वीरेन्द्रनगर ।
कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका बनाएको छ । उक्त निर्देशिका कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृतसमेत भइसकेको छ । मन्त्रिपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएसँगै निर्देशिका कार्यान्वयन प्रक्रियामा अघि बढेको छ ।
लैङ्गिक हिंसापीडितका घटनाको व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशिका तयार गरेर स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार यसअघि विभिन्न कार्यक्रममा सरोकारवालाले ऐन नै निर्माण गरेर लैङ्गिक हिंसा न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा प्रदेश सरकारले निर्देशिका जारी गरेको उनले बताए । यता सामाजिक विकास मन्त्रालयले यस वर्ष लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम राखिएको जनाएको छ ।
स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको समन्वयमा ती कार्यक्रम कार्यान्वयन गर्ने तयारी भइरहेको मन्त्रालयका सामाजिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । निर्देशिकाअनुरूप नै ती कार्यक्रम कार्यान्वयन हुने उनको भनाइ छ । ‘कर्णाली प्रदेशमा महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना धेरै भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाको हत्यासम्म हुने गरेका जघन्य अपराधका घटना हुन थालेका छन्,’ उनले भने, ‘यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । त्यसैले पनि यो निर्देशिका आवश्यक थियो ।’
एक अध्ययनले प्रत्येक १० मध्ये ६ महिला घरमा असुरक्षित छन् । असुरक्षित ती महिलाहरू घरेलु हिंसा र मानसिक तनाव आफ्नै घरमा सहन बाध्य रहेको उल्लेख छ । सोही कुरालाई मध्यनजर गरी प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न विशेष योजना निर्माण गरेको छ । कानुन नै निर्माण गरी प्रतिफलमा आधारित योजना निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमा यो वर्ष निर्माण गरिएको निर्देशिकाअनुरूप नै कार्यक्रम कार्यान्वयन हुनेछन् । अघिल्ला वर्षमा पनि प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरणको योजना बनाउँदै आएको थियो । तर लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा छ । विगत पाँच वर्षयता झन् लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढिरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्