अझै भेटिएन गुरुवागाउँमा मान्छे खाने बाघ



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिका– ९ गुरुवागाउँका इन्द्रबहादुर खत्रीको गत कात्तिक ८ गते बाघको आक्रमणबाट मृत्यु भयो । रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दिउँसो घाँस काट्न जंगलमा गएका उनी राती अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए । प्रहरीसहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा भोलिपल्ट बिहान सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा खत्रीको शव छेदविच्छेद अवस्थामा फेला प¥यो ।

घाँस काटेर राखेको डोको र चप्पल एक स्थानमा, शरीर, टाउको तथा खट्टा छुट्टिएको अवस्थामा अलग अलग स्थानमा खत्रीको शव भेटियो ।शरीर तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले खत्रीको मृत्यु बाघकै आक्रमणबाट भएको हुनसक्ने आशंका बाँके राष्ट्रिय निकुञ्जले गरेको छ।
बाघकै आक्रमणबाट उनको मृत्यु भएको दाबी गरिएको छ । तर घटना घटेको १० दिन बितिसक्दासमेत उक्त बाघ फेला परेको छैन । बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि यतिबेला गुरुवागाउँवासी त्रसित छन् ।

यता बाँके निकुञ्जले बाघ नियन्त्रणको लागि प्रयास जारी राखेको जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीका अनुसार प्रविधिको प्रयोगका साथै दैनिक मानवीय जनशक्तिसमेत खटाएर बाघ नियन्त्रणको प्रयास भइरहेको छ । स्थानीयवासीहरूलाई थप जोखिम नहोस् र सुरक्षाको प्रत्याभूति होस् भन्ने उद्देश्यले निकुञ्ज गम्भीररूपमा लागिपरेको उनले बताए । बाघ नियन्त्रणको लागि घटना भएको क्षेत्रमा ५ सय देखि १ किलोमिटर क्षेत्रको फरकमा ९ वटा क्यामरा जडान गरिएको छ । उक्त क्यामरा घटना भएकै दिन जडान गरिएको थियो ।

यसैगरी निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै तीन वटा हात्तीसहित बाघ खोजीकार्य जारी रहेको सूचना अधिकारी पंगेनीको भनाइ छ ।तीनवटा हात्तीसहित दैनिक १५ जनाले दैनिक ड्युटी गरिरहेको उनले बताए । प्रत्येक हात्तीमा माउतेसहित थप जनशक्तिसमेत खटाइएको निकुञ्जले जनाएको छ । ‘बाघ खोज्नको लागि निकुञ्जले कुनै कसर बाँकी राखेको छैन । हामीले सम्पूर्णरूपमा प्रयास जारी राखेका छौँ । अहिलेसम्म बाघ क्यामरामा देखिएको छैन । भौतिकरूपमा खोजीमा निस्किँदासमेत कुनै संकेत फेला परेको छैन ।

जतिसक्दो चाँडो बाघलाई पक्रनको लागि प्रयास गरिरहेका छौँ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै सूचना अधिकारी पंगेनीले भने । यस्तै आगामी दिनमा बाघका कारण हुनसक्ने जोखिम न्यूनीकरण र मध्यवर्ती क्षेत्रका नागरिकले अपनाउनुपर्ने सावधानीका विषयमा समेत स्थानीय र सरोकारवाला निकायहरूसँग छलफल गरिएको उनले बताए । छलफलमा दुवै पक्षबीच विद्यमान समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्ने विषयमा सगँसँगै अघि बढ्ने सहमति भएको समेत उनले बताए ।

उनले भने, ‘हामी मानवीय क्षति नहोस् भन्नेमा गम्भीर छौँ । सोहीअनुसार प्रयाससमेत गरिरहेका छौँ । वन क्षेत्र भएकोले उच्च सावधानी अपनाउनुपर्छ । अकस्मात यस्ता घटना हुने भएकोले कसरी सुरक्षित हुन सकिन्छ । त्यस विषयमा दुवै पक्ष गम्भीर हुने विषयमा व्यापकरूपमा छलफल भएको छ ।’ निकुञ्जले पीडित परिवारलाई राहत दिने प्रक्रियासमेत अन्तिम चरणमा पु¥याएको उनले बताए । हाम्रो कार्यविधिअनुसार पीडित परिवारलाई दश लाख राहत पाउने प्रावधान छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ । केही दिनमा पीडितले राहत पाउने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार