बुटवल ।
नेपाल बिलियर्डस स्कुनर तथा पुल संघ रुपन्देही क्लबको संयुक्त आयोजनामा बुटवलमा नवौँ स्कुनर प्रतियोगिता हुने भएको छ । आगामी पुस १४ गतेदेखि जिल्लास्तरीय खुला स्कुनर प्रतियोगिता हुने आयोजकहरूले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । पुस २१ गतेसम्म चल्ने उक्त खुला स्कुनर प्रतियोगिता बुटवलस्थित खस्यौली स्नुकर क्लबमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न ठाउँका १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।
उनका अनुसार आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार, उदियमान खेलाडी र अनुशासित खेलाडीले ५÷५ हजार र स्नुकर स्टिक प्राप्त गर्नेछन् । स्नुकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक रहेको छ । १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको संघका महासचिव प्रकाश क्षेत्रीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ओझेलमा परेको स्नुकर खेलका खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै अन्तर्राष्ट्रियस्तरमा जस्तै नेपालमा पनि स्कुनर खेललाई महत्व दिनुपर्ने बताए । उनले आफू कार्यरत संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै रुपन्देही जिल्ला स्नुकर खेलको हबको रूपमा विकास हुँदै गएको बताए ।
संघका प्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्यले खेलको नियम पालना गरेर अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गर्न सुझाव दिए । विजय गुरुङ संयोजक रहेको खेल उपसमिति, संघका महासचिव प्रकाश क्षेत्री संयोजक रहेको आर्थिक उपसमिति, पत्रकार टिआर शर्मा संयोजक रहेको प्रचारप्रसार उपसमिति, पुरन राना संयोजक रहेको अतिथि सत्कार तथा खाजा व्यवस्थापन उपसमिति र विराट भट्टचन संयोजक रहेको प्राविधिक उपसमिति गठन गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्