मिथ्या सूचना र भ्रामक समाचारबारे सार्वजनिक सुनुवाइ



वीरेन्द्रनगर ।

मिथ्या सूचना र भ्रामक समाचार सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । युएनडीपी संसद सहयोग परियोजनाको सहयोग र श्री त्रिपुरेश्वर माध्यमिक विद्यालयसँगको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सञ्चारकर्मी, शिक्षक र विद्यार्थी सहभागिता रहेको थियो । मिथ्या सूचना र भ्रामक समाचार सम्बन्धी संसदीय मामिला पत्रकार समाजका अध्यक्ष देव रानाले प्रस्तुतिकरण गरेका थिए ।

डिजिटल युगमा सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिने मिथ्या सूचना र भ्रामक समाचारले लोकतान्त्रिक प्रणाली, जनमत र सामाजिक विश्वासमा पर्ने नकारात्मक प्रभावबारे उनले चर्चा गरे । यस्ता सुनुवाइ कार्यक्रममार्फत नागरिक स्तरमै मिडिया साक्षरता बढाउने र सूचना स्रोतप्रति उत्तरदायित्वपूर्ण व्यवहार विकास गर्न सहयोग पुग्ने अध्यक्ष रानाले बताए ।

सहभागी विद्यार्थी यमुना आचार्यले मिथ्या सूचनाका असर, तथ्य–जाँचका तरिका र जिम्मेवार सञ्चार प्रयोगका उपायबारे सिकाइ भएको बताइन्। विद्यालयका सहायक प्रधानाध्यापक टेक नारायण उपाध्यायले विद्यालयस्तरमा यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए । यस्ता क्रियाकलापले विद्यार्थीहरूमा समालोचनात्मक सोच र सत्य जानकारी पहिचान गर्ने क्षमता विकास हुने उनले विश्वास व्यक्त गरे।

सहभागिहरूलाई मिथ्या सूचना पहिचान गर्ने तरिका र विश्वसनीय स्रोत छनोटका विषयमा प्रशिक्षणात्मक सत्र पनि प्रदान गरिएको थियो । साथै सोही अवसरमा कर्णाली प्रदेशसभाका कानुन अधिकृत मदन खड्काले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको काम कारबाहीका विषयमा जानकारी दिएका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरूको भूमिका र प्रदेश सभामा हुने गतिविधिका विषयमा पनि उनले विद्यार्थीलाई जानकारी दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार