धनगढी ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।कैलालीको धनगढीमा रहेको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशमा एक महिला र एक खुला गरी दुई जना राष्ट्रियसभा सदस्य चयनका लागि निर्वाचन हुने जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला न्यायाधीश भुवनसिंह थापालाई यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबीविरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
उक्त निर्वाचनका लागि निर्वाचन आयोगले यसअघि नै प्रदेशगत मतभार पनि सार्वजनिक गरिसकेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा छ हजार एक सय ५३ मतभार छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ ।
दलहरू छुट्टाछुट्टै रूपमा निर्वाचनमा सहभागी भए सुदूरपश्चिम प्रदेशमा काँग्रेस एक्लै बलियो देखिएको छ । १८ जना प्रदेशसभा सदस्य रहेको काँग्रेससँग स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख ८६ जना छन् । जसअनुसार प्रदेशको कूल ६ हजार १५३ मतभार रहेकोमा काँग्रेसको मात्रै मतभार दुई हजार ५८८ छ । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी छ । उसको मतभार एक हजार ८६९ छ । एमालेको एक हजार पाँच सय ३३ मतभार रहेको छ ।









प्रतिक्रिया दिनुहोस्