नेपालगन्ज ।
नेपालगन्जमा एकैदिन एउटै मञ्चमा तीनवटा कवितासंग्रह विमोचन गरिएको छ । कवि भरतबहादुर रानाभाटको ‘ढुकढुकीमा देश’, चन्द्रावती अधिकारीको ‘चन्द्राघ्र्य’ र भूपेन्द्र सुवेदीको ‘भूपेन्द्र सुवेदीका कविताहरू’ कवितासंग्रह एउटै कार्यक्रममा विमोचन गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बाँकेको आयोजनामा सम्पन्न कृति विमोचन तथा समालोचना कार्यक्रममा विमोचित कृतिमाथि समीक्षा तथा परिचर्चा पनि गरिएको थियो ।
कृतिहरूमाथि डा. हरि प्रसाद तिमिल्सिना, डा . राजकुमार थारू, डा. पुस्कर रिजालले समीक्षकीय मन्तव्य राखेका थिए । उनीहरूले तिनवटै कवितासंग्रह भावका हिसाबले परिपूर्ण रहेका बताएका थिए । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, बाँकेका अध्यक्ष समेत रहेका कवि भरतबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरे, प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की, लेखक नरेन्द्र जंङ्ग पिटरले तीनवटै कृतिको विमोचन गरे।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरी कोपिला, शिक्षाविद जीत बहादुर शाह, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तु, प्रलेस केन्द्रीय सदस्य मणि अर्याललगायत साहित्यकार र साहित्य अनुरागीहरू गरी ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाट, कृतिकार सुवेदी र अधिकारीले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्