कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदानमा लुम्बिनी लायन्सको आयोजनामा प्रतिभा छनौट ‘ट्यालेन्ट हन्ट’ सम्पन्न भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले बाँकेको कोहलपुरमा प्रतिभा छनौट ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको हो । मंसिर १ गतेदेखि सुरु हुने एनपिएलको दोस्रो संस्करणका लागि ‘ट्यालेन्ट हन्ट’बाट युवा खेलाडीको खोजी गर्ने उद्देश्यले खेल आयोजना गरिएको लुम्बिनी लायन्सले जनाएको छ ।
‘ट्यालेन्ट हन्ट’मा लुम्बिनी प्रदेशका १२ मध्ये ८ जिल्लाका युवा खेलाडीहरूको सहभागिता रहेको थियो । लुम्बिनीका विभिन्न जिल्लाका गरी ८० जना युवा खेलाडीहरूको सहभागिता रहेको लुम्बिनी लायन्सका प्रशिक्षक शक्ति गौचनले बताए । उनका अनुसार एनपिएलको दोस्रो संस्करणमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ आयोजना गरिएको हो । ‘ट्यालेन्ट हन्ट’मा निकै आशलाग्दा खेलाडीहरूले सहभागिता जनाएको उनले बताए ।
‘कोहलपुरमा ‘ट्यालेन्ट हन्ट’ सम्पन्न भएको छ । छनौटमा उल्लेख्य सहभागिता रहयो । निकै राम्रो सम्भावना भएका खेलाडीहरू आएका थिए । अब सहभागीमध्येहरूबाटै छनौट हुनेछन्,’ प्रशिक्षक गौचनले भने । अक्टोबर १ तारिखका दिन ‘ट्यालेन्ट हन्ट’बाट छानिएका ३ देखि ५ जना खेलाडी छनौट भएको लुम्बिनी लायन्सको अफिसिएल फेसबुक पेजबाट जानकारी दिइने उनले बताए ।
औपचारिक घोषणा भएको भोलिपल्ट ती खेलाडीहरूलाई भैरहवामा हुने प्रशिक्षणमा सहभागी गराइनेछ । त्यहाँबाट अन्तिममा एक जनालाई छनौट गरिनेछ । ‘ट्यालेन्ट हन्ट’मा १० वर्षीय खेलाडीसमेत सहभागी भएका थिए । नेपाली पुरुष राष्ट्रिय त्रिकेट टिमका पूर्वखेलाडी गौचनको प्रशिक्षणमा रहेको लुम्बिनी लायन्सले एनपिएलको पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लुम्बिनीको कप्तान छन् ।
लायन्स यतिबेला दोस्रो सिजनको पूर्वतयारीमा समेत रहेको छ । लुम्बिनीले गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ । अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा ‘विस लिस्ट’बाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ ।
लुम्बिनीले विदेशी खेलाडीहरूमा अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेललाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्