सुदूरपश्चिम महोत्सव परिसरभित्र ‘थारू कला प्रदर्शनी घर’



कैलाली ।

सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ ।

सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ । जहाँ उक्त समुदायले प्रयोग गर्ने विभिन्न पहिरन, खेतीपाती तथा दैनिक प्रयोगमा आउने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका विभिन्न खानाका परिकार रहेका ३० वटा व्यापारिक कक्ष पनि रहेका छन् ।

ती कक्षमा थारू समुदायले परम्परादेखि सेवन तथा खानपान गर्ने परिकार बिक्रीका लागि राखिएका छन् । व्यापारिक कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुुसा, बङ्गुर, गङ्गटालगायत मासुको प्रकार साझा जस्तै छन् । प्रदर्शनी घरमा थारू परिकार पाइनुका साथै थारू संस्कृतिका विभिन्न गीत, नाचगान प्रस्तुति गर्ने गरिएको छ ।

यहाँ अवलोकनका लागि आउने दर्शकले ती लोकगीत सुुन्न तथा नाचगानमा झम्मिन्छन् । सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपानलाई जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले प्रत्येक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएका छन् । चौधरीले त्यसको व्यवस्थापनका लागि रु १० लाख जति लगानी गरेको र करिब रु १५ लाखबराबरको कारोबार हुने अनुुमान रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार