बाल सुधारगृहबाट भाग्न खोजे बन्दी, अझै २२९ जना बाहिरै



नेपालगन्ज ।

बाँकेको नौबस्तास्थित बाल सुधारगृहबाट भाग्न खोजेका एकजना बन्दीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको छ । बिहीबार बिहान हाम फालेर भाग्न लागेका एक बन्दीलाई सुरक्षाकर्मीले समयमै थाहा पाएर नियन्त्रणमा लिन सफल भएका बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए । उनले बन्दीहरूले पटक पटक भाग्ने प्रयासका घटनाहरू दोहो¥याइरहेकाले कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले नौबस्तास्थित बाल सुधारगृहमा १८ वर्षको उमेरमा कानुनी विवादमा परेका र अहिले उमेर बढी भइसकेका युवाहरूले समस्या सिर्जना गरिरहेका पाइएको बताए । बालक उमेरमा कानुनी विवादमा परेकाहरूलाई उनीहरूको सजाय भुक्तान नहुञ्जेल बाल सुधारगृहमै राख्नुपर्ने कानुनी व्यवस्था छ । यस्तो व्यवस्थामा सुधार नगरेसम्म बाल सुधारगृहको समस्या समाधान नहुने देखिएको एसपी जिसीको भनाइ छ ।

भदौ २४ गते जेनजी प्रदर्शन भएको दिन बाँकेका बाल सुधारगृह र कारागारबाट दुई सय ९३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अझै दुई सय २९ जना नियन्त्रणमा आउन बाँकी रहेका पनि एसपी जिसीले जानकारी दिएका छन् ।

बाँकेको आसमानपुरस्थित बाल सुधारगृहबाट भागेका ६६ जना अझै नियन्त्रणमा आएका छैनन् भने नौबस्ता बाल सुधारगृहबाट भागेका २८ जना नियन्त्रणमा आएका र ५० आउन बाँकी रहेका उनले जानकारी दिए । यसैगरी नौबस्ता कारागारबाट भागेका ३६ कैदीहरू नियन्त्रणमा आएका छन् भने अझै एक सय १३ जना नियन्त्रणमा आउन बाँकी रहेका जिसीले बताए । बाहिर रहेका बन्दीहरूको प्रहरीले खोजी निरन्तर गरिरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार