मतदाता नामावली दर्ता गराउन सास्ती



वीरेन्द्र जैसी । नेपालगन्ज ।

निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिकका लागि दिएको समय सकिन अब तीन दिन बाँकी छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कात्तिक ३० गतेभित्र मतदाता नामावली दर्ता गरिसक्नुपर्ने मिति नजिकिँदै जाँदा निर्वाचन कार्यालयहरूमा नागरिकहरूको भिड बढेको छ । यहीबेला निर्वाचन आयोगको सर्भर नचल्दा सेवाग्राहीहरूले सास्ती खेप्नुपरेको हो ।

बिहीबार नेपालगन्जस्थित जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेका सेवाग्राहीहरूले बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म सर्भर नचलेपछि सास्ती खेप्नुप¥यो । मतदाता नामावली दर्ताका लागि जिल्लाका विभिन्न स्थानबाट आएका नागरिकहरूले बायोमेट्रिक र फोटो खिचाउनका लागि दिनभरजसो लाइनमा बस्नुपरेको थियो । कार्यालयको गेटबाहिर सडकदेखि दुईवटा लाइनमा मानिसहरू उभिइरहेका थिए । ज्येष्ठ नागरिक र अशक्तहरूले अझ बढी सास्ती खेप्नुपरेको बताए ।

सेवाग्राहीहरूले बिहानैदेखि लाइनमा बस्नुपरेको थियो । तर त्यहाँ ज्येष्ठ नागरिक र अशक्तहरूका लागि अलग्गै लाइनको व्यवस्था थिएन । नेपालगन्ज वडा नम्बर ४ का ७३ वर्षीय नारायणबहादु्र पछाईले हुलमुलमा धक्कामुक्की खाएर कार्यकक्षमा पुग्दा कर्मचारीहरूले सर्भर नचलिरहेको बताएपछि दिक्दारी पोखिरहेका थिए । ‘एउटा वडाबाट अर्काे वडामा सार्न भरेर आएको । धक्कामुक्की गर्दै कार्यालयमा त पुगियो। तर काम हुँदैन भन्छन् । यो सास्ती कहिल्यै कम नहुने भयो,’ पछाईले मिसन टुडेसँग भने ।

विभिन्न स्थानबाट नेपालगन्ज आइपुगेका कतिपय सेवाग्राहीहरू सर्भर नचलेपछि नाम दर्ता नगराएरै कतिपय नागरिकहरू घरसमेत फर्केका थिए । साढे १ बजे सर्भर चलेपछि कार्यालयमा पुगेका सेवाग्राहीलाई साँझ साढे ७ बजेसम्म बसेर कर्मचारीहरूले सेवा दिएका थिए । कार्यालयका सूचना अधिकारी युवराज पन्तले साँझ मिसन टुडेसँग कुरा गर्दै आफूहरूले मतदाताहरूलाई नआत्तिन आग्रह गरेको र केही मतदाता फर्किए पनि धेरैजसोले नाम दर्ता गराएर गएको बताए । मतदाता नामावली दर्ता गर्न आएकाहरूमा अधिकांश युवा उमेर समूहका रहेका थिए ।

पञ्जीकरण विभागको डाटा निर्वाचन आयोगको सर्भरमा जोड्ने क्रममा सर्भर नचलेर देशभरका नागरिकहरूले बिहीबार सास्ती व्यहोर्नुपरेको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले केन्द्रबाटै सर्भरमा समस्या आएपछि सेवा ठप्प हुन पुगेको बताए । शाहीले नामावली दर्ता गर्ने समय घर्किँदै गर्दा एक्कासि सेवाग्राहीको सङ्ख्या पनि बढेको बताए । ‘हामी सबैको अन्तिम समयमा मात्रै तातिने बानी छ ।

त्यसैले एक महिनाअघि नै सूचना जारी गरेर आह्वान गरिएकोमा अहिले मात्रै नागरिकहरू दर्ता गर्न आएका छन् । तैपनि हामी यसलाई व्यवस्थापनको प्रयास गरिरहेका छौँ,’ शाहीले भने । कार्यालयले चारवटा कम्प्युटर राखेर नामावली दर्ताको सेवा दिइरहेको छ । उनले पछिल्लो एक महिनामा आठ हजारभन्दा बढी नागरिकहरूले मतदाता नामावलीमा थपिएका जानकारी दिएका छन् । यसअघि २०८१ चैतसम्मको तथ्यांकअनुसार बाँकेमा तीन लाख ३३ हजार नौ सय ५७ जना मतदाता रहेका थिए । जसमा एक लाख ६९ हजार आठ सय ४६ पुरुष र एक लाख ६४ हजार एक सय दुई जना महिला रहेका थिए ।

अब राष्ट्रिय परिचयपत्र भएकाले कार्यालय पुग्नु नपर्ने 

अब राष्ट्रिय परिचयपत्र भएकाहरूले मतदाता नामावली दर्ताका लागि बायोमेट्रिक गर्न निर्वाचन कार्यालयमै पुग्नु नपर्ने भएको छ । निर्वाचन आयोगलाई पञ्जीकरण विभागले नागरिकले राष्ट्रिय परिचयपत्रका लागि भरेको बायोमेट्रिक लगायतका विवरण उपलब्ध गराएपछि अब परिचयपत्र नम्बरका आधारमा आफँले अद्यावधिक गर्न सकिने भएको हो ।

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम समावेश गर्न सकिने भएसँगै निर्वाचन कार्यालयहरूमा भिड कम हुने अपेक्षा गरिएको छ । तर, अनलाइनमा नाम दर्ता गर्न नजान्ने नागरिकहरूले अहिले पनि एक सय रूपैयाँँ शुल्क तिरेरसमेत अनलाइन फारम भरिरहेका छन् ।
राष्ट्रिय परिचयपत्र भएकाले पनि अनलाइनबाट आवेदन भने दिनुपर्छ ।

त्यसका लागि निर्वाचन आयोगको वेबसाइटमा गई मतदाता नामावली प्रिरजिष्ट्रेशन र अद्यावधिकमा क्लिक गर्ने, त्यसपछि नयाँ दर्तामा क्लिक गर्ने र राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचयपत्रमा दर्ता गर्नको लागि माग गरिएको विवरण भरेर नाम दर्ता गर्न सकिन्छ । सम्बन्धित व्यक्तिले आवेदन दिएपश्चात् आवेदन नम्बर प्राप्त हुन्छ । उक्त आवेदन जिल्ला निर्वाचन कार्यालयले अनुमोदन गरेपछि मोबाइल वा इमेलमा मतदाता परिचयपत्र नम्बर प्राप्त हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार