शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सदनको बहुमतबाट एमसीसी पास गर्ने काम भयो । एमसीसी पास गर्न संसद्का ठूला दलहरूको निर्णायक भूमिका रह्यो । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीको नाटक रचेर पार्टी, पार्टीका कार्यकर्ता र जनतालाई ढाँटेर काङ्ग्रेस र एमालेकै लाइनमा सामेल भएर राष्ट्रघाती एमसीसीलाई सदनबाट अनुमोदन गराउने काम भयो । त्योभन्दा पहिले केपी ओलीले आफू सरकारको नेतृत्वमा रहेका बेला सदनबाट पास गराउन चाहेका थिए ।
चिन्तामणि घिमिरे ।
स्वतन्त्रता भन्ने शब्द अत्यन्तै प्यारो शब्द हो । जो कोही मानिस अर्काको गुलाम बन्न चाहँदैन । मानिसले मानवीय स्वतन्त्रतालाई उपभोग गरेर बाँच्न चाहन्छ । कसैले पनि स्वतन्त्रता खोसिएको मन पराउँदैन ।
स्वतन्त्रता आफ्नो जीवनभन्दा पनि प्यारो हुन्छ । एक स्वाभिमानी मानिसले स्वतन्त्रता खोसिएको र आफूलाई दास बनाइएको दृश्य टुलुटुलु हेरेर बस्न सक्दैन । ऊ भित्रको चेतनाले उसलाई स्वतन्त्रता प्राप्तिको लागि अगाडी बढ्न घचघचाइ रहन्छ । चेतना यस्तो चीज हो, जसले मानिसलाई केही गर्नका लागि उसको मनमा हुटहुटी पैदा गरिदिन्छ । चेतनशील मस्तिष्कहरू सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील भइरहन्छन् । चेतनाले मानिसमा प्रतिरोधी भावनाको विकास गराउँछ ।
कङ्गो र पेट्रिस लुमुम्बा एकआपसमा जोडिएका र अलग गर्न नसकिने नाम हुन् । कङ्गो अफ्रिकी महादेशको दोस्रोे ठूलो मुलुक हो भने पेट्रिस लुमुम्बा कङ्गोका महान सहिद हुन् । जसले अमेरिकी हस्तक्षेप, दमन र शोषणका विरुद्ध लड्दालड्दै शहादत प्राप्त गरेका थिए । अफ्रिकी महान क्रान्तिकारी जसले आफ्नो देश कङ्गोलाई वैदेशिक हस्तक्षेप, शोषण र उत्पीडनबाट मुक्त गर्ने प्रयास गरेका थिए ।
ती क्रान्तिकारी योद्धालाई अमेरिकी जासुसी संस्था सिआइएको योजनामा पाशविक ढंगले हत्या गरिएको थियो । ती बहादुर क्रान्तिकारी महान योद्धाको नाम थियो, पेट्रिस लुमुम्बा । यो सानो लेखमा कङ्गो र लुमुम्बाबारेमा छोटकरीमा जानकारी दिने प्रयास गरिने छ ।
कङ्गोको संक्षिप्त परिचय
अफ्रिकाको नक्सा हेर्नुभयो भने त्यो नक्सामा कङ्गो नाम देख्न सक्नु हुनेछ । त्यो कङ्गो देश मध्यअफ्रिकामा पर्दछ । यो अफ्रिकी मुलुकहरूमध्येमा दोस्रो ठूलो देश हो । यसको आधिकारिक नाम हो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो । संक्षेपमा कङ्गो भनेर बोलाइन्छ । यहाँ कङ्गो नदी बहन्छ र यही नदीको नामबाट यस देशको नाम कङ्गो बन्न पुगेको देखिन्छ । कङ्गोमा हिरा, युरेनियम, सुन, रबर र हात्तीको दाँत प्रशस्त मात्रामा पाइन्छ ।
प्रकृतिले नै कङ्गोलाई प्रशस्त मात्रामा प्राकृतिक खजाना उपलब्ध गराएको छ । यस्तो प्राकृतिक सौन्दर्य देखेर युरोपियनहरूको मनमा ईष्र्या, लोभ र डाहा उत्पन्न हुन्छ । यसै सिलसिलामा उन्नाइसौँ शताब्दीमा बेल्जियमका राजा लियोपोल्डको कुदृष्टि कङ्गोमाथि पर्न जान्छ । बेल्जियम एक युरोपियन देश हो । त्यहाँका राजा लियोपोल्डले सन् १८८० मा कङ्गोमाथि कब्जा गरे र आफ्नो निजी सम्पत्तिको रूपमा घोषणा गरे । यसपछि राजाले कङ्गोको राजधानीको नाम फेरे र आफ्नो नामबाट राजधानीको नयाँ नामाकरण गरे ।
अर्थात् राजधानीको नाम लियोपोल्ड रहन पुग्यो । त्यसपछि राजाले कङ्गो र कङ्गोवासीहरूलाई प्रत्यक्षरूपमा लुट्न सुरु गरे । कङ्गोका जनतामाथि अत्यन्तै अमानवीय ढंगबाट शोषण दमन गर्न थालियो । त्यहाँ मानवता भन्ने चीज नै गायब हुन पुग्यो । विस्तारै कङ्गोको अवस्था बिग्रँदै गयो र दयनीय अवस्थामा पुग्यो । विश्वभरी नै राजा लियोपोल्डको आलोचना हुन थाल्यो । सन् १९०८ मा राजाले कङ्गोमाथिको आधिपत्य बेल्जियमको सरकारलाई सुम्पन पुगे । कङ्गो बेल्जियमको उपनिवेश बन्न पुग्यो । कराहीको माछा उम्केर भाग्न खोज्दा भुँग्रोमा (अगेनामा) परेजस्तै भयो । एउटा रापबाट अर्को तापमा ।
लुमुम्बा र स्वतन्त्रता आन्दोलन
औपनिवेशिक शोषण र दमनको जुवामुनि पिल्सिएको देश कङ्गोमा सन् १९२५ मा पेट्रिस लुमुम्बाको जन्म भयो । देशले एउटा वीर र असल सपूत खोजेको बेला लुमुम्बाले आफ्नी आमाको कोखबाट कङ्गोको धर्तीमा पाइला टेक्न पुगे । पेट्रिस लुमुम्बाको जन्म एउटा अत्यन्तै सानो अविकसित र अशिक्षित कविला परिवारमा भएको थियो ।
जो राजनीतिक रूपले प्रभावहीन थियो । प्रोटेस्टेन्ट मिसनरी नाम गरेको स्कुलमा गएर शिक्षा आर्जन गरे । पढाइमा अत्यन्तै मेहनती र लगनशील थिए । विद्यालयबाट आफ्नो लेखाइपढाइ पूरा गरेपछि राजधानी लियोपोल्डको एउटा गाउँमा रहेकोे हुलाक कार्यालयमा कलर्कको पदमा जागिरे बन्न पुगे । त्यतिबेलासम्म उनको मनमा देशभक्ति भावनाहरू जागृत हुन थालेका थिए । उनले सोच्न लागिरहेका थिए कि कसरी कङ्गोलाई बेल्जियमको उपनिवेशबाट मुक्त गर्ने ? उनको हृदयमा उपनिवेशविरोधी विचारहरू छचल्किन थाले ।
उनलाई उकुसमुकुस हुन थाल्यो । उनले बेल्जियम सरकारप्रति घृणा प्रकट गर्न थाले । उनी उपनिवेशविरोधी बन्न पुगे । लुमुम्बा अफ्रिकी देश घानाको यात्रामा निस्किए । त्यही बेलामा घानामा अफ्रिकी देशभक्तहरूको एउटा ठूलो सम्मेलन भइरहेको थियो । उनी त्यस सम्मेलनमा भाग लिन पुगे र आफ्ना विचारहरू दह्रोसङ्ग राखे । त्यस सम्मेलनमा भाग लिएपश्चात् एउटा दृढ संकल्प लिएर लुमुम्बा कङ्गो फर्किए । कुनैपनि हालतमा कङ्गोलाई बेल्जियमको दासताबाट मुक्त पार्नुपर्छ र एउटा स्वाधीन, स्वाभिमान र आत्मनिर्भर देशको रूपमा खडा गर्नुपर्दछ भन्ने अठोट मनमा लिए ।
१९५० को दशकमा कङ्गोलिज नेसनल पार्टीको निर्माण गरेर बेल्जियमको विरुद्ध संघर्ष गर्न सुरु गरे । संगठित शक्तिबिना आन्दोलनलाई टुंगोमा पु¥याउन सकिँदैन भन्ने महसुस गरे । लुमुम्बाको नेतृत्वमा कङ्गोवासी जनताहरू बेल्जियमका विरुद्ध स्वतन्त्रताको प्राप्तिको लागि संघर्षको मैदानमा उत्रे । अधिकार मागेर होइन खोसेर पाइन्छ भन्ने कुरामा उनीहरू ढुक्क देखिन्थे । परिस्थिति यस्तो बन्दै गयो कि सन् १९५९ आउँदै गर्दा बेल्जियमलाई एउटा यस्तो घोषणा गर्नुपर्ने बाध्यता आउन थाल्यो छिटोभन्दा छिटो नै कङ्गोलाई स्वतन्त्र घोषणा गर्नुपर्ने भयो । ३० जुन १९६० मा कङ्गोलाई बेल्जियमले स्वतन्त्र देशको रूपमा घोषणा ग¥यो । तर त्यो स्वतन्त्रता नाम मात्रको थियो । कङ्गो उपनिवेशबाट नवउपनिवेश बन्न पुग्यो । राजधानी लियोपोल्डको नाम बदलेर किन्सासा नामाकरण गरियो ।
साम्राज्यवादका विरुद्ध संघर्ष र सहादत
लुमुम्बा सुरुदेखि नै वामपन्थी विचारधाराका थिए । त्यो समय विश्व दुई खेमामा विभाजित थियो । एक खेमा अमेरिकी पक्ष र अर्को सोभियत संघ पक्ष । शीतयुद्ध चरमरूपमा थियो । वामपन्थी विचारधाराको पक्षधर हुनुको कारण लुमुम्बा अमेरिकी जासुसी संस्था सिआइएको तारो बनेका थिए । कङ्गोको युरेनियम, सुन र हीराखानी अमेरिकाको कब्जामा थियो । उनले त्यसको विरोध गरेका थिए ।
कङ्गोको स्वतन्त्रतापछि राष्ट्रपतिले लुमुम्बालाई कङ्गोको पहिलो प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए । लुमुम्बा ३ महिना मात्र प्रधानमन्त्री बन्न पाएका थिए । कङ्गो बेल्जियमको उपनिवेशबाट मुक्त भएपनि स्वाधीन र पूर्णरूपले स्वतन्त्र बन्न सकेको थिएन । नवऔपनिवेशिक साङ्लोले बेरिएको थियो । लुमुम्बाले देशलाई नवउपनिवेशबाट मुक्त गराउन चाहन्थे । त्यो कुरा अमेरिकालाई मन परेको थिएन । किनकि उसले त्यहाँ लुट्न पाइरहेको थियोे ।
बेल्जियमको मद्दतबाट लुमुम्बाका विरोधीहरूले कटाङ्गा नामको एक प्रान्तलाई कङ्गोबाट अलग गरे । कटाङ्गा पहाडहरूले घेरिएको कङ्गोको दुर्गम क्षेत्र थियो । जुन युरेनियम र सुनखानी भएको क्षेत्र थियो । लुमुम्बाले कटाङ्गालाई पुनः कङ्गोमा सामेल गर्नका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको लागि अपील गरे । तर संयुक्त राष्ट्रसंघले कङ्गोलाई कुनैपनि खालको मद्दत दिने कुरालाई सिधै अस्वीकार ग¥यो । यसपछि पेट्रिस लुमुम्बाले सोभियत संघसँग सैनिक सहयोग मागे । त्यससमय सोभियत संघका नेता निकिता ख्रुस्चेव थिए ।
जब लुमुम्बाले सोभियत संघसँग सैनिक सहयोग मागे तब अमेरिकाको कान ठाडो भयो । उसलाई लाग्यो कि कङ्गोमा दोस्रो फिदेल कास्त्रोको जन्म भयो । अमेरिकालाई यस्तो लाग्न थाल्यो कि यदि सोभियत संघको सेना कङ्गोको सहयोगको लागि त्यहाँ गयो भने कङ्गो सधैँका लागि सोभियत पक्षधर बन्ने छ । यसपछि सिआइएले लुमुम्बाको हत्याको योजना बनाउन थाल्यो । सबभन्दा पहिला जहर बनाएर पठायो । जुन जहर लुमुम्बाले दाँत माझ्ने टुथपेस्टमा मिलाउने योजना थियोे । जसबाट लुमुम्बा दाँत माझ्दै मृत्युको घाटमा पुगुन् । तर यो षड्यन्त्र सफल भएन । यसपछि कङ्गोका राष्ट्रपतिले लुमुम्बालाई प्रधानमन्त्रीको पदबाट बर्खास्त गरे ।
लुमुम्बाले हार खाएनन् । उनले समानान्तर सरकारको गठन गरे । तर त्यसको केही समयपछि उनका विरोधीहरूले लुमुम्बालाई गिरफ्तार गरे । उनलाई त्यहाँको सैन्य क्याम्पमा राखियो र अत्यन्तै अमानवीय ढंगबाट क्रूर यातना दिइयो । १७ जनवरी सन् १९६१ मा लुमुम्बालाई उनको पत्नी र छोराको अगाडी निर्मम र चर्को शारीरिक यातना दिइयो । तेजाव (एसिड)ले पूरै शरीर नुहाइदिएर गोली हानेर हत्या गरियो । त्यस समय उनी ३६ वर्ष उमेरका थिए ।
लुमुम्बाका विरोधीहरू उनीदेखि यति डराउँथे कि उनको लासलाई तेजाव हालेर जलाइयो । जसबाट लुमुम्बाको कुनै नामनिशान नरहोस् भन्ने थियो । केही वर्षपछि लुमुम्बाको हत्याको योजना बारेको एउटा दस्ताबेज सार्वजनिक भयो । त्यस दस्ताबेजबाट थाहा हुन गयो कि लुमुम्बाको हत्यामा सिआइएको हात थियो । पेट्रिस लुमुम्बा देशका लागि सहिद बनेर अमर भए । उनलाई क्युवाका महान क्रान्तिकारी नेता चेग्वेवाराले क्रान्तिको बलिदानी भनेर भनेका छन् ।
अप्ठ्यारो मोडमा नेपाल
कङ्गोजस्तै नेपाल पनि प्राकृतिक सौन्र्दर्यले भरिएको देश हो । यहाँ जल, जङ्गल, खनिज र युरेनियम प्राकृतिकरूपमा उपलब्ध छ । बेलायती साम्राज्यवादबाट अर्धउपनिवेश बनेको नेपाल अहिले नवउपनिवेशको अवस्थामा छ । अहिलेसम्म नेपालको प्राकृतिक स्रोत साधन र सम्पदामाथि भारतीय साम्राज्यवादले एकलौटीरूपमा उपभोग गर्दै आएको थियो । अब त्यसमा अहिले अमेरिका पनि समावेश भएको छ ।
एमसीसी सदनबाट बहुमतले पारित भएपछि अमेरिकालाई वैधानिक रूपले भित्र्याउने काम संसदवादी दलहरूले गरे । उसको काम भनेको नेपालीहरूलाई फुटाउने, लुट्ने र शासन गर्ने हो । जसरी अहिले कङ्गोवासी जनताहरूले भिखारीको अवस्था झेल्नुपरेको छ । त्यही अवस्था भोलि नेपालमा नआउला भन्न सकिँदैन । अमेरिकाले कङ्गोमा पाइने युरेनियम र सुनखानी कब्जा गरि कङ्गो र कङ्गोवासी जनतालाई भिखारीको अवस्थामा पु¥यायो । भोलि नेपाललाई बनाउने त्यही नै हो ।
नेपालका कतिपय नेताहरूले एमसीसी सदनबाट पास नभए अमेरिकाले कासिम सुलेमानी बनाइदिन्छ भन्दै रुँदैरुँदै हिँडे । अहिले ती नेताहरू खुसी नै होलान् । नेपाल एमसीसीको साङ्लोले बाँधिएको छ । त्यो साङ्लो चुँडाल्न हजारौँ लुमुम्बाहरू जन्मिनु पर्छ । कङ्गोको इतिहासबाट शिक्षा लिई स्वाभिमान र स्वाधीनताको बाटोमा लागौँ । परनिर्भर र पराधिनताको बाटो त्यागौँ । यसैमा देश र जनताको भलाइ छ । तर हाम्रो देशका नेताहरू स्वाभिमान र स्वाधीनताभन्दा गुलामी र दासता मन पराउँछन् । धन पैसाको लोभमा स्वतन्त्रता र स्वाधीनतालाई बिक्री गर्न पछि पर्दैनन् भन्ने कुरा व्यवहारमा पुष्टि भइरहेको छ ।
अहिले आएर त्यो एमसीसी संस्थाले नेपालको कानुन नमान्ने कुरा गरिरहेको छ । उसले एमसीसी नेपालको संविधानभन्दा माथि रहेको दाबी गरिरहेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सदनको बहुमतबाट एमसीसी पास गर्ने काम भयो । एमसीसी पास गर्न संसद्का ठूला दलहरूको निर्णायक भूमिका रह्यो । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीको नाटक रचेर पार्टी, पार्टीका कार्यकर्ता र जनतालाई ढाँटेर काङ्ग्रेस र एमालेकै लाइनमा सामेल भएर राष्ट्रघाती एमसीसीलाई सदनबाट अनुमोदन गराउने काम भयो ।
त्योभन्दा पहिले केपी ओलीले आफू सरकारको नेतृत्वमा रहेका बेला सदनबाट पास गराउन चाहेका थिए । त्यतिबेलाका सभामुख कृष्णबहादुर महराले एमसीसी सदनमा पेस गर्न मानेका थिएनन् । अग्नीप्रसाद सापकोटा सभामुख भएर आएपछि उनले एमसीसीलाई सदनमा पेश गरे । सदनको अत्यधिक बहुमतले त्यो पारित गरियो । नेता र सांसद स्वाभिमान हराएका बुख्याचा बने । यिनलाई कत्तिपनि पछुतो लागेन ।
यतिबेला नेपालमा लुमुम्बाजस्तै देशभक्ति भावनाले ओतप्रोत भएको नेतृत्वको खाँचो परेको छ । अहिलेसम्म आउँदा देश र जनताका हितहरूलाई छिमेकीहरू र अन्तर्राष्ट्रिय मञ्चमा दह्रोसँग आफ्नो देशको हितको बारेमा कुरा राख्न सक्ने नेता देशले पाउन सकेन । अघिपछि ठूलाठूला कुरा हाँक्ने र विदेशीका अगाडि पर्दा चाहिँ लत्रक्क गल्ने नेताहरूको यहाँ अभाव भएन । हाम्रो देशले देश र जनताको हितको बारेमा सोच्ने नेता कहिले पाउने हो ? के हामी सधैँभरी पीडित भएर बसिरहने हो या देशको बारेमा केही सोँच्ने हो ? के अब सोच्ने बेला आएन र ? पराधिनताको सुख सयलभन्दा स्वाधीनताको दुःख कष्ट कैयौँ गुणा श्रेयस्कर हुन्छ ।
युवापुस्ताले अब यसबारेमा विचार गर्नु पर्दछ । युवापुस्ता लोकप्रियतावादी नाराका पछाडी लागेर होइन कि वास्तविक धरातलमा टेकेर हिँड्नु पर्दछ । सही विचार र राजनीतिलाई चिन्न सक्नु पर्दछ । रसिला र मनमोहक कुराहरूमा भुल्नु हुँदैन । सत्य र यथार्थतालाई बुझ्ने प्रयास गर्नु पर्छ । नत्रभने कराहीको माछो भुँग्रोमा परेजस्तै हुन्छ । यथास्थितिवादबाट यथास्थितिबाद मै । घुम्दै फिर्दै रुम्जाटार भने झैँ हुन्छ । संसदीय व्यवस्थाबाट संसदीय व्यवस्था मै गोलचक्कर लगाउने कुरा कदापि स्वीकार्य हुँदैन । देश र जनताको नाम लिएर ठगीधन्दा गर्नेहरूलाई जनताले कार्बाही गर्ने दिन एकदिन पक्का आउनेछ ।
देशको अस्मिता बेचेर रमाउनेहरूलाई एकदिन जेलमा हावा खाएको देख्न पाइने छ । यदि षडयन्त्र गरेर संसदीय व्यवस्थालाई कायम गरिराख्ने भएमा देशको अस्तित्व नै समाप्त हुन बेर छैन् । संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादले मात्र जनताका आधारभूत आवश्यकताहरू समाधान गर्न सक्छ । संसदीय व्यवस्थाको विकल्प भनेकै वैज्ञानिक समाजवाद हो । घुमाइफिराइकन संसदीय व्यवस्थालाई बलियो बनाउने भनेको वैज्ञानिक समाजवादप्रतिको गद्दारी नै हो । सबैलाई चेतना होस् ।









प्रतिक्रिया दिनुहोस्