वीरेन्द्रनगर ।
कर्णाली प्रदेशस्थित सुर्खेतमा रहेर काम गर्दै आएका पत्रकारहरूले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जेड्सी) सवालमा कलम चलाउने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा सम्पन्न पत्रकारहरूका लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी क्षमता अभिवृद्धि तालिमका सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतको आयोजनामा यहि कार्तिक १० र ११ गते सञ्चालन भएको तालिमपछि जेड्सीको सवालमा निरन्तर कलम चलाउने घोषणासहित सातबुँदे प्रतिबद्धताहरू कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जाहेर गरिएको हो । प्रतिबद्धतामा भनिएको छ, ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जेड्सी) सवाललाई प्राथमिकता दिनेछौँ । जेड्सीको रिपोटिङ गर्दा शब्द चयनमा ध्यान दिनेछौँ भने जेड्सीको सवालमा निर्माण हुनुपर्ने कानुनमा पैरवी गर्नेछौँ ।’
यस्तै जेड्सी उत्तरदायी बजेट निर्माण र कार्यान्वयनमा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउने, स्रोत तथा गोपनियताको ख्याल राख्ने, भ्रामक र मिथ्या सूचना प्रकाशन प्रशारण नगर्ने र समाचारमा लैंगिक समानता कायम गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ । पत्रकारहरूको सामूहिक प्रतिबद्धतापछि धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष देवी पौडेल र कार्यकारी निर्देशक मधुरानी ढकालले पत्रकारको कलमले समाजमा छिट्टै र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।








प्रतिक्रिया दिनुहोस्