रामप्रकाश विक । जुम्ला ।
जिल्लामा आगामी निर्वाचनको तयारी तीव्र पारिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले तयारीका काम तीव्र पारेको हो । जसमा फोटोसहितको मतदाता नामावली संकलनदेखि मतदानस्थल र मतदान केन्द्र निर्धारणसम्मका विषयमा छलफल सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख नारायणी चौलागाईंले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गरिएको मतदानस्थल तथा केन्द्र सिफारिस समितिका दुई बैठक सम्पन्न भएको बताइन् । ‘जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै तयारीका काम अघि बढाइएको छ,’ उनले भनिन्, ‘आगामी कात्तिक ३० गते तेस्रो बैठक बसेर मतदानस्थल र केन्द्रको टुंगो लगाइने तयारी छ ।’
उनका अनुसार गत असोज १० गतेदेखि हालसम्म ३५२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये २२१ पुरुष र १२१ महिला रहेका छन् । जिल्लाबाहिरका १६ जनाले पनि दर्ता गराएका छन् । जसमा १३ पुरुष र तीन महिला रहेका छन् । दर्ता प्रक्रिया बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । तर इन्टरनेट सेवा अवरुद्ध हुने समस्या र चिसो मौसमले कार्यमा कठिनाइ भएको निमित्त प्रमुख चौलागाईंले बताइन् ।
जिल्लामा निर्वाचन तालिकाअनुसार नै काम भइरहेका छन् । तर हिमाली जिल्ला जुम्लामा चैत महिनासम्म हिमपात हुने भएकाले फागुनमा निर्वाचन मिति प्रतिकूल हुने जनप्रतिनिधि र स्थानीयले बताएका छन् । चन्दननाथ नगरपालिका–१ का टंकशरण आचार्यले एकातिर फागुनमा हिउँले गाउँ पूरै ढाक्ने र अर्कोतर्फ रोजगारीको सिलसिलामा भारत र तराई झर्नेहरू चैततिर मात्रै फर्किने चलनले असर पार्ने बताए । जसकारण मत खसाउने दर घट्ने सम्भावना रहेको उनको भनाइ छ ।
हाल सिंजा क्षेत्रमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र रहेका छन् । यसपालि ५० प्रतिशतभन्दा कम मत खस्नसक्ने सम्भावना रहेको सरोकारवालाले अनुमान गरेका छन् । जिल्लामा हाल ८३ मतदानस्थल र १०८ मतदान केन्द्र तोकिएको छ । जसमा दुई अस्थायी केन्द्र निर्धारण गरिएको छ । अस्थायी केन्द्र जिल्ला कारागार र साल्ट ट्रेडिङमा तोकिएको हो । कूल मतदाता सङ्ख्या ६९ हजार ४५६ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मतदाता नामावली दर्ताका लागि दैनिक भिड बढ्दै गएको कार्यालयले जनाएको छ । नाम दर्ता गर्नका लागि कात्तिक ३० गतेसम्म समय खुला गरिएको छ । यसबारे सम्पन्न बैठकमा नेपाली काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेमकिपा लगायतका दलहरूको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले निर्वाचन कार्यालयले प्रस्तुत गरेको मतदाता र मतदान केन्द्रसम्बन्धी प्रस्तावमा सबै दल सहमत रहेको बताए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै पक्ष एकजुट भएका छन् । बैठकमा सहभागी जनप्रतिनिधिहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पूर्णसहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्