नेपालगन्ज ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सर्वपक्षीय सहमतिबिना निर्वाचन सम्भव नहुने बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारका पूर्वगृहमन्त्री एवम् गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले सर्वपक्षीय सहभागितासहितको सरकार बनाएमा मात्रै चुनावको वातावरण निर्माण हुने बताए ।
उनले अहिलेको सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएकोले अहिलेको सरकारले गराउने चुनावमा एमाले सहभागी नहुने पनि बताए । उनले निश्चित अवधिका लागि संसद् पुनःस्थापना गरी संविधानमा आवश्यक संशोधन गरेर एक पटकलाई संसद् बाहिरको व्यक्ति पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नसके अहिलको गतिरोधको हल हुने तर्क गरे ।
उनले अहिलेको प्रधानमन्त्रीले राजनीतिक दलको मुख्य नेतृत्वसँग संवादै गर्न नचाहने भनेकोले निर्वाचन हुने वातावरण बनाउने कुरा विश्वास गर्न नसकिने बताए । अधिकारीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग बनाएर अघि बढ्न एमालेलाई आपत्ति नरहेको भन्दै प्रतिशोध साँधेर सही ठाउँमा पुग्न नसकिने पनि बताए । भदौ २४ गते भएको विध्वंश नियोजित भएको बताउँदै उनले आपराधिक गतिविधिमा संलग्नहरूमाथि कडा कारबाही हुनुपर्ने माग पनि गरे ।









प्रतिक्रिया दिनुहोस्