प्रशासन र स्थानीय सरकारको संरक्षणमा कोहलपुर उद्योग बाणिज्य संघले मुख्य राजमार्गसँगै जोडिएका दुई मुख्य सडक कब्जा गरेर महोत्सव सञ्चालन गर्न लागेको हो । व्यवसायिक प्रयोजनका लागि स्थानीय सरकार र प्रशासनकै सहयोगमा मुख्य सडक कब्जा हुँदा नागरिकलाई पैदल आवतजावत तथा सवारी आवागमन पूर्णरूपमा ठप्प भएका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
पुस ९ देखि सञ्चालन हुन गइरहेको कोहलपुर महोत्सवका लागि कोहलपुरका दुई मुख्य सडक नै बन्द गरिएको छ । महोत्सव सञ्चालन नहुँदै दैनिक हजारौँ नागरिक र सवारी आवागमन हुने कोहलपुरका दुई मुख्य सडक बन्द गरिएको हो । आयोजक कोहलपुर उद्योग वाणिज्य संघले महोत्सव सुरु हुनु चारदिन अगावै महोत्सवस्थल न्युरोडस्थित मैदानको दायाँबायाँतर्फका सडक बन्द गरिदिएको छ ।
संघले हरियाली मार्ग र न्युरोडतर्फका दुवै सडकमा महोत्सव प्रयोजनका लागि संरचना निर्माण गरिरहेको छ । हरियाली मार्ग क्षेत्रमा महोत्सवस्थल प्रवेशका लागि मुख्य संरचना निर्माण गरिएको छ । आयोजकले बन्द गरेको हरियाली मार्गतर्फको सडक भएर नागरिकहरूले आधा दर्जन बढी सरकारी कार्यालयको सेवा लिँदैै आएका छन् । महोत्सवस्थलको पूर्वतर्फ राजस्व अनुसन्धान कार्यालय र इलाका हुलाक कार्यालय रहेका छन् । त्यहीँ सडकमा कोहलपुर नगर विकास समितिको कार्यालय रहेको छ ।
यसैगरी नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र जस्ता महत्वपूर्ण सेवा प्रवाह गर्ने इलाका प्रशासन कार्यालय कोहलपुरसमेत रहेको छ ।कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयको सेवासमेत नागरिकले त्यही सडक भएर प्रयोग गर्दै आएका छन् । आयोजकले महोत्सवस्थलभित्र प्रवेशका लागि मुख्य सडक नै बन्द हुनेगरी मुख्य गेट निर्माण गरिएको हो । त्यहाँ अहिलेदेखि ‘निर्माण कार्य हुँदैछ बाटो बन्द छ’ लेखिएका पम्पलेट राखिएको छ ।
कोहलपुरसहित बैजनाथ र राप्तीसोनारीका समेत नागरिकहरूले दैनिक सेवा लिने कार्यालयमा आवागमन नै असहज हुनेगरी सडक बन्द गरिएको भन्दै आलोचनासमेत भएको छ । उक्त सडक क्षेत्र नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत हरियालीमार्ग हुँदै पुरानो बसपार्क भएर दशविगाहासम्म पुग्ने मूल बाटो हो । न्युरोडतर्फको सडकसमेत कोहलपुरको मुख्य सडकमध्येको एक हो । न्युरोडतर्फको एकतर्फको सडक व्यापारिक प्रयोजनको लागि जस्ताको पाताले बेरेर पर्खाल बनाइएको छ ।
त्यतातर्फको करिब २ सय मिटर बाटो पूर्णरूपमा बन्द गरिएको छ । कम्तीमा पनि महोत्सव अवधिभर पुस २० गतेसम्म उक्त बाटोको दुवैतर्फ आवागमन गर्न मिल्ने छैन । महोत्सवका लागि संरचना निर्माण गरिँदा दैनिक हजारौँ नागरिक र सवारी आवागमनमा नै रोकिएको छ । त्यतिमात्रै होइन एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी आवागमन बन्द गरिएको छ ।
महोत्सव सञ्चालन पूर्व मुख्य सडक नै बन्द गरिएको विषयमा जिज्ञासा राख्दा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराई महोत्सव प्रयोजनका लागि १५ दिनका लागि प्रयोग गर्ने स्थानीय सरकारसँग मौखिक सहमति भएको दाबी गर्छन् ।
उनले भने, ‘सुरुमा तेह्रविगाह मैदानमा महोत्सव सञ्चालनको लागि अनुमति पाएका थियौँ । त्यहाँको क्लबले असहयोग ग¥यो । ठूलो क्षेत्रको रूपमा क्रिकेट मैदानमा आयोजना गर्ने प्रयास गरेका थियौँ । त्यतापनि राख्न दिएनन् । खुला मैदान अहिले विभिन्न संरचनाका लागि सानो भइसकेको छ । महोत्सव सञ्चालन गर्नैपर्ने बाध्यताकाबीच स्थानीय सरकारसँग अनुमति मागेरै सडकमा संरचना बनाएका हौँ । नगरप्रमुख ज्युुले समेत मौखिक सहमति जनाउनुभएको छ ।’
सडक क्षेत्र कब्जा गरियो भन्दै आयोजकलाई लिखित तथा मौखिक रूपमा धेरै सुझावहरू प्राप्त भएको भन्दै संघका अध्यक्ष भट्टराईले आफूहरूले रहरले नभई बाध्यतात्मक रूपमा आवागमन र सार्वजनिक सेवा प्रवाहमा कुनैपनि असर नपर्नेगरी संरचना निर्माण गर्नुपरेको बताए। महोत्सवको बेला हुने सुरक्षा चुनौतीलाई समेत ख्याल गर्दै सरोकारवाला निकायहरूको परामर्शमा बाध्यतात्मक रूपमा संरचना निर्माण गरिएको उनको भनाइ छ ।
‘महोत्सवको नाममा सडक कब्जा गरियो भनेर प्रचार गरिएको छ । महोत्सव कोहलपुरको एउटा पर्व हो । सबैलाई सकारात्मक रूपमा सोचिदिन हामी आग्रह गर्दछौँ । महोत्सव सफल बनाउन सवैको भूमिका रहन्छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । मूल सडकमा महोत्सवका लागि गेट बनाउन अनुमति दिएको हो भन्ने प्रश्नमा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले मिसन टुडेलाई प्रतिक्रिया दिँदै भनिन्, ‘महोत्सवको लागि नगरपालिकाले अनुमति दिएको छ । सडकमै संरचना निर्माणबारे जानकारी छैन ।’
कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेमगरका अनुसार सडकमा संरचना निर्माण गर्ने विषयमा नगरपालिकाले निर्णय गरेको छैन । यस्तै, कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाले उक्त विषयमा नगरप्रमुखलाई सोध्नुपर्ने बताए । यस विषयमा प्रतिक्रिया लिन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले प्रयोग गर्ने नम्बरमा बाम्बार फोन गर्दासमेत उपलब्ध हुन सकेन । गिरीले प्रयोग गर्ने नम्बर स्वीच अफ गरिएको छ भने नगरप्रमुखको नम्बरमा फोन नै लाग्दैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले कोहलपुर महोत्सवस्थल क्षेत्रमा सडक बन्दका विषयमा कार्यालयमा मौखिक र लिखित रूपमा गुनासो आएको बताए । यसको मुख्य जिम्मेवार आयोजक र सम्बन्धित स्थानीय सरकार नै हुने भन्दै उनी पन्छिन खोजे । ‘यसको मुख्य जिम्मेवार आयोजक र सम्बन्धित स्थानीय सरकार नै हुन्’ प्रजिअ तामाङले मिसन टुडेसँग भने, ‘दुवै पक्षलाई ध्यानाकर्षण गराउने काम भएको छ । सुरक्षा संवेदनशीलताबारे प्रशासन कार्यालय सचेत छ ।’
सुरु नहुँदै विवादित बन्यो कोहलपुर महोत्सव
बाँकेको कोहलपुरमा पुस ९ गतेदेखि सञ्चालन हुने कोहलपुर महोत्सव–२०८२ सुरु नहुँदै विवादित बनेको छ । ठेक्का प्रक्रियाको झमेलादेखि अनुमतिविना सडक कब्जा गरेको विषयमा महोत्सव सुरु नहुँदै विवादित बनेको हो । सुरुमा महोत्सवको ठेक्का प्रक्रियामा अपारदर्शिता, कमिसन खेल र मनपरी गरिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बाँकेले ज्ञापनपत्र बुझाउँदै संघमा तालाबन्दीसमेत गरेको थियो ।
एकदिनपछि संघले ठेक्का प्रक्रियामा पारदर्शी बनाउने प्रतिबद्धता जनाएपछि दुवै पक्षको सहमतिमा तालाबन्दी खोलियो । दुवै पक्षको सहमतिपछि कोहलपुर उद्योग वाणिज्य संघले मंसिर २३ गते बाल उद्यान निर्माण÷स्थापना, मनोरञ्जन सामग्री व्यवस्थापन, विविध निर्माण÷सजावट र सुरक्षा गार्ड सेवा सम्बन्धि शिलबन्दी कोटेशन प्रस्ताव माग सम्बन्धी सार्वजनिक सूचना जारी ग¥यो ।
बाल उद्यान निर्माण÷स्थापना, मनोरञ्जन सामग्री व्यवस्थापन, विविध निर्माण÷सजावट र सुरक्षा गार्ड सेवाको ठेक्का भावना एम्युजमेन्ट प्रालिले पाएको छ । एक दिनको समय राखेर कोटेशन खोलेको भन्दै नेपाली कम्युनिस्ट पार्टी बाँके निकट योङ कम्युनिष्ट लिग बाँकेले पुस १ गते अपारदर्शी ठेक्का प्रक्रिया रद्ध गरि पारदर्शी ढंगले पुनः टेण्डर प्रक्रिया सुरु गर्न र मुख्य सडकखण्ड अवरुद्ध हुनेगरी निर्माण गरिएका मुख्य गेटसहितका संरचना तत्काल हटाउन माग गर्दै संघसहित आधादर्जन बढी निकायमा ज्ञापनपत्र बुझायो ।
इन्चार्ज आकाश कार्कीका अनुसार लिगले बुँदे माग राख्दै संघलाई ज्ञापनपत्र बुझाएको थियो । सो मागका सम्बन्धमा लिग र संघबीच उचित मागहरूको आयोजकले सम्बोधन गर्ने सहमति भएको छ । महोत्सव सुरु नहुँदै विभिन्न विवादहरू सार्वजनिक भएपछि रक्षात्मक बनेको कोहलपुर उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवलाई बदनियतपूर्ण रूपमा असफल बनाउने उद्देश्यले भ्रम, अपवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन सम्पूर्ण सरोकारवालाहरूलाई अपिल नै जारी ग¥यो ।
मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपुष्ट, असत्य तथा गैरजिम्मेवार सूचनाहरूको पछाडी नलागि महोत्सवको गरिमा र उद्देश्यलाई उच्च राख्न सबै पक्षको सहयोगको अपेक्षा गर्दछौँ ।’ यतिमात्रै होइन व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवप्रति यहाँका व्यवसायीहरूसमेत सन्तुष्ट देखिँदैनन् । व्यवसायीहरूले संघले स्थानीय व्यवसायीहरूलाई उपेक्षा गरेको भन्दै सार्वजनिक रूपमा विरोध गरिरहेका छन् ।
स्थानीय कपडा व्यवसायी केशव पौडेल महोत्सव आयोजना हुनु सकारात्मक भएपनि स्थानीय व्यवसायीहरूलाई प्राथमिकता नदिइएको बताउँछन् । उनी भन्छन्, ‘महोत्सवमा स्थानीय व्यवसायीलाई प्राथमिकता दिनुपर्छ । तर, कपडा व्यवसायीलाई उपेक्षा गरिएको छ । हामी मर्कामा परेका छौँ । महोत्सवमा हामीलाई कुनै फाइदा हुँदैन । नोक्सान हुने देखिएको छ ।’
यसैगरी, गुणस्तरहीन तथा अखाद्य (लेवल बाहेकका) बस्तुहरू विक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउन, मेलास्थलमा मदिरा, सुर्तिजन्य पदार्थ र जुवा लगायतका खेलहरूलाई प्रतिबन्ध गर्न, बाल उद्यानका नाममा सञ्चालन गरिने झुला, मौतका कुवा, लगायतका जोखिमयुक्त खेलहरू बन्द गर्न, सामाजिक सद्भाव खलबलाउने र उश्रृंखल खालका कलाकारहरूलाई मेलामा प्रतिबन्ध लगाउन अत्यधिक मात्रामा मेला महोत्सवमा हुने ध्वनी प्रदर्शन नियन्त्रण गर्न र महोत्सव अवधिभर खुला व्यामशाला र जुम्बा–योगा पूर्ववत रूपमा निर्वाध सञ्चालन गर्न विभिन्न सरोकारवालाहरूले माग गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्