नेपालगन्ज (बाँके) ।
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा दक्ष स्विमिङ प्रशिक्षक उत्पादन गर्नका लागि नेपालगन्जमा दुईदिने स्विमिङ प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ । नेपाल पौडी संघ (नेपाल स्विमिङ एसोसिएसन) लुम्बिनी प्रदेश र नेपालगन्ज स्विमिङ क्लबको सहआयोजनामा नेपाल पौडी संघले बुधबारबाट नेपालगन्जमा दुईदिने स्विमिङ प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।
तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ४० जना युवाहरू सहभागी रहेको नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए । उनका अनुसार तालिममा प्रशिक्षकका रूपमा नेपाल पौडी संघका प्राविधिक प्रतिनिधिहरू वल्र्ड एक्वेटिक्स अफिसियल विष्णु खड्का र वल्र्ड एक्वेटिक्स अफिसियल अनिश महर्जन र एसिएन एक्वेटिक्स अफिसियल दीपकसागर सिंह रहेका छन् ।
नेपालगन्जमा कात्तिक १४ र १५ गते सम्पन्न हुने दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को पूर्वसन्ध्यामा प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो । प्रशिक्षणमा सहभागी भएका प्रशिक्षार्थीहरूलाई तालिमपश्चात् पौडी प्रशिक्षकको लाइसेन्ससमेत प्रदान गरिने जनाइएको छ । ‘हामीले पश्चिम नेपालमा दक्ष पौडी प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा दुईदिने प्रशिक्षक प्रशिक्षण तालिमको आयोगना गरेका छौँ, यो तालिम अन्तर्राष्ट्रियस्तरको कोर्षका आधारमा सञ्चालन छ, तालिममा भाग लिनुभएका प्रशिक्षार्थीलाई हामीले परीक्षासमेत लिनेछौँ, परीक्षामा उत्तीर्ण सहागीहरूलाई पौडी प्रशिक्षकको लाइसेन्स प्रदान गरिनेछ ।’ वल्र्ड एक्वेटिक्स अफिसियल विष्णु खड्काले मिसन टुडेसँग भने ।
अर्का वल्र्ड एक्वेटिक्स अफिसियल अनिश महर्जनले स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि तालिम महत्वपूर्ण हुने बताए । उनले तालिमपश्चात् लाइसेन्सप्राप्त जनशक्तिले प्रदेशस्तरसम्मका पौडी खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरे । कात्तिक १४ र १५ गते सम्पन्न हुने दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को सम्पूर्ण तयारी पूरा भएको नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष न्यौपानेको भनाइ छ । उनले देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी तयारी गरिएको र बुधबार बिहानसम्म करिब १५० जना खेलाडीहरूले आवेदन भरिसकेको जानकारी दिए ।
उनले प्रतियोगितामा देशैभरबाट अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका गरी करिब दुई सय प्रतिस्पर्धी खेलाडीहरूले भाग लिने अपेक्षा गरिएको बताए । ‘हामीले पछिल्लो समयमा नयाँ पुस्तामा देखिएको पौडी खेलप्रतिको आकर्षणलाई मध्यनजर गर्दै ८ देखि १७ वर्ष उमेर समूहका भाइबहिनीहरूलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गरेका छौँ, यो केवल प्रतियोगिता मात्र नभएर पौडी खेलप्रति रुचि भएकाहरूका लागि उचित प्लेटफर्म पनि हो, यहाँबाट हामी नयाँ खेलाडी उत्पादन गर्न खोजिरहेका छौँ, जसले भविष्यमा गएर देशकै नाम राख्न सकुन् ।’ अध्यक्ष न्यौपानेले भने ।
अन्डर ८ उमेर समूहका खेलाडीहरूले २५ मिटर दूरीमा, अन्डर १० उमेर समूहका खेलाडीहरूले ५० मिटर दूरीमा, अन्डर १२ र १४ उमेर समूहका खेलाडीहरूले ५० र १०० मिटर दूरीका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने र खुला उमेर समूहका खेलाडीहरूले २०० र ४०० मिटर दूरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्ट रहने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिने तथा एकजना वेष्ट प्लेयर ब्जाइज र एकजना वेष्ट प्लेयर गल्र्स गरी दुई जनालाई भने नगदसहित पुरस्कृतसमेत गरिने जनाइएको छ । क्लबले गत वर्ष नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्