कोहलपुर (बाँके) ।
नेपाली कम्युनिष्ट पार्टी बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा बाँकेले बाँकेका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कूल २३ जनाको नाम सिफारिस गरेको हो । २३ जनाको सूचिमा पूर्वमन्त्री, पूर्वविद्यार्थी नेता, व्यवसायी, युवा र एकजना महिलासमेत छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट पूर्वयुवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) एक नम्बरमा सिफारिस भएका छन् । उनी क्षेत्र नम्बर १ बाट २०७४ सालमा निर्वाचित भएका थिए । दोस्रो पटक २०७९ सालको चुनावमा अथकले यही क्षेत्रबाट चुनाव हारेका थिए ।प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन इच्छुक देखिएपछि उनी यही निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् ।
दोस्रो नम्बरमा सिफारिसमा परेका अब्दुल हुसेन खाँ तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक रहेका नरेन्द्र पाण्डे(जेम्स) तेस्रो नम्बरको सिफारिसमा परेका छन् । यस्तै तुलाराज विष्ट, नारायणप्रसाद लम्साल, पूजन विश्वकर्मा र अवराज खड्काको समेत नाम सिफारिस गरिएको छ । विश्वकर्मा पूर्वमाओवादी नेता हुन् । बीचमा उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । भर्खरै एमाले त्यागेर नेकपामा प्रवेश गरेका विश्वकर्मालाई सिफारिस गरिएको हो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष भइसकेका खड्का कोहलपुर नगर विकास समितिको अध्यक्ष भइसकेका नेता हुन् । यस्तै बाँके क्षेत्र नम्बर २ बाटसमेत सात जनाको नाम सिफारिस गरिएको छ । दुई नम्बर क्षेत्रबाट पूर्वमाओवादी नेता अकलबहादुर बमको नाम सिफारिस गरिएको छ । बम तत्कालीन नेकपा (माओवादी केन्द्र) बाँकेको अध्यक्ष भइसकेका नेता हुन् । खेलकुद विकास समिति बाँकेको अध्यक्षसमेत भइसकेका बमले नेकपा (माओवादी केन्द्र)बाट क्षेत्र नम्बर २ (२)बाट २०७९ सालको प्रदेशसभा चुनावसमेत लडेका थिए ।
उनी अहिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसको एक नम्बरमा परेका छन् । दुई नम्बर सिफारिसमा परेका दिपेन्द्र विष्ट युवा नेतासमेत हुन् । उक्त क्षेत्रबाट पदम अर्याल, तेजप्रसाद रेग्मी र टंक धामीको नाम सिफारिस गरिएको छ । धामी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष छन् । यसैगरी सकिल अहमद, जसगढ र मो.रियाज राईलाई सिफारिस गरिएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट भने एक महिलासहित ९ जनाको नाम सिफारिस गरिएको छ । त्यहाँबाट लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य इन्द प्रसाद खरेल (आइपी) एक नम्बरमा सिफारिसमा परेका छन् । मो.शेर बागवान, दीपककुमार गौरी मगर, मो.समिन ईद्रीसी, कुवेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तरकुमार गुप्ता र परमानन्द वर्माको नाम सिफारिस गरिएको छ ।
‘तीन वटै निर्वाचन क्षेत्रबाट आकांक्षीको सङ्ख्या धेरै थियो । सिफारिसपूर्व बृहत् छलफल गरेर सहमतीय आधारमा सिफारिस गरिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार समावेशी सूचि पठाइएको छ,’ नेकपा बाँकेका नेता नरेन्द्र पाण्डे (जेम्स)ले भने । उनका अनुसार पार्टीले प्रत्यक्षतर्फ एकजना महिला अनिवार्य भनेको थियो । आंकाक्षी थोरै भएका कारण एक जना मात्रै महिलाको नाम प्रत्यक्षमा सिफारिस गरिएको उनको भनाइ छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सदस्य नरेश शाही, सुकैलाल रैदास, संयोजक नरेन्द्र पाण्डे(जेम्स) र अध्यक्ष दीपक जीएमको हस्ताक्षरसहित पार्टीको आधिकारिक लेटरप्याडमा उम्मेदवारको नामावली पठाइएको हो ।
फागुन २१ गते तोकिएको निर्वाचनका लागि बाँकेबाट नेकपा बाँकेसहित हालसम्म नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस पठाइसकेका छन् । नेकपा एमालेले भने अहिलेसम्म नामावली पठाएको छैन । अब समानुपातिकतर्फ उम्मेदवारहरूको नामावली पठाइने नेकपा बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्