नेपालगन्ज ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले आफूले वर्तमान सरकारको लक्ष्य र निर्देशनबमोजिम शान्ति सुरक्षा कायम गर्न इमानदार प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यभार सम्हालेको भोलिपल्ट मंगलबार पत्रकारहरूसँग ‘परिचयात्मक कार्यक्रम’ गरेका तामाङले आफूले धेरै बाचा गर्नेभन्दा पनि कानुनले निर्दिष्ट गरेका काम र सरकारको निर्देशन बमोजिमको भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताएका हुन् ।
उनले जेनजी आन्दोलनपछि भएको आगजनी र क्षतिका कारण रोकिएको जिला प्रशासन कार्यालय बाँकेबाट प्रवाह हुने राहदानी सेवा बिहीबारदेखि सुचारु गर्ने पर्यत्न गरिरहेको पनि सो क्रममा बताएका थिए । तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा पनि अहिले आंशिक रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आगजनी तथा तोडफोड गरिएको कार्यालय भवनको मर्मत–सम्भार सेवालाई पूर्णरूपले सञ्चालनमा ल्याउने प्रयास गरिने बताए ।
प्रजिअ तामाङले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण लगायत अन्य कुराहरूको समन्वय र सहजीकरण गर्ने कार्यमा सरोकारवालाहरूसँग सहकार्य गरेर कार्य सम्पादन गर्ने पनि बताएका थिए । सञ्चारकर्मीहरूसँग पनि उनले जिल्लाको संवेदनशीलतालाई ख्याल गरेर समाचार सम्प्रेष्णको अपेक्षा गरेको बताए । यद्धपि उनले प्रशासनका काम कारबाहीमा आलोचना र खबरदारी गर्न पनि आग्रह गरे । यसका साथै व्यक्तिगतरूपमा लान्छित गर्ने प्रवृत्तिका विषयहरू आएमा पुनः पुष्टि गरिदिन पनि उनले आग्रह गरे ।
पाँचथर स्थायी ठेगाना भएका प्रजिअ तामाङ कपिलवस्तुबाट बाँके सरुवा भएर आएका हुन् । उनले प्रमुख जिल्ला अधिकारीको रूपमा बाँके आफ्नो छैटौँ जिल्ला भएको पनि जानकारी दिए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कर्मचारी प्रशासनसँग पत्रकारहरूले छिटो–छरितो सूचना प्रवाहको अपेक्षा गर्ने भएको त्यसक्रममा सहज वातावरण र मिडियामैत्री व्यवहारको अपेक्षा राखेको पनि अवगत गराएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीसमेत सहभागी भेटघाटमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार रुद्र सुवेदी लगायतले विगतमा भोगेका समस्या अवगत गराउनुका साथै शान्तिसुरक्षाका विषयमा आफ्ना सुझावहरू राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्