सगरमाथा बन्यो नेपालगन्ज नेशनल स्विमिङको च्याम्पियन



नेपालगन्ज ।

दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ मा उत्कृष्ट अंक हासिल गर्दै सगरमाथा स्विमिङ क्लब ललितपुर च्याम्पियन बनेको छ । प्रतियोगितामा सहभागी विभिन्न ११ वटा टिममध्ये सबैभन्दा धेरै अंकसहित सगरमाथाले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भएको हो।

च्याम्पियन बनेको सगरमाथाले दुई सय ७२ अंक हासिल गर्दा दोस्रो स्थानमा रहेको जेम्स स्कुलले एक सय ३५ र तेस्रो स्थानमा रहेको सिखा एकेडेमी स्कुल कोहलपुरले ५२ अंक प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा सहभागी सगरमाथाका अरेक कर्माचार्यले ७ वटा विधामा प्रतिस्पर्धा गरेकोमा ७ वटैमा स्वर्णपदक हासिल गरेका छन् ।

छात्रातर्फ रैजा अवालेले पाँचवटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरेकी छन् । प्रतियोगितामा सहभागी लिटिल एन्जल्स स्कुलले ४६ अंक प्राप्त गरेको छ भने आदर्श माध्यमिक विद्यालयले ३५, कोशी प्रदेशले २०, युनिग्लोब स्कुलले ११, स्प्रिङ डेल एकेडेमीले १० अंक प्राप्त गरेको छ । यस्तै, राज स्कुलले ९, आयोजक नेपालगन्ज स्विमिङ क्लबले ८ र बागेश्वरी एकेडेमीले चार अंक प्राप्त गरेको छ ।

प्रतियोगितामा देशभरीका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार