नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा वर्षाका कारण भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा किसानहरुले भोकमरीको चिन्ता गर्न थालेका छन् । सोमबार रातिदेखि परेको हिउँदे वर्षाले कर्णालीमा भित्र्याउन लागेको धानबालीमा ठूलो क्षति पु¥याउँदै आएको विवरण आउन थालेका छन् । सुर्खेतसहित दैलेख, जुम्ला, जाजरकोट, कालीकोट, सल्यान र रूकुम पश्चिममा खेतमा पाकेर भित्र्याउन लागेको धान भिजेर क्षति पुगेको छ ।तिहारलगत्तै काटिएको धान खेतमै रहेका बेला परेको पानीले क्षति पु¥याउँदा किसान चिन्तित बनेका हुन् ।
काटेर सुकाएको धान खेतमै डुबेपछि सल्यानलाई भोकमरीको पिरलो बढेको किसान दिपक भण्डारीले बताए । बेमौसमी वर्षातले भिजेको धान सुक्खा स्थानमा सुकाउन अहिले किसानलाई हम्मेहम्मे परेको उनले जानकारी दिए । ‘पाकेको धान तिहारअघि नै काटेर भित्र्याउनु पर्ने भएपनि दसैँ, तिहार मनाएर फुर्सदिलो भएको बेला भित्र्याउँला भनेर ढिला गर्दा समस्या भयो,’ उनले भने, ‘मजस्ता कालिमाटी गाउँपालिकाका अधिकांश किसानले काटेर सुकाएको धान वर्षातका कारण खेतमै भिजेको छ ।’
सोमबार रातिदेखि मंगलबार रातिसम्म २४ घण्टा लगातार वर्षात भएको र अझै केही दिन वर्षा हुने मौसमविद्ले जानकारी गराएपछि काटेर सुकाएको धान कुहिएर जाने सम्भावना बढेको छ । साथै खेतमै धान उम्रेर खेर जाने चिन्तामा किसान छन् । सल्यानमा प्रत्येक वर्ष झण्डै सात हजार हेक्टर खेतमा धानखेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार किसानले खेतमा पाकेको धान ५० प्रतिशतभन्दा बढी भित्र्याइसकेका छन् ।
कार्यालय प्रमुख महेश आचार्यका अनुसार हाल शारदा नदीको किनार आसपास र शारदा, बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, त्रिवेणी, कालिमाटी, सिद्धकुमाख, कुमाख, दार्मा गाउँपालिकाको खहरेखोलाको आसपासमा रहेका खेतमा पाकेका धान किसानले भित्र्याउन भनी काटेर सुकाएको अवस्थामा भिजेका हुन् । कालिमाटीको टोटके, चापी, चंखेली, स्याँकु जिउला, सिमलचोक, ढोरनी, लगायतका क्षेत्रमा किसानले काटेर खेतमा सुकाएको धान भिजेको मात्र नभई कतिपय स्थानमा खेतमै डुबेको उनले जानकारी गराए ।
त्रिवेणी गाउँपालिका–५ का किसान कृष्ण बुढाथोकीले लुहामखोला वरपर किसानले काटेर सुकाएको धेरै धान पानीले भिजेको बताए । राम्रोसँग सुकाएर भित्र्याउने सोचमा पर्दा धान पानीले भिजेको उनको भनाइ छ । यता शारदा नगरपालिका–९ का किसान भिमबहादुर नेपालीले काटेर सुकाएको धान पानीले २४ घण्टासम्म भिजेपछि अहिले सुकाउन धौ–धौ भएको बताए । काटेर सुकाएको धान पानीले भिजेपछि धेरैजसो झरेको उनको भनाइ छ । यस्तै वर्षाले जाजरकोटमा पनि धान बालीमा असर गरेको छ । वर्षाले त्यहाँ पाक्न थालेको र काटेर राखेको धान बालीमा क्षति पुगेको हो ।
जाजरकोटमा सबैभन्दा बढी धान फल्ने भेरी नगरपालिका–१ होलुज्युलामा पाक्न लागेका र काटेर राखेका धान बालीमा असर पुगेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका अनुसार जाजरकोटका नलगाड, कुसे, छेडागाड र शिवालय गाउँपालिकामा पनि पानीले धानबालीमा असर गरेको छ । भेरी नगरपालिका–१ का कृषक बबि कार्कीका अनुसार तिहार सकेलगत्तै धानबाली काट्न थालेका कृषकहरू पानी परेपछि चिन्तित भएका छन् । आफूहरूले वर्षभरि दुःख गरेर भित्र्याउने बेलामा क्षति पुगेको उनके भनाइ छ । भेरी नगरपालिका–३ का अर्का कृषक गणेश रोकायाले अझै वर्षा लगातार परिरहेको खण्डमा आफूहरूको बाली सबै कुहिने सम्भावना बढेको बताए।
खेतमै तैरियो काटेको धान
अविरल वर्षाले कालीकोटका किसानले काटेको धानबाली कतिपय स्थानमा खेतमै तैरिएको छ । खडेरीको उच्च मारबाट जसोतसो रोपाइँ गरेका किसानले धान पाकेपछि झन् ठूलो क्षति बेहोरेका हुन् । खेतभरि धान काटेर सुकाइरहेका बेला एक्कासी पानी पर्दा धान खेतमै तैरिएको रास्कोट नगरपालिका–२ का शान्ताकुमारी रोकामगरले बताइन् ।
उनका अनुसार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । केही दिनअघि परेको असिनाले खेतमा ठाडै रहेको धान झारेर किसानको मन रुवाएको भन्दै फेरि परेको पानीले थप निराश बनाएको उनको भनाइ छ । ‘असिनाकै डरले छिटो छिटो धान काटियो तर राति एक्कासि पानी पर्दा काटेका सबै धान पानी खालमा डुबेको छ,’ उनले भनिन्, ‘जिल्लामै सबैभन्दा धेरै धान उत्पादन हुने रास्कोटमा निकै क्षति भएको छ ।
तिलागुफा नगरपालिकामा रातो मार्सी धान केही किसानले भित्र्याउन सकेपनि धेरै जसो किसानले भने क्षति बेहोरेका छन् ।’ जिल्लाको शुभकालिका, सान्नीत्रिवेणी, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकाभित्रका किसानको धानमा पनि क्षति पुगेको गुनासो आएको कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्