चिसो बढेपछि लिमी फर्काइए चौँरी गाई



हुम्ला ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका बस्तीमा चौँरी गाई फर्काइएका छन् । उच्च पाटनमा ६ महिनासम्म पालनका लागि लगिएका चाँैरी गाई चिसो बढेपछि गाउँ ल्याइएको हो । गत वैशाख अन्तिम साता लिमीका बस्तीबाट तुम्लिङ र ताक्ची हुँदै लाप्चा क्षेत्रमा सारिएका चौरी गाईहरूलाई उच्च पाटन क्षेत्रमा भारी हिमपात भएपछि बस्तीमा फिर्ता ल्याइएको छ ।

लिमीको हल्जी गाउँका स्थानीय कोनुर्वु तामाङका अनुसार लाप्चा क्षेत्रको पाटनमा हिमपातपछि चरन क्षेत्रमा हिउँ जमेपछि चौँरी गाईसहित अन्य पशुवस्तुलाई पनि बस्तीमै गाउँ ल्याउनु परेको हो । चौँरी गाईसँगै गोठालाहरू पनि ६ महिनापछि घर फर्केका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार अन्नबाली भित्र्याइसकेपछि चौँरी गाईलाई ‘उदाउनी खान’ अर्थात् खेतबारीमा छोड्न थालिएको छ ।

चौँरी गाई र अन्य पशुवस्तु गाउँमा आइपुगेपछि गाउँ रमाइलो हुन थालेको उनले बताए । ‘लिमीका तीन गाउँमध्ये तील र हल्जीमा चाँैरी गाई ल्याइएको छ । जाङ गाउँका तीन घरधुरीका बासिन्दा एक हप्ताभित्र काठमाडौँ फर्किने भएकाले उनीहरूले आफ्ना चौँरी गाई हल्जी गाउँका आफन्तको जिम्मा लगाएका छन्,’ उनले भने, ‘गोठालाहरूले चौँरी गाईसँगै घ्यू, छुर्पी, नौनी, थुत (दहीबाट बन्ने परिकार) र चीजजस्ता दुग्धजन्य उत्पादन पनि ल्याएका छन् ।

अहिले लिमीमा चौँरी गाईको घ्यू र छुर्पी पनि बिक्री हुन थालेको छ ।’ बस्तीमा आइपुगेका चौँरी गाईलाई अब हिउँदभर गाउँमै राख्ने स्थानीयले बताएका छन् । चौँरीलाई आगामी वैशाख अन्तिम साता फेरि पालनका लागि उच्च पाटनतर्फ लिइने छ । लिमीमा मात्रै हाल करिब २०० चाँैरी गाई पालन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार