२०१२ सालमा नारायण डिग्री कलेजका नामबाट स्थापना भएको पश्चिम नेपालको पुरानोमध्ये एक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस अहिले पनि विभिन्न पूर्वाधारहरूको अभाव झेलिरहेको छ । विद्यार्थी तथा स्ववियुले पटक पटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि व्यवस्थित हुन नसकेको छात्रावास अहिले क्याम्पस प्रशासनले व्यवस्थित गर्ने काम सुरु गरेको हो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसले दुई दशकपछि आफ्नो पुरुष छात्रावासलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । दुई दशकदेखि क्याम्पसको छात्रावास व्यवस्थित नहुँदा बेवारिसे अवस्थामा रहेको र पुरानो भएर जीर्ण भइसकेको भवनमा विद्यार्थीहरू जोखिम मोलेर बसिरहेको विषयमा मिसन टुडे दैनिकमा गत भदौ २ गते रिपोर्ट प्रकाशित भएको थियो ।
विद्यार्थी तथा स्ववियुले पटक पटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि व्यवस्थित हुन नसकेको छात्रावास अहिले क्याम्पस प्रशासनले व्यवस्थित गर्ने काम सुरु गरेको हो । रिपोर्ट प्रकाशनपश्चात् भदौ १२ गते क्याम्पस प्रशासन र स्ववियुबीच भएको बैठकले जीर्ण र लामो समयदेखि अव्यवस्थित छात्रावास मर्मत र व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै २०८२ साल असोज ६ गतेभित्र छात्रावास खाली गर्न विद्यार्थीहरूलाई सूचित गरेको थियो ।
तत्पश्चात् भदौ २२ गते क्याम्पसले छात्रावासका वार्डेन दमनध्वज डिसीमार्फत छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन माग गरेको सूचना प्रकाशित गरेको थियो । उक्त आवेदन दिने म्याद पटक पटक थप्दै कात्तिक ३० गतेसम्म पु¥याइएकोमा उक्त अवधिभित्र दुई दर्जनबढी विद्यार्थीहरूले आवेदन दिएका डिसीले जानकारी दिए । अब आवेदन दिएका विद्यार्थीमध्ये कसलाई छात्रावासमा बस्न दिने भन्ने बारेमा निश्चित मापदण्ड बनाएर सोहीअनुसार निर्णय गरिने उनको भनाइ छ । छात्रावासमा सबै गरी दुई दर्जनबढी कोठाहरू रहेका छन् ।
इन्जिनियरहरूले जाँचबुझ गरी भवन जुनसुकै बखत भत्किन सक्ने भएकोले बस्न लायक छैन भनेर भनिसकेको क्याम्पसको छात्रावासको १ नम्बर ब्लकमा भदौसम्म पनि ५० जनाभन्दा बढी विद्यार्थीहरू बसिरहेका थिए । त्यही जोखिमपूर्ण भवनमा विद्यार्थीका भाइभतिजाहरू बताउने बालबालिकाहरू पनि बसिरहेका थिए । तर, क्याम्पस प्रशासनलाई त्यहाँ को बसिरहेका छन् भन्ने कुनै जानकारी थिएन । २ र ३ नम्बर ब्लकमा बसेका विद्यार्थी र उनीहरूको स्थितिका बारेमा पनि क्याम्पस प्रशासनले कुनै चासो राखिरहेको थिएन ।
वार्डेन डिसीले बाक्लो घाँस झाडीबीच रहेको उक्त छात्रावास व्यवस्थापनको काम नगरेरै दुई दशकदेखि जागिर खाइरहेका थिए । यस सम्बन्धमा मिसन टुडेले वास्तविकता उजागर गरेको थियो । वार्डेन डिसी अब भने छात्रावासमा बस्न आवेदन दिएका विद्यार्थीहरूलाई बस्न दिनुअघि ब्लक २ र ३ नम्बरको मर्मतसम्भार र रंगरोगन गरिने बताउँछन् । १ नम्बर ब्लक भने प्रयोग गर्न मिल्ने अवस्था नरहेकोले भत्काउने प्रक्रियामा अघि बढ्ने डिसीले जानकारी दिए ।
छात्रावासमा कस्ता विद्यार्थीहरूलाई बस्न दिने भन्ने विषयमा अहिले छलफल भइरहेको र एक दुई हप्ताभित्रमा मापदण्ड तयार गरिने क्याम्पसका स्ववियु सभापति केशरजंग शाही बताउँछन् । उक्त मापदण्डमा बाँके जिल्लाभन्दा बाहिरका, विकट जिल्लाका र आर्थिक रूपले पनि विपन्न विद्यार्थीहरूले पहिलो प्राथमिकता पाउने व्यवस्था गरिने उनले बताए । छात्रावासको रेखदेखका लागि कर्मचारी खटाइने र विद्यार्थीहरूबाट न्यूनतम शुल्क पनि लिइने व्यवस्था गरिने शाहीको भनाइ छ ।
क्याम्पस प्रमुख लालमणी आचार्यले छात्रावासको लामो समयदेखिको समस्या समाधानको प्रयास थालिएको बताएका छन् । छात्रावासको १ नम्बर ब्लकमा बसिरहेका विद्यार्थीहरूले क्याम्पसले सूचना जारी गरेपश्चात् त्यहाँ बस्न छाडिसकेका छन् । यसअघि भने क्याम्पस प्रशासनले पटक पटक सूचना जारी गरेपनि विद्यार्थीहरूले छात्रावासमै बस्नुको बाध्यता रहेको बताउँदै छोड्न मान्ने गरेका थिएनन् ।
तीन वर्षअघि क्याम्पसले नेपालगन्जस्थित संघीय आयोजना कार्यान्वयन इकाईलाई भवनको प्राविधिक परीक्षण गरिदिन आह्वान गरेपछि खटिएको प्राविधिक टोलीले एक नम्बर छात्रावासको भवन बस्न नमिल्नेगरी जोखिमयुक्त भइसकेको निष्कर्ष निकालेको थियो । त्यसपछि क्याम्पस प्रशासनले २०७९ साउन १० गते एक सूचना जारी गर्दै एक नम्बर छात्रावास भवनमा बस्न निषेध गरिएको बताएको थियो । तर, उक्त सूचना आउँदा पनि त्यहाँ विद्यार्थीहरू बस्न छोडेनन् । क्याम्पस प्रशासनले पनि औपचारिकता पूरा गर्न मात्रै त्यस्तो सूचना जारी गरेको थियो ।
छात्रावास व्यवस्थापनका लागि वार्डेनले कुनै सक्रियता नै देखाउने गरेका थिएनन् । २०२५ सालमा राजा महेन्द्रको पालामा छात्रावाससमेत चाहिने संवेदनशीलता देखाएर बनाइएको उक्त भवन गणतन्त्रकालसम्म आइपुग्दा जीर्ण बनिसक्दा पनि नयाँ भवन निर्माण गर्नेतर्फ कसैले ध्यान दिएका छैनन् । क्याम्पसको महिला छात्रावासको त भवन अधुरै रहेको नै दुई दशक पुग्न लागिसकेको छ । भारतीय दूतावासले बनाउन लागेको उक्त भवन विद्यार्थी संगठनको चन्दा आतंकपछि ठेकेदारले अधुरै छोडेर हिँडेको भनिएकोमा त्यसयता उक्त भवन निर्माण पूरा गर्नका लागि कसैले पहल गरेको छैन ।
स्ववियुले बनाउँदै खेल मैदान

२०१२ सालमा नारायण डिग्री कलेजका नामबाट स्थापना भएको पश्चिम नेपालको पुरानोमध्ये एक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस अहिले पनि विभिन्न पूर्वाधारहरूको अभाव झेलिरहेको छ । ती अभावमध्ये एक हो खेलमैदान । पहिले विद्यार्थीहरूले खेलमैदानको रूपमा प्रयोग गर्दै आएको स्थानमा भवनहरू निर्माण भएपछि क्याम्पस खेलमैदानविहीन भएको थियो ।
विद्यार्थीहरूले क्याम्पसको दक्षिण पश्चिमपट्टी खाली रहेको जमिनमा व्यवस्थित खेल मैदान बनाउनुपर्ने माग गर्दै आएका थिए । तर क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गर्दै आएको थियो । अहिले भने क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)नै खेलमैदान बनाउन अघि सरेको छ। स्ववियुले खेलमैदानका लागि उक्त स्थानमा झाडी सफा गर्ने र माटो सम्याउने काम सुरु गरेको छ । स्ववियु सभापति केशरजंग शाहीका अनुसार अहिलेसम्म करिब ६० हजार खर्च भएको उक्त मैदानमा हाललाई माटो सम्याएर समथर बनाउने योजना मात्रै छ ।
त्यसपछि वर्षाको सिजनअघि उक्त स्थानमा पानी नजम्नेगरी माटो पटान गर्ने योजना रहेको शाहीले बताए । खेल मैदानलाई व्यवस्थित बनाउनका लागि क्याम्पस प्रशासन र सहयोगी निकायहरूसँग सहयोग पनि लिइने उनले बताए । ‘यस क्षेत्रै सबैभन्दा ठूलो क्याम्पसमै खेल मैदान नहुनु दुःखद कुरा थियो । अब त्यसको पूर्ति होला कि भन्ने आशा गरौँ,’ शाहीले भने ।
उस्तै छ पुस्तकालयको हालत
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय पुस्तकालय पनि जर्जर हालतमा छ । यस सम्बन्धमा पनि मिसन टुडेले विस्तृत रिपोर्ट प्रकाशित गरिसकेको छ । तर उक्त पुस्तकालय व्यवस्थापनका विषयमा भने क्याम्पसले कुनै पहल गरेको छैन । पुस्तकालयमा रहेका किताब, विद्यार्थीले बुझाएका थेसिस र फिल्ड वर्क प्रतिवेदनहरू अव्यवस्थित र सुरक्षाको कुनै उपाय प्रयोग नगरी असरल्ल पारिएका छन् ।
पुस्तकालयको भवन कमजोर हुँदा छत र भित्ता पनि चर्किएको अवस्था छ भने छतबाट पानी चुहिने गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा रहेको रहेको उक्त पुस्तकालय त्रिभुवन विश्वविद्यालयको क्षेत्रीयस्तरको पुस्तकालय हो । २०३४ सालमा स्थापना भएको पुस्तकालयको दुई दशकअघि निर्माण गरिएको भवन कमसल निर्माण हुँदा अहिले नै जीर्ण भइसकेको छ । क्याम्पस प्रशासन उक्त भवन भत्काएर नयाँ भवन बनाउनुको विकल्प नरहेको बताउँछ ।
क्याम्पसका सूचना अधिकारी किरणराज रेग्मीले नयाँ भवन निर्माण नगरी उक्त पुस्तकालय व्यस्थित हुने अवस्था नरहेको बताए । क्याम्पसका लागि आएको करिब तीन करोड बजेटबाट नयाँ भवन बनाउने र त्यसमा पुस्तकालय व्यवस्थित गर्ने क्याम्पस प्रशासनको योजना रहेकोमा जेनजी आन्दोलनपछि सरकारले उक्त बजेट रोक्का गरिदिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्