श्यामलाल पोखरेल । बुटवल ।
बुटवलमा निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक निर्माणको काम ३० प्रतिशत भएको छ । त्यस्तै वित्तीय प्रगति २६ प्रतिशत भएको छ । अस्पतालको भवन निर्माण सुरु भएको १४ महिनामा ३० प्रतिशत काम भएको हो । यो अस्पतालको भवन प्रदेश सरकारले गौरवको आयोजना भित्र राखेको छ ।
भवन निर्माणको प्रगतिबारे आइतबार अस्पताल परिसरमा आयोजना गरिएको छलफल कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले भवन निर्माणले तीव्र गति लिएको र यही गतिअनुसार निर्माणको काम हुने समयमै सम्पन्न गरिने दाबी गरे । हाल भवन निर्माणका लागि ३ सय बढी जनशक्ति परिचालन गरेर तीव्र गतिमा काम भैरहेको उनले बताए । ठेक्का सम्झौता अनुसार ५ वर्षको अवधी २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम सक्नु पर्ने सम्झौता भएको छ ।
देशकै ठूलो र अग्लो १२ तले अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने गरी २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागि ठेक्काको सम्झौता गरेर निर्माण कम्पनीलाई दिएको थियो । ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनसँग ६ अर्ब १८ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ ।
प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा छुट्टयाएको बजेट पहिलो चार महिनामै सकिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२–०८३ मा भवन निर्माणका लागि १ अर्ब रूपैयाँ विनियोजन गरेको थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै सकिएपछि चालू वर्षका लागि बजेट अभाव भएको हो ।
सरकारको गौरवको आयोजना भनिए पनि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण कम्पनीले उधारोमै काम गर्नुपरेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर पोखरेलका अनुसार सरकारले विनियोजन गरेको १ अर्ब रूपैयाँ मध्ये ८५ करोड रूपैयाँ अघिल्लो वर्षको भुक्तानीमा सकिएको छ । बाँकी १५ करोड रूपैयाँ चालू वर्षमा भएको कामको भुक्तानी गरिएको थियो। कात्तिकसम्म सम्पन्न कामको अझै २४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी नै छ ।
भवनका लागि रकम अभाव भएपछि प्रदेश सरकारसँग चालू वर्षका लागि थप ८० करोड बजेटको माग गरिएको उनले जानकारी दिए । भवन निर्माण कम्पनीलाई पेश्की स्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहेपनि निर्माण कम्पनीले पेश्की स्वरूप १८ प्रतिशत रकम लगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले जानकारी दिए । उनका अनुसार आगामी असार मसान्तसम्म ५० प्रतिशत जति काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवन निर्माणमा प्रयोग भइरहेका वस्तु तथा कामको गुणस्तर अनुगमनका लागि काठमाडौँ विश्वविद्यालयको १६ जनाको प्राविधिक टोलीले अनुगमन गरिरहेको छ । भवनको डिजाइन र गुणस्तर सुपरिवेक्षणको जिम्मा ‘जी–टु–जी’ माध्यमबाट काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौँ युनिकन्सर्न कन्सल्टेन्सीलाई दिइएको छ । पूर्व पश्चिम मुख्य राजमार्गसँग जोडिएको ६ विघा १२ कट्ठा जमिनमा २०१६ सालमा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माणका लागि भवनहरू निर्माणको काम भैरहेको छ ।









प्रतिक्रिया दिनुहोस्