‘प्रहरी बन्ने तलबका लागि मात्रै होइन’



सल्यान घर भइ हाल नेपालगन्जमा बस्दै आएकी खिमा डिसीले अब जागिर खाँदा कहीँ पनि भनसुन लाग्ने पद्धति हट्ने आशा गरेको बताइन् । ‘भन्न त मानिसहरूले सोर्सफोर्स लाग्छ, यो हुन्छ, त्यो हुन्छ, अनेक कुरा भन्छन् । होला पनि । अहिलेसम्म मैले चाहीँ त्यस्तो थाहा पाएको छैन । यदि त्यस्तो छ भने अब रोकिन्छ होला,’ खिमाले भनिन् ।

नेपालगन्ज ।

सल्यानको कालीमाटी गाउँपालिका– ५ का २१ वर्षीय मनबहादुर आलेले कक्षा १२ पास गरिसकेपछि उनको परिवारले त्यसभन्दा माथिल्लो तहमा पढाउन सक्ने स्थिति रहेन । उनी रोजगारीका लागि भारत या अन्य कुनै देशमा विदेश जाने विकल्पबारे सोचिरहेका थिए । त्यहीबेला उनका साथीहरूले प्रहरीमा आवेदन खुल्ने र त्यसको लागि तयारी गर्न सल्लाह दिए । त्यसपछि उनी र उनका साथीहरू प्रहरी जवानका लागि आवश्यक शारीरिक तन्दुरुस्तीका लागि कसरत लगायतको तयारीमा व्यस्त छन् ।

प्रहरी जवानका लागि खुलेको आवेदन बुझाउन कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा पुगेका आलेले आफूजस्ता युवाहरूका लागि प्रहरीको जागिर रोजगारीको एक उपयुक्त अवसर भएको बताए । उनले आफूलाई प्रहरीको जागिर उपलब्ध विकल्पमध्ये राम्रो लागेर आवेदन दिन आएको बताए । मनबहादुरले भने, ‘देशमा जागिर पाउन एकदमै गाह्रो छ । विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा देशको सेवा गर्न पाइने प्रहरी बन्नु त धेरै राम्रो हो नि ।’

प्रहरीका लागि आवेदन दिन आएकी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ की ललिशानाथ योगीलाई भने प्रहरीको जागिर सानै उमेरदेखि मन पथ्र्याे । उनका काकाहरू नेपाली सेनामा कार्यरत रहेकोले उनीहरूको राम्रो छवी आफ्नो मनस्थितिमा परेको उनले बताइन् । तर, कहिलेकाहीँ प्रहरीमाथि हुने आक्रमण र प्रहरीले जनतामाथि गर्ने व्यवहारले भने खिन्न लाग्ने गरेको उनले बताइन् ।

त्यहीबेला उनीसँगै आवेदन फाराम भर्न आएकी मुगुकी अस्मिता महतराले भनिन्, ‘अँ है टाइम टाइममा प्रहरीमाथि नै कुटपिट किन हुन्छ होला?’ उनीहरूले जे बाहनामा भएपनि प्रहरीमाथि कुटपिट हुनु ठिक नभएको बताए । तर प्रहरीले पनि गलत आचरण सुधार गर्नुपर्ने बताए । ‘अब प्रहरी पनि सुध्रनुपर्छ । नभए फेरि आन्दोलन हुन्छ । गल्ती गर्ने प्रहरीको रिस निर्दाेषहरूमाथि पोखिन बेर हुन्न,’ अस्मिताले भनिन् ।

प्रहरी जवानमा भर्ती हुन आवेदन दिन आएका जेनजी उमेर समूहका युवायुवतीहरूले पछिल्लोपटक देशमा भएको आन्दोलन सही भएको बताए । सल्यानका १९ निर्मल कवरले देशमा जताततै भ्रष्टाचार रहेकोले त्यसलाई रोक्नुपर्छ भनेर आन्दोलन भएकोले सही भएको तर्क गरे । तर युवाहरूमाथि गोली चलाउनु र आगजनी गर्नु गलत भएको उनको बुझाइ छ ।

‘अब भ्रष्टाचार गर्नेहरूलाई कडा सजाय हुनुपर्छ । हामीहरूले पनि सोर्सफोर्स लगाएर जागिर खानेभन्दा पनि आफ्नो मिहिनतले जागिर खानुपर्छ,’ निर्मलले भने, ‘प्रहरी त गरिब र कमजोर मान्छेको पक्षमा हुनुपर्छ । नेताले जे भन्यो त्यो मान्नुभएन । कमजोर मान्छे छ भने उसको मुद्दालाई भ्यालु नदिने यस्तो गर्नुभएन । अब हामी प्रहरी भयौँ भने पनि त्यस्तो गर्नुहुन्न जस्तो लाग्छ ।’

प्रहरीमा पनि जागिर खानका लागि भनसुन गर्नुपर्ने भन्ने सुनेको आवेदकहरूले बताए । तर, अब जेनजी आन्दोलनपछि पनि त्यस्तै अवस्था नहुने आशा गरेको उनीहरूको भनाइ थियो । सल्यान घर भइ हाल नेपालगन्जमा बस्दै आएकी खिमा डिसीले अब जागिर खाँदा कहीँ पनि भनसुन लाग्ने पद्धति हट्ने आशा गरेको बताइन् । ‘भन्न त मानिसहरूले सोर्सफोर्स लाग्छ, यो हुन्छ, त्यो हुन्छ, अनेक कुरा भन्छन् । होला पनि ।अहिलेसम्म मैले चाहीँ त्यस्तो थाहा पाएको छैन । यदि त्यस्तो छ भने अब रोकिन्छ होला,’ खिमाले भनिन् ।

अहिले प्रहरीको जागिर युवाहरूको रोजाइकै जागिर भएपनि तलब कम भएको सुनिने गरेको प्रहरी बन्न आवेदन दिन पुगेका युवाहरूले बताए ।उनीहरूले आवश्यकतालाई ध्यानमा राखेर समयानुकूल तलब पनि बढाउनुपर्ने बताए । जागिर खानेबित्तिकै धेरै तलब दिनुपर्छ भन्ने त होइन ।तर धेरै लामो सेवा गरिसकेपछि तलब पनि त्यहीअनुसार बढ्दै जानुपर्छ जस्तो लाग्छ,’ मनबहादुरले थपे, ‘तर, विदेशमा गएर ४०–५० हजार कमाउनुभन्दा देशको सेवा गरेर कमाएको २५–३० हजार पनि धेरै हो जस्तो लाग्छ ।’ खिमाले पनि भनिन्, ‘यो त जागिर खाने कुरा मात्रै होइन नि, देशको सेवा गर्ने पनि हो । तलबसँगमात्रै यसलाई दाँज्नुहुँदैन ।’

तर युवाहरू प्रहरीको छवी आम मानिसहरूमा राम्रो नभएकोमा भने चिन्तित सुुनिए । उनीहरूले पटक पटक हुने आन्दोलनमा प्रहरीमाथि नै आक्रमण हुँदा कतिपय युवाहरू प्रहरीको जागिरप्रति निराश रहेको पनि बताए । बहिनीलाई ल्याएर फाराम भरिदिन आएका बर्दियाका आशराम थारूले गाउँमा कतिपय प्रहरी बन्न योग्य युवाहरूले फारम नभर्ने भनेको बताए ।

जे होस्, प्रहरी बन्नका लागि आवेदन दिन आएका जेनजी युवाहरू कुराकानीका क्रममा जेनजी विद्रोहपछि पहिलेभन्दा राम्रो हुने आशामा रहेका उनीहरूको कुराबाट आशावादी रहेको बताए । उनीहरूमध्ये धेरैको भनाइमा आशा झल्किन्थ्यो कि अब देशमा भ्रष्टाचार कम हुनेछ, रोजगारी पाउन सजिलो हुनेछ, जागिरका लागि भनसुन चल्ने छैन । नेपाल प्रहरीले यसवर्ष एक हजार पाँच सय ५३ जना प्रहरी जवान, ११ जना हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी माग गरेर विज्ञापनको सूचना जारी गरेको छ । उक्त विज्ञापनअनुसार कात्तिक २७ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार