फागुन २१ मै चुनाव हुन्छः अर्थमन्त्री खनाल



श्यामलाल पोखरेल । बुटवल ।

अर्थमन्त्री डा. रामेश्वर खनालले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । देशलाई अगाडि बनाउन निर्वाचित सरकार चाहिने भएकाले निर्वाचनको विकल्प खोज्नै नसकिने बताउँदै सरकार निर्वाचनको तयारीमा लागेको बताएका हुन् । बुटवलमा बिहीबारदेखि सुरु भएको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन निर्वाधरूपमा निष्पक्ष हुने दाबी गरे ।

अर्थमन्त्री खनालले राजनीति स्थायित्व नहुँदासम्म देशको विकास हुन नसक्ने बताउँदै समयमा निर्वाचन बनाउने गरी निर्वाचनको माहोल बनाउन सबैलाई आग्रह गरेका थिए । उनले यो सरकार निर्वाचन बनाउनका लागि बनेको बताउँदै देश चलाउन निर्वाचित सरकार चाहिने भएकाले निर्वाचन भएरै छाड्ने बताए । अर्थमन्त्री खनालले आर्थिक गतिविधि विस्तारै अघि बढेको बताउँदै आमजनतामा खुशीयाली छाउँदै गएको दाबी गरे । बैंकमा पैसा थन्केर तरलता भएको विषयमा सरकार गम्भीर रहेको बताए ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा जोड दिँदै उद्योगी व्यवसायीहरूका समस्याप्रति सरकार गम्भीर भन्दै भने विकास आयोजनाका कामहरू समयमै सम्पन्न हुने भए बजेट नरोकिने र समयमा काम हुन नसक्ने खालका आयोजनाको बजेट रोकिने स्पष्ट पारे । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद् मन्त्री सन्तोष पाण्डेयले पर्यटन र खेलबाट नेपालको विकास हुन सक्ने बताए । मन्त्री पाण्डेयले राजनीतिदेखि हरेक क्षेत्रको नेतृत्वमा पुगेको नेतृत्वको बुद्दि नआउँदा देशले समस्या भोग्नु परेको बताउँदै देशलाई अगाडि बढाउन सही प्रकारको नेतृत्व चाहिने बताए ।

बुद्धले दिएको विचार र बाटोलाई आत्मसाथ गर्नुपर्ने बताउँदै मन्त्री पाण्डेयले भने हामी काम भन्दा कुरा धेरै गर्ने भएकाले समस्या देखिएको हो ।
एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले औद्योगिक विकासका लागि सरकारले उद्योगी व्यवसायीहरूलाई प्रोत्सान गर्नुपर्ने बताए । उनले अर्थतन्त्रलाई बलियो बनाउनु पर्नेमाा जोड दिँदै भारतसँग जोडिएका खुला सिमानाहरूलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी मूल आयोजक समितिका संयोजक कृष्ण पराजुलीले औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रले नीतिगत सुधार चाहेको बताए ।

उनले आजका दर्शक, उपभोक्ता भोलिका उद्योगी हुने गरी प्रदर्शनी आयोजना गरिएको दाबी गरे । बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना भएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरू राखिएको आयोजक संस्था रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले जानकारी दिए । पुस १७ गतेसम्म चल्ने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको रुपन्देही उद्योग संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार