बैकुण्ठधामको प्रारम्भिक संरचना निर्माणको काम सुरु हुँदै



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदी तट सिधनियाँघाटमा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने उद्देश्यले अघि बढाइएको बैकुण्ठधाम सिधनियाँघाटमा निर्माण कार्य सुरु गरिने भएको छ । पहिलो चरणमा नदीको किनारादेखि २५ मिटर नदीभित्र घाट निर्माणक लागि पर्खाल लगाउने काम सुरु हुने भएको हो । संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगन्जले २०८२ असारमा न्यु नेश्नल विल्डर्स दोलखासँग निर्माणका लागि सम्झौता गराई काम सुरु हुन लागेको जानकारी दिएको छ ।

कार्यालयका अनुसार २०८३ साल असार मसान्तभित्र निर्माण कार्य सक्ने लक्ष्यसहित भ्याटसहित एक करोड ६५ लाख ९० हजार रूपैयाँँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनी न्यु नेश्नल विल्डर्सका साइट सुपरभाइजर गोविन्द सिवाकोटीका अनुसार अहिले नदीमा पानीको सतह धेरै रहेकोले काम सुरु गर्न नसकिएको हो । अब मंसिरको पहिलो वा दोस्रो हप्ताबाट निर्माणको काम सुरु गर्ने तयारी गरिएको सिवाकोटीले जानकारी दिए ।

बैकुण्ठधाम सिधनियाँघाटका सचिव श्रीराम सिग्देलले निर्माण कार्य सुरु हुनुअघि सिधनियाँघाटको पुल निर्माणमा संलग्न निकाय तथा निर्माण व्यवसायी, जनताको तटबन्ध कार्यालय, खानेपानी संस्थान, सिक्टा सिँचाइ आयोजना लगायत सम्बद्ध निकायसहितको समन्वय बैठक पनि हुन लागेको जानकारी दिए । समन्वय बैठकबाट सबै निकायबाट भइरहेका नदी तटमा आधारित निर्माण कार्यमा कसरी एकरूपता र समन्वय गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्नु हुने उनले बताए ।

बैकुण्ठधाम सिधनियाँघाटका लागि दुई करोडको बजेट सुनिश्चित भएपछि उक्त बजेटमा आधारित निर्माणको ठेक्का सम्झौता भएको हो । चालू आर्थिक वर्षमा पनि तीन करोड रूपैयाँँ बजेट छुट्याइएकोमा पछिल्लो राजनीतिक परिवर्तनपछि बनेको सरकारले उक्त बजेट रोकिदिएको सिग्देलले बताए । अहिले उक्त बजेटको पनि निरन्तरताका लागि पहल भइरहको उनको दावी छ ।

बैकुण्ठधाममा अग्निदाहस्थल, विद्युतीय शवदाह गृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना निर्माण गर्ने उक्त योजनाको परिकल्पना गरिएपनि पहिलो चरणमा व्यवस्थित घाट निर्माण गरिने गरी सम्झौता गरिएको छ ।

बैकुण्ठधामकै लागि कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जमा संरचना निर्माणस्थलको लागि जमिन खरिद प्रयोजनार्थ महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट संकलित रकममध्ये दुई करोड २८ लाख सात हजार बढी रकम बचत भएको जानकारी दिइएको थियो । जसमध्ये करिब एक करोड १० लाख ८० हजार रूपैयाँँबाट एक बिघा ६ कठ्ठा १६ धुर जगा खरिद गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार