शेरबहादुर ऐर । कैलाली ।
धनगढी बिहान कुहिरोले ढाकिएको छ । सडक सुनसान छन्, तर चिसोले मानिसहरूको जीवन थिचिरहेको छ । सडक छेउमा बालिएको सानो आगो वरिपरि मानिसहरू हात सेक्दै उभिएका छन् । उनीहरूको अनुहारमा केवल चिसोको असर मात्र छैन, सरकारको मौनताले सिर्जना गरेको असुरक्षाको चिन्ता पनि छ । कैलालीमा चिसो दिनप्रतिदिन बढ्दै गएको छ । बालबालिका, वृद्धवृद्धा, मजदुर, मुक्त कमैया र सीमान्तकृत समुदाय सबै प्रभावित बनेका छन् ।
स्थानीय जीवन मात्र होइन, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा क्षेत्रमा पनि चुनौती देखापरेको छ । विगतमा सरकारी पूर्वतयारीले राहत दिएको भए पनि यसवर्ष कुनै योजना कार्यान्वयन भएको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की कलावती भट्ट बिहानै उठ्छिन् । उनका दुई साना बालबालिका छन् । रातभरि बच्चाहरू राम्ररी सुत्न सकेका छैनन् । पुराना सिरक र सीमित न्यानो कपडाले जाडो रोक्न पर्याप्त छैन । उनी बालबालिकालाई विद्यालय पठाउने कि घरमै राख्ने भन्ने द्विविधामा छन् ।
‘चिसो यति बढेको छ कि बालबालिकालाई बाहिर निकाल्न डर लाग्छ । न्यानो कपडा भएका बालबालिका त ठीक छन्, तर हामीजस्ता गरिबका बच्चाहरूलाई त जाडोमै पढ्न जानुपर्छ,’ कलावती भन्छिन् । मुक्तकमैया बस्तीका मजदुरहरू बिहान काममा निस्किनुअघि आगो बाल्ने प्रयास गर्छन्, तर दाउरा र न्यानो कपडाको पर्याप्त व्यवस्था छैन । ‘पहिला जाडो बढेपछि चोक–चोकमा आगो बालिदिन्थ्यो, कहिलेकाहीँ न्यानो कपडाको वितरण हुन्थ्यो । यस वर्ष त कसैले सोधेको पनि छैन,’ मुक्तकमैया बस्तीका ठागुराम चौधरीले भन्छन् ।
जाडोले बुढापाकालाई घरभित्रै सीमित बनाएको छ । उनीहरूको स्वास्थ्यमा समस्या बढेको छ–सास फेर्न गाह्रो, घुँडा दुख्ने, र दैनिक जीवनमा कठिनाइ । बच्चाहरू विद्यालय जान नपाउँदा उनीहरूको सिकाइमा बाधा पुगेको छ । कैलालीमा जाडो बढेसँगै दैनिक जीवनमा असर देखिन्छ। मजदुरहरू बिहान कामका लागि निस्कने बेलामा आगो बाल्ने प्रयास गर्छन्, तर पर्याप्त सामग्री नपाउँदा जीवन कठिन हुन्छ । कृषकहरू खेतमा जानुअघि कुहिरो र चिसोको सामना गर्न बाध्य छन् ।
बालबालिकालाई विद्यालय जान न्यानो कपडा नहुँदा सिकाइमा असर परेको छ । स्थानीय मानिसहरूको अनुभव देखाउँछ कि जाडोले केवल स्वास्थ्यमा असर मात्र होइन, आर्थिक गतिविधि र सामाजिक जीवनमा पनि चुनौती थपेको छ । परिवारहरूले काम गर्न निस्किनुअघि र खाना पकाउँदा तातो झोलिलो खानेकुरा नपाएर कठिनाइ भोगिरहेका छन् । वृद्धवृद्धाले घरभित्रै घाम कुर्दै समय बिताउँछन्, तर सामाजिक भेटघाट र मानिससँगको अन्तक्र्रिया न्यून भएको छ ।
यस क्षेत्रमा दैनिक आम्दानी गर्ने वर्ग, मुक्त कमैया, मजदुर किसान र सीमान्तकृत समुदायका लागि जाडो केवल मौसमको कुरा होइन । यो जीवन निर्वाहसँग प्रत्यक्ष सम्बन्धित छ । जब सरकारको पूर्वतयारी र सहायता पर्याप्त हुँदैन, तब उनीहरूको दैनिकी अझ कठिन हुन्छ । चिसोले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमर भन्छन्, ‘बालबालिका र ज्येष्ठ नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । निमोनिया, विभिन्न भाइरल रोग र सास फेर्न गाह्रो हुने समस्या बढेको छ ।’
स्वास्थ्यकर्मीहरूले घरभन्दा बाहिर अनावश्यक रूपमा ननिस्किन, न्यानो कपडा लगाउन, र तातो झोलिलो खानेकुरा खान सुझाव दिएका छन् । तर जब सरकारको पूर्वतयारी छैन र सार्वजनिक स्वास्थ्य सेवा पर्याप्त छैन, तब स्वास्थ्य जोखिम न्यून गर्न स्थानीय समुदायका लागि चुनौती थपिन्छ । कैलालीमा जाडो बढ्दा पनि सरकारको तयारी नगरेको स्पष्ट देखिन्छ । विगतमा धनगढी उपमहानगरपालिकाले जाडो बढेसँगै चोक–चोकमा आगो बाल्ने र न्यानो कपडा वितरण गर्ने कार्यक्रम संचालन गर्दै आएको थियो ।
तर यस वर्ष अहिलेसम्म कुनै पूर्वतयारी देखिएको छैन । स्थानीयहरूले गुनासो गरेका छन् कि सरकारी मौनता र ढिला प्रतिक्रिया विपन्न वर्गका लागि प्रत्यक्ष मारक बनेको छ । न्यानो कपडा वितरण नभएको, आगो बाल्ने स्थान नबनेको, र स्वास्थ्य सेवा पर्याप्त नहुँदा मुक्तकमैया परिवार, मजदुर, किसान, ज्येष्ठ नागरिक र बालबालिका सबै प्रभावित भएका छन् । सरकारी जिम्मेवारीको कमी केवल तत्काल राहतमा मात्र होइन, दीर्घकालीन योजना र पूर्वतयारीमा पनि देखिन्छ ।
जाडो बढेसँगै स्थानीय सरकारको ढिला तयारी र नीति अभावले समुदायलाई असुरक्षित बनाएको छ । स्थानीयहरूले तत्काल राहत मात्र चाहिरहेका छैनन् । उनीहरूले चाहेका छन–पूर्वतयारी, जिम्मेवारी, र सहानुभूतिपूर्ण योजना । सरकारी योजना र जिम्मेवारी स्पष्ट नभए सम्म, बालबालिका, वृद्धवृद्धा र मजदुर वर्ग जाडोको प्रत्यक्ष मार सहिरहने छन् । कैलालीको बिहान बिस्तारै घाम देखिन थाल्छ ।
सडकमा हल्का उज्यालो पर्न थाल्छ । तर कलावतीका आँखामा चिन्ता उस्तै छ । उनले फेरि बच्चाहरूको अनुहार हेर्छिन् । विद्यालय पठाउने कि घरमै राख्ने निर्णय अझै कठिन छ । जाडोले कठ्याङ्ग्रिएको कैलालीमा उनीजस्ता सयौँ आमाहरू यही प्रश्नसँग हरेक बिहान जुधिरहेका छन्।









प्रतिक्रिया दिनुहोस्