बाँके बर्दियामा वर्षाले धान बालीमा सामान्य क्षति



नेपालगन्ज ।

पछिल्ला दुई दिनमा परेको पानीले बर्दियाको ठाकुरबाबा नगरपालिकामा करिब पाँचदेखि १० प्रतिशतसम्म धानबालीमा क्षति भएको गाउँपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक वीरेन्द्र रावतले बताए । मोटा धान सबै भित्र्याइसकेको र केही मसिनो धान काटेर सुकाउन राखेको अवस्थामा पानीले भिजाएको उनले बताए । ‘हामीले खेतमै पुगेर अनौपचारिक रूपमा बुझ्दा हिजो अस्तिकै वर्षाले १० प्रतिशत धान भिजाएको देखिन्छ । थप बुझ्दैछौँ,’ रावतले भने ।

बर्दियाकै बढैयाताल गाउँपालिकाका कृषि शाखाका अधिकृत दीपेन्द्र श्रीवास्तवका अनुसार यसवर्ष सबै गरेर करिब २५ प्रतिशत धान बाली क्षति भएको अनुमान गरिएको छ । कूल क्षतिमध्ये करिब ५ प्रतिशत दुई दिनको वर्षाले भिजाएको अनुमान गरिएको छ । बाँकेका स्थानीय तहका कृषि शाखाका कर्मचारीहरूले पनि पछिल्लो वर्षाले छिटपुटरूपमा क्षति गरेपनि धेरै क्षति नगरेको बताएका छन् । मोटा धान प्रायः सबै भित्र्याइसकेको र मसिनो धान मात्रै काट्न बाँकी रहेकोले धेरै क्षति हुने सम्भावना नरहेको उनीहरूले बताए ।

नरैनापुर गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले करिब ८० प्रतिशतबढी धान भित्र्याइसकेको र वर्षा पनि धेरै नभएकोले क्षति नभएको बताए । राप्ती सोनारी गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक चन्द्राकुमारी शाहीले पनि वर्षाले गर्दा धेरै क्षति भएको जानकारी नआएको बताइन् । डुडुवा गाउँपालिकाका कृषि प्राविधिक सहायक हनुमान यादवले पनि करिब ८० प्रतिशत धान भित्र्याइसकेको र होचो जमिनमा लगाइएको मसिनो जातका धान पाक्न बाँकी रहेकोले क्षति हुन नपाएको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले पनि जिल्लामा करिब ८० प्रतिशत धानबाली भित्र्याइसकेको र मसिनो धान काट्न बाँकी नै रहेकोले धेरै क्षति नभएको जानकारी पाएको बताउँछन् । उनले अहिलेसम्म क्षतिको विवरण संकलन गर्नुपर्ने आवश्यकता रहेको भनेर कतैबाट माग नआएको बताए । उता बर्दिया जिल्लास्थित एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख कमला अधिकारीले जिल्लामा वर्षाले धानबालीमा क्षति गरेको जानकारी नआएको बताइन् ।

यद्धपि स्थानीय तहबाट जानकारी लिने काम भइरहेको र धेरै क्षति भएको अवस्थामा क्षतिको विवरण संकलन गरिने बताइन् ।बर्दियामा पनि करिब ८० देखि ८५ प्रतिशत धानबाली भित्र्याइसकिएको जानकारी आएको अधिकारीको भनाइ छ । बंगालको खाडीमा विकसित मोन्था चक्रवात र पश्चिमी वायुको प्रभावका कारण बाँके बर्दियामा सामान्य वर्ष भएको थियो ।

पर्वतको पैंयूले कृषकलाई राहत दिने

किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको छ ।

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण संकलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्यांकनका आधारमा राहत उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । ‘मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘धान परालमा भएको नोक्सानीको मूल्यांकन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ । यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकून् भन्ने पालिकाको उद्देश्य हो।’

कृषि ज्ञान केन्द्रले पर्वतका सातवटै स्थानीय तहमा धानबालीमा वर्षाले क्षति पु¥याएको जनाएको छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताइन् । काटेर सुकाएका निहिन भिजाएकोभन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएको सुवेदीको भनाइ छ । नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार