
नेपालगन्ज ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँके भाडाको भवनमा सरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ स्थित विद्युत वितरण केन्द्रको कार्यालय रहेको भवन नजिकै रहेको निजी भवनमा सरेको हो । जेन जी प्रदर्शनका क्रममा भेरी अस्पतालअघि रहेको सरकारी भवनमा आगजनीपछि पूरै भवन नै प्रयोग गर्न नमिल्ने गरी जलेको छ ।
कार्यालय भवन जलेपछि पुनः प्रयोग गर्न नमिल्नेगरी पूर्णरूपले जलेपछि नयाँ भाडाको भवनमा सर्नुपरेको कार्यालय प्रमुख सविनसिंह चौधरीले जानकारी दिए । उक्त भवनको भाडा मासिक करिब ७५ हजार रहेको पनि चौधरीले जानकारी दिए । अहिले पुरानो भवनबाट जल्नबाट बचेका कागजपत्रहरू उक्त भवनमा सारिसकिएको र नयाँ भवनमा व्यवस्थापनको काम भइरहेको उनले बताए ।
केहीदिन अझै कार्यालय व्यवस्थापन र साधनस्रोत जोरजामका लागि लाग्ने र त्यसपछि कार्यालयका केही कामहरू सुचारु गर्न सकिने उनले बताए । उनका अनुसार अहिले टेबल कुर्सी र कम्प्युटरहरू व्यवस्थापनको काम भइरहेको छ । टेबलकुर्सी, कम्प्युटरलगायतका साधनका लागि विभिन्न स्थानीय तह र संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्