‘फिफा फुटबल फर स्कुल्स’को नेपालगन्जमा शुभारम्भ



नेपालगन्ज ।

विश्व फुटबलको नियामक संस्था फिफाले सञ्चालन गरिरहेको ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको नेपालगन्जमा पनि शुभारम्भ गरिएको छ। फिफाले चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल खेल र खेलमार्फत जीवन कौशल, नेतृत्व, अनुशासन, सम्मान र समावेशिता सिकाउने उद्देश्यले सञ्चालन गरिरहेको उक्त अभियानको नेपालगन्ज रंगशालामा एक कार्यक्रम आयोजना गरी शुभारम्भ गरिएको हो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ्गले एउटा विद्यालयलाई नमुनाका रूपमा फुटबल किटहरू उपलब्ध गराएर शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेम्बाङ्गले अभियानअन्तर्गत देशका एक हजार ७२ वटा विद्यालयलाई फुटबल तथा खेल सामग्रीका साथै फुटबल खेलको अभ्यासका लागि सहजीकरण गर्ने लक्ष्य राखिएको बताए ।

उनले सबै विद्यालयलाई गरेर ३२ हजार ६ सय ४० वटा फुटबलहरू वितरण गर्न लागिएको जानकारी दिएका छन् । बाँके जिल्लाका १५ वटा विद्यालयलाई फुटलब खेल सामग्री प्रदान गरिने पनि उनले जानकारी दिए । कार्यक्रममा बोल्दै एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले ‘फिफा फुटबल फर स्कुल्स’ अभियानले आफूहरूले ग्रासरुटबाटै फुटबल खेलाडी उत्पादन गर्न गरिरहेको पर्यत्नमा ठूलो टेवा पु¥याउने बताए ।

अहिले नेपालगन्ज रंगशालामा सञ्चालन भइरहेको ग्रासरुट फुटबल प्रशिक्षणलाई बाँकेका कम्तीमा पाँच स्थानमा विस्तार गर्ने र कम्तीमा दुई हजार पाँच सय बालबालिकालाई एकैपटक प्रशिक्षण दिने योजना रहेको उनले बताए । अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले उपमहानगरपालिकाले फुटबल खेलको विकासका लागि मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको र अन्य गतिविधिहरूमा पनि बजेट छुट्याउँदै आएको बताउँदै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार