
कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले लोकसेवा आयोगको कक्षा सञ्चालनका लागि दरखास्त आह्वान गरेको छ । गाउँपालिकाद्वारा सञ्चालन गरिने तयारी कक्षाका लागि योग्यता पुगेका इच्छुक गाउँपालिकावासीहरूलाई दरखास्त दिन सूचना जारी गरेको हो । सोका लागि गाउँपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालनका लागि दरखास्त संकलन सम्बन्धि सूचना प्रकाशितसमेत गरेको छ ।
सूचना अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सकिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लोकसेवा आयोगद्वारा लिने चौथो र पाँचौ तहको तयारी कक्षा निःशुल्क रूपमा सञ्चालन हुन गइरहेको छ ।
‘योग्यता पुगेका यस गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका इच्छुक व्यक्तिहरूले दरखास्त दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र गाउँपालिका आएर दरखास्त दिनुपर्नेछ,’ गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ । आगामी मंसिर १ गतेसम्म दरखास्त दिन सकिने प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए ।
कक्षा तयारीका लागि गाउँपालिकाभित्रका महिला, अपांगता भएका व्यक्ति, दलित जनजाति, आर्थिक रूपमा विपन्न लगायतका वर्गलाई प्राथमिकता दिइनेछ उनको भनाइ छ । ‘यो गाउँपालिकाको नयाँ कार्यक्रम हो । सरकारी सेवा प्रवेशका लागि सुनौलो अवसर हो । यसको भरपुर फाइदा लिनको लागि म सम्पूर्णलाई आग्रह गर्दछु,’ उनी भन्छन् । दरखास्त दिनको लागि परिचय खुल्ने विभिन्न कागजात आवश्यक हुने उनले बताएका छन् ।
नेपाली नागरिकताको प्रमाणपत्र ‐पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने), शैक्षिक योग्यताको प्रमाणपत्र ‐चौथो तहको लागि एसईई वा सो सरह एवम् पाँचौ तहको लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको) हुनुपर्ने र राप्ती सोनारी गाउँपालिकाको स्थायी बसोबास गरिरहेको नागरिक हुनुपर्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्