिभोर । “ छ्या ! के हेर्नु भएको त्यसरी ” ? खुसुक्क बोल्दा दियाको अनुहार रातो भयो । गोलो अनुहार, नाकको टुप्पोमा कोठी । त्यो हुलिया कहिल्यै परिवर्तन नहुनेखालको शरीर खाईलाग्दो थियो । पोखराको लोक सेवा आयोगमा जागिरे दिदी मन्जु र भिनाजु अनिलसँगसँगै बसेर लोकसेवाको तयारी गर्न र माइतीघरमा रहेकी दिदीको छोरी पोखरा पु¥याउन हिँडेकी थिइन् दिया ।
विभोर मनभरी अनेकथरी कल्पना गर्छ । “ यहीँ केटीलाई विवाह गर्न पाए पनि हुन्थ्यो ”? तर कहाँबाट कसरी कुरा गर्नु दियासँग । के भनेर कुरा गर्नु ? के भनेर प्रसङ्ग निकाल्नु ? दुबै अल्लारे, बसको छोटो यात्रामा भेट भएका यात्री । यसरीनै यात्राभरी विभोरको मनभित्र द्वन्द चलिरह्यो । “ आजको यात्रा लामो होस् ” जस्तो लाग्थ्यो उसलाई । तर निर्धारित समयमा यात्रा टुङ्गिने निश्चत थियो । ठेगाना थाहा थिएन, सोध्ने आँट पनि भएन । ठेगाना टिप्न न कापीको पाना, न कलमनै थियो ? त्यो समयमा खाली नाम भने थाहा थियो, दिया । जो कहिल्यै भुन्न सकिदैनथ्यो । गलेङ बजार, वालिङ, छाङ्छाङदी, पुतलीबजार, भालुपहाड, फेदीखोला बिरौटा हुँदै पोखरा बसपार्क पुगे उनीहरु । नजिकैको एउटा रेष्टुरेन्टमा पसेर चिया पिए । विभोर काठमाण्डौँ जानु थियो उसैदिनमा । उसले काउन्टरबाट रात्री बसको टिकट काटेर ल्यायो । त्यतिबेलासम्म दिया पनि विभोरसँग धेरै नजिक भइसकेकी थिइन् । दिया र विभोरको छुट्टिने समय नजिक नजिक आइरहेको थियो । छुट्टिन नपरे पनि हुन्थ्यो, भन्ने मनोभाव दुबैमा विकशित भएको हुँदो हो? तर छुट्टिनै पर्ने थियो परिस्थिति पनि । उनीहरुलाई त्यो अन्तिम समय नरमाइलो लाग्यो । दुवैजनाले कुनै शव्द उच्चारण नगरी माया लाग्दो तरिकाले एकोहोरो एक अर्कोलाई केही समयसम्म निर्निमेष हेरीरहे । त्यहाँ एक प्रकारको सन्नटा छायो । मायालु पाराले छुट्टिने बेलाको माया अतिनै गाढा भयो । सानी नानी केही खानेकुरा खादैँ एउटा कुनामा खेलीरहेको थिइन् । त्यही मौका छोपेर उनीहरुले आँखै आँखाले आँखाको भाषा बोले । आँखाकै इशारा इशारामै दुबैजनाले मौन वार्ता गरे । उमेर र एक अर्कोप्रतिको आर्कषणले गर्दा भविष्यामा आई पर्ने चुनौतीको ख्यालै नगरी उनीहरु एउटा कुनामा पुगेर अचानक एक अर्काको अँगालोमा बेरीए ।
त्यो पूर्व निर्धारित योजना बिनै भविष्यमा आइलाग्ने जटिल परिस्थितिको आकलन नगरी घटेको एउटा अप्रत्यासित घटना थियो । आफैले आफैलाई समालेर छुट्टिनै नसकिने अवस्थालाई बुभ्mदा बुभ्mदै दिया र सानी नानीलाई विभोरले टेक्सीमा बसाल्यो । पृथ्वीचोकबाट दिदीको डेरा तर्फ प्रस्थान गर्दै गर्दा दियाले त्यहीँ नजिकै उभ्भिरहेको विभोरलाई निर्निमेष एकोहोरो भ्mयालबाट हेरीरहेकी थिइन् । बिदाईको नमिठो हात हल्लाएर एकैछिनमा टेक्सी पृथ्वीचोकबाट दक्षिण एयरपोर्ट तर्फ माडियो । नरमाइलो मान्दै विभोर काठमाण्डौँ जाने बसमा चढेर आफ्नो सिटमा थपक्क आँखा चिम्म गरेर बस्यो । ऊ हराउन थाल्यो, गलेङ बजारदेखि पोखरासम्मको एउटा छोटो तर बिर्सनै नसकिने यात्राको सम्झनामा । दियाको मधुरो बोली कानमा आएर ठोकिन्थ्यो । मिठो हाँसो, सेता दात,गोलो अनुहार, उज्यालो मोहडा त्यसमाथि नाकको टुप्पोमा भएको कोठीले दियाको अनुहार धपक्क बलेको थियो । बसमा निद्रा लाग्ने कुरै भएन । उसले पलकभर आँखा झिमिक्क पनि गरेन । विभोर काठमाण्डौ पुग्यो । धेरै दिनसम्म पनि विभोर शून्यतामा हरायो । उसको मन अस्थिर बन्यो । काममा जागर लाग्न छोड्यो । बेचैनीले सिमा नाघ्यो । आपूm जल्नु र आफैलाई जलाउनु बाहेक विभोरसँग अरु उपाय थिएन । भो नसम्झु भनेपनि सम्झनाले लखेट िलखेटी सताइरह्यो । यादहरु धेरै दिनसम्म बल्झिरहे । टोलाएर कति दिनसम्म आफैलाई सजाय दिनु ? कति दिन छट्पटिनु ? बिस्तारै दुःखेको घाउँमा खाटा बस्दै गए ।सम्झनाहरु घरी घरी याद बनेर बल्झीरहेपनि समयको लामो अन्तरालमा बिस्तारै बिस्तारै धुमिल भएर अतीततर्फ मोडिए । आफै जल्नु र आफैलाई जलाउनु नियतिको खेल बन्यो । बिस्तारै जल्दै सकिँदै, जल्दै सकिँदै गर्दा लामो समय खेर गयो । न ठेगाना छ ? न चिठी लेखेर मनलाई शान्त पार्ने उपाय छ ? पोखरामा दियाले दियो जलाएर छोडेपछि लामो समयसम्म दियाको उज्यालोले जलाई जलाई खरानी बनाएर भुल्न नसकिने अवस्थामा पु¥याएर छोड्यो विभोरलाई ।
“ हिजो आज के भएको छ दिया तँलाई ”?
“ केही भएको छैन दिदी ”
“ किन तेरो चालढाल ठिक छैन ”?
“ मलाई अव कत्ति पनि बाँच्न मन छैन दिदी ”
“ के रे ! के रे ! के भन्छे यो ? तँ बौलाइँस् ” ?
“ हो दिदी, न म अव बाँच्न सक्छु ? न म अव मर्न सक्छु ” ?
“ किन ? के भो ? कोही कोटो छ तेरो ”?
“ छ भनुँ कि छैन भनुँ ” ?
“ को केटा हो त्यो? चिनेकी छस् ”?
“ मलाई अरु सबै कुरा थाहा छैन, नाम भने विभोर हो ”
“के काम गर्छ त्यसले ”?
“जागिर खान्छु भन्थ्यो ”
“कहाँ जागिर खान्छ ” ?
“त्यही दिनमा काठमाण्डौं गएको हो, अरु कुरा थाहा छैन ।”
“कहाँबाट चिनेकी होस् त्यसलाई ”े?
“छोरी लिएर आउँदा गलेङबजारबाट बसको एउटै सिटमासँगै बसेर पोखरा आउँदा चिनजान भएको हो ”
“ के थरको केटा हो”?
“नाम मात्र थाहा छ । थर थाहा छैन ”
“ यति धेरै सोझी भएर कसरी जिन्दगी गुजार्छेस ? अव तँ बाच्न प्रदैन, तँ मरे हुन्छ दिया ” ?
पोखरा पुगेको एक महिनामा दियाको महिनावारी रोक्कियो । त्यो घटनाले दियाको होस्हवास उड्यो । दिया छाँगोबाट खसे जस्तो भइन् । अव पोखरामा दिदी र भिनाजु बाहेक अरु कोही थिएन । दिदीलाई कुरा नलुकाई भन्नु बाहेक अर्को बिकल्प पनि थिएन । यस्तो अन्जानमा भएको अनैतिक कुरा दिदीलाई कसरी भन्नु ? दियाको मनमा केटो बेइमान हो जस्तो पनि लाग्दैनथ्यो । तर दियाको जिन्दगीमा भने भयंकर ठुलो शङ्कट उत्पन्न हुँदै थियो, त्यो घटनाले । धेरै दिनसम्म खाना नखाई छट्पटाएर झोक्राउन थालिन् दिया । रातभरी निद्रा नलागेर अनिदोमा रात बित्न थाल्यो । घरी घरी मर्न पाए पनि हुन्थ्यो भन्ने हिन भावले सताउन थाल्यो दियालाई । बहिनी दियाको शङ्कास्पद दिनचर्याले मन्जुलाई पनि झन शशङ्कित बनाउँदै लग्यो । मन्जुका श्रीमान् अनिल अफिसको कामले काठमाण्डौँ गएका थिए । त्यही मौका छोपेर मन्जुले बहिनीलाई आफ्नो कोठामा बोलाएर राती गोप्यरुपमा केरकार गर्न थालिन् । दियाले धेरै बेरसम्म नबोलेरै रोएर कुरा लुकाइन् । दिदीले माया गरेर सोधेपछि दिदी मन्जुलाई अँगालो हालेर धरधरी रोइन् दिया । तर आफ्नी दिदीसँग यथार्थ कुरा खोलेर ढिलो चाँडो मनको वह पोख्नै पर्ने थियो ।
दियाले छोरी लिएर पोखरासम्म आउदाको दिनको सबै घटना दिदीलाई सुनाइन् । नचिनेको केटासँग क्षेणिक माया बसेर अन्जानबस गरेको ठुलो गल्ती पनि सुनाइन् । त्यो कुरा सुनेपछि दिदी बहिनी अँगालो हालेर धेरैबेरसम्म बेस्सरी रोएँ । घटना मामुली र सानो थिएन् । बहिनीलाई जसरी पनि अनाहकमा मर्न दिनु पनि हुँदैनथ्यो । नचिनेको केटासँगको अनैतिक सम्बन्धले भविष्यमा निम्तिने परिणाम के हुन्छ ? भन्ने हेक्कासम्म बहिनीले राख्न नसक्दा अन्जानमा गरेको गल्तीले उसको जिल्दगी चौपट हुँदै थियो । श्रीमान अनिल पोखरा घरमा पुगेपछि दिदी मन्जुले लोग्नेलाई सबैकुरा अवगत गराइन् । अनिल पनि त्यो कुरा सुनेर झस्के । आफ्नै घरमा बसेको सालीको यस्तो अप्रत्यासित घटनाले अनिल पनि मर्माहत भए । दुबै लोग्ने स्वास्नीले सल्लाह गरेर दियालाई बचाउँने सजिलो जुक्ति खोज्न थाले । दुबै लोग्ने स्वास्नीले केटो खोजेर दियाको विवाह गर्नुपर्ने निर्णयमा पुगे । पोखराको मालेपाटनमा घर भई उपल्लो मनाङमा प्रा.वि.स्तरमा पढाउने नन्दरामको पहिलो श्रीमतीबाट लामो समयसम्म बच्चा नभएपछि उनी अनेत्र पोइल गएको थाहा पाएपछि नन्दरामलाई भेटेर सल्लाह गर्दा दियालाई विवाह गर्न नन्दराम राजी भएपछि तालबारही मन्दिरबाट दिया र नन्दरामको विवाह सम्पन्न भयो ।
विवाह भएको आठ महिनामा दियाले घरमा छोरीलाई जन्म दिइन् । परिवारमा खुसियाली छायो । न्वारनको दिनमा पण्डितले छोरीको नाम दिपशिखा राखिदिए । छोरी हुर्कदै गईन् । छोरी जन्मेको आठ वर्षसम्म पनि दिया र नन्दरामको अर्को सन्तान भएनन् । दियाले पोखराको एउटा सरकारी विद्यालयमा पढाउँथिन् । दियाका श्रीमान नन्दराम मनाङको बिकट उपल्लो मनाङ गाउँमा पढाउथे । नन्दराम पोखराबाट मनाङ जानेक्रममा लमजुङ बेशीशहरबाट हिँडेर मनाङको सदरमुकाम चामेमा राती होटेलमा बास बसे । भोलिपल्ट बिहान पनि मदिरा खाएर स्कुल जान हिडेको दियाको श्रीमान नन्दराम अत्याधिक मदिरा खाएर हिँड्दाहिँडदै चिप्लिएर मस्र्याङदी नदीमा खसे । नदीले बगाएर लगेको उनको लास मनाङको ताल भन्नेस्थानमा फेला प¥यो । फेरि यहाँपनि जिन्दगीले धोका दियो दियालाई ।
जिन्दगीले जता जता डो¥याउँछ, उतै उतै पछि लाग्नु बाहेक दियाको जिन्दगीमा अरु उपाए थिएन । एउटी छोरीको मायाले मर्न पनि दिएन, खुसीसाथ बाँच्न पनि दिएन जिन्दगीले । तरपनि छोरीलाई राम्रोसँग पढाइन् । छोरी पनि पढाइमा अब्बल थिइन् । दिपशिखा ब्याचलर सकेर जागिरको खोजिमा बसेकी थिइन् । अमेरिकाको डिभी खुल्यो । डिभी भरिन् । नाम निस्क्यो । सेकेण्ड लेटर पनि आयो । छोरी दिपशिखा अमेरिका पुगिन् । अमेरिकामा पुगेर काम गर्न थालिन् । सुरुसुरुमा गाह्रो पनि भयो । अमेरिकामै डिभी परेर गएको केटासँग विवाह गरीन् छोरीले। दिया पनि दुई तीनपटक भिजिट भिषामा पुगिन् अमेरिका । छोरीले दियाको ग्रिनकार्ड फायल गरेर अगाडि बढाइन् । ग्रिनकार्ड पाएपछि कहिलेकाहीँ नेपाल आएपनि धेरै जसो अमेरिकामै बस्छिन् दिया । अमेरिकाको छोटो बसाई थियो विभोरको । नेपालमा एउटी छोरी थिइन् । श्रीमतीले सदाको लागि छोडेर गएको पनि धेरै भएको थियो । बेलाबेलामा छोरीहरुसँग गएर मन बहलाउँथ्यो विभोरले । एकदिन मर्निङवाक गर्दा दियाको फोन आयो । हुनत ः यस अगाडि पनि फोनमा पटकपटक कुरा हुन्थ्यो ।
“ हजुरलाई एउटा कुरा सुनाउन मन छ ” दियाले भनिन् ।
“ के कुरा हो ? भन्नु न ”?
“ रिसाउन पाउनु हुन्न ? पहिला कसम खानु ? ”
“ किन रिसाउनु ? ”
“ मेरी छोरी दिपशिखा हजुरको छोरी हो नी । सम्झनु त पोखरा बसपार्कमा अचानक हजुर र मेरोबिच घटेको एउटा अप्रत्यासित घटना । छोरी पेटमा बसेपछि दिदी भिनाजुले मेरो डर मान्नु भयो । कन्या केटी विवाह भएको थिएन । दिदीको घरमा बस्न पुगेकी बहिनी कतै गएर आत्महत्या गरेर मर्ली ?भन्ने ठुलो डर भयो, दिदी भिनाजुलाई । हतारहतार केटो खोजेर मेरो विवहा गरीदिनु भयो । तर आठ वर्षसम्म पनि मेरो अर्को सन्तान भएनन् ”।
विभोर झस्क्यो, रिंगटा लाग्न थाल्यो । मर्निङवाकमै ओठ मुख सुके । अपार्टमेन्ट भन्दा पछाडिको पार्कमा हिँडिरहेको समयमा भएको दियासँगको फोन संवादले आपूmले गल्ती गरेको कुरा झल्यास्स सम्भ्mयो । माया गरेको मान्छे दियालाई घर न घाटको बनाउने सोच पनि थिएन विभोरको पनि । तर अल्लारे उमेरमा त्यसप्रकारको अप्रत्यासित घटना घट्यो । त्यो घटनाले दियाको जिन्दगीमा भने ठुलो प्रभाव पर्यो । विभोर र दिया दुबैको ठुलो गल्ती थियो त्यो । दियाले दुःख पाइन । घटना सम्झेर विभोर लज्जित भयो । विभोरको नातिनी ऐश्वर्याको बर्थडे थियो । द पार्क अपार्टमेन्टमा नजिकका बीसजना जति पाहुना बोलाइएको थियो । दियाको घरबाट सपरिवार आएका थिए । नातिनी ऐश्वर्यालाई बिचमा राखेर टिका लगाई गिफ्ट दिने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । केक काटेर सबैले एकै स्वरमा हेप्पी बर्थडे ऐश्वर्या भनीरहे । नातिनी खुसी भइन् । कुसुम र दिपशिखा मुखामुख गर्दै थिए । दुबैजनाले सबै पाहुनाहरुलाई यथास्थानमा बस्न अनुरोध गरे । उपस्थित पाहुनाहरुले पनि मुखामुख गर्न थाले ।
एक्कासी किस्तीमा दुईवटा माला र अबिर आयो । छोरी कुसुमले आफ्नो बुबा विभोरलाई एउटा माला लगाइदिइन् । दिपशिखाले आफ्नी आमा दियालाई एउटा माला लगाइदिएन् । उपस्थित भएका सबैजना पाहुनाले ताली बजाए । विभोर र दिया अलमलमा परे । “ तपाईको घाटीमा भएको माला खोलेर दिया अन्टीको घाटीमा लगाइदिनुहोस् र निधारमा अविरको टिका लगाई दिनुहोस् बुबा ” कुसुमले भनिन् । “ तपाइको घाटीको माला निकालेर विभोर अंकलको घाटीमा लगाईदिनुहोस् आमा ” दिपशिखाले आमालाई भनिन् । विभोर र दिया दुबैजनाले छोरीहरुको आदेश माने । छोरीहरुले एकआपसमा अंकमाल गरेर खुसी साटासाट गरे । त्यहाँ भएका सबैजना पाहुनाहरुले एकैपटक ताली बजाएर मुखामुख र कानेखुसी गरे । दिया र विभोर लाजले भुुतुक्क हुँदै एकअर्कोलाई निर्निमेष हेरीरहे ।









प्रतिक्रिया दिनुहोस्