कोहलपुर (बाँके) ।
देशको विद्यमान विषम् परिस्थितिमा समुदाय–प्रहरी साझेदारी अत्यावश्यक रहेकोमा जोड दिइएको छ । सुरक्षा अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै समुदाय–प्रहरी साझेदारीमा जोड दिइएको हो । मंगलबार वडा प्रहरी कार्यालय नेपालगन्जमा आयोजित सुझाव संकलन कार्यक्रमका क्रममा सुरक्षा प्रत्याभूतिमा जोड दिइएको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारहरूलाई सूचना प्रवाहमा सहजता प्रदान गर्नुका साथै कार्यालयको भावी योजना र प्राथमिकताका विषयमा जिज्ञासा राखेका थिए ।
उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषी चौलागाईँले कुनैपनि घटना हुँदा समयमै सूचना नपाउने समस्या रहेको भन्दै सत्यतथ्य सूचना प्रवाहमा सुरक्षा निकायबाट ढिलाई हुन नहुनेमा जोड दिए । सुरक्षा निकायसँग सूचनामा साझेदारी गर्न तत्पर रहेको भन्दै समन्वय आवश्यक रहेकोमा उनले जोड दिएका थिए । उनका अनुसार पत्रकारका नाममा कतै केही त्यस्तो धम्की दिने गरेको पाइएमा नेपाल पत्रकार महासंघमा जानकारी गराउनुपर्छ । ‘पत्रकार र प्रहरीबीच समन्वय हुनुपर्छ । आपसी समन्वयमा सत्यतथ्य सूचनामा प्रवाह अहिलेको आवश्यकता हो ।’ अध्यक्ष चौलागाईँले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल घटेको आफूहरूले अनुभूती गरेको गरेको बताएका थिए । उनले भने, ‘प्रहरीप्रती जनताको अविश्वास घट्दो छ । त्यसमा सुरक्षा निकायले समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न आवश्यक छ । त्यसको पुलको रूपमा मिडिया जगत काम गर्न तयार छ ।’ उनले भने । सूचना प्रवाह र सम्बन्ध स्थापित गर्ने सवालमा सुरक्षा निकाय सञ्चारमैत्री हुनुपर्ने उनको जोड थियो ।
‘प्रहरीले पत्रकारलाई लाइन दिने भन्ने कुरा सुन्नमा आउँछ, त्यो गलत हो, सही पत्रकारले त्यस्तो गर्दैन, त्यस्तो कार्य गर्ने व्यक्ति पत्रकार हुन सक्दैन,’ अध्यक्ष गिरीले भने । पत्रकारहरूका प्रश्न र जिज्ञासापछि बोल्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले स्मार्ट प्रहरी अहिलेको आवश्यकता रहेको भन्दै सीमा सुरक्षा, लागूऔषधविरुद्ध सचेतना अभियान र गुण्डागर्दी अन्त्य प्राथमिकतामा रहेको बताएका थिए ।
केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँबाट वडा प्रहरी प्रमुखमा सरुवा भएर आएका खड्काले पत्रकारहरूले विभिन्न सुझाव दिएको भन्दै महत्वपूर्ण सुझावहरूलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । वडा प्रहरी कार्यालय नेपालगन्जले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो वडा बाँके जिल्लाकै मुटु हो । यस क्षेत्र सम्वेदनशीलसमेत रहेको छ । सोही अनुसार योजनाबद्ध रूपमा हामी परिणाम निस्कने गरी काम गर्नेछौँ ।’
हिजोका कमीकमजोरी सच्याउँदै, त्यसबाट पाठ सिक्दै सरोकारवाला निकायहरूसँग हातमालो गर्दै अघि बढ्ने उनले बताए । सामाजिक विकृती अन्त्य र लागूऔषधसम्बन्धी समस्या न्यूनीकरण आफ्नो प्राथमिकता भएको उनको भनाइ छ । साइबर अपराधबारे सचेतना, विभिन्न विभिन्न नागरिकलाई सचेतना फैलाउने कार्यक्रम गर्नेछौँ । सचेतनामूलक कार्यक्रमलाई परिणाममुखी बनाउने उनको भनाइ रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्