सुर्खेत ।
कर्णाली प्रदेशमा यस वर्षको बडादसैँ र तिहार लगायतका चाडपर्व अवधिमा भएका ९१ सवारीसाधन दुर्घटनामा परी १९ जनाले अकालमा ज्यान गुमाएका छन् । यी दुर्घटनामा १०८ जना गम्भीर घाइते र ११५ जना सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वको अवधिमा हुने सवारी चाप र लापर्बाहीका कारण सवारी दुर्घटनामा बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । तथ्यांकअनुसार कर्णालीका १० जिल्लामध्ये चाडपर्व अवधिमा सुर्खेतमा सबैभन्दा बढी ३६ वटा सवारीसाधन दुर्घटना भएका छन् । यस्तै रूकुम पश्चिममा १६, सल्यानमा ११ र जाजरकोटमा नौ वटा सवारीसाधन दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै दैलेख र कालीकोटमा ६÷६ वटा दुर्घटना हुँदा जुम्लामा चार र डोल्पामा एक सवारी दुर्घटना भएका छन् । मुगु र हुम्लामा भने चाडपर्वको अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सवारी दुर्घटनामा रूकुममा सर्वाधिक आठ जनाको मृत्यु भएको छ । यता सुर्खेत र सल्यानमा चार÷चार जनाको मृत्यु भएको छ भने जाजरकोटमा एक र दैलेखमा दुई जनाले अकालमा ज्यान गुमाएका छन् । कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भने यस अवधिमा सवारी दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन। दुर्घटनामा गम्भीर घाइते हुनेको सङ्ख्या सुर्खेतमा ३७, रूकुम पश्चिममा २५ र सल्यानमा १७ रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनालले जानकारी दिए ।
उनका अनुसार कालीकोटमा आठ, जाजरकोटमा पाँच, दैलेखमा ११, जुम्लामा चार र डोल्पमा एक जना गम्भीर घाइते भएका हुन् । सामान्य घाइते हुनेमा सबैभन्दा बढी सुर्खेतमै ३९, रूकुम पश्चिममा १७, जाजरकोटमा २३, दैलेखमा २०, सल्यानमा र कालीकोटमा ६÷६ र जुम्लामा चार जना रहेका छन् । चाडपर्वमा भएका कूल ९१ दुर्घटनामध्ये बडादसैँको अवधिमा ५७ वटा र दीपावलीको अवधिमा ३४ वटा दुर्घटना भएका छन् । दुर्घटनाको सङ्ख्या दसैंँमा बढी देखिए पनि मानवीय क्षतिको हिसाबले दीपावली अवधिमा बढी देखिएको छ । दसैँको अवधिमा आठ जनाको ज्यान गएको थियो भने दीपावलीको अवधिमा ११ जनाको ज्यान गएको छ ।
दसैँको अवधिमा भएको दुर्घटनामा ६६ जना गम्भीर घाइते र ९३ जना सामान्य घाइते भएका थिए भने दीपावलीको अवधिमा ४२ जना गम्भीर घाइते र २२ जना सामान्य घाइते भएको उल्लेख छ । अधिकांश जिल्लामा तिहारको तुलनामा दसैँको समयमा बढी सवारी दुर्घटना भएका छन् । सुर्खेतमा दसैँमा २२ र तिहारमा १४, सल्यानमा दसैँमा सात र तिहारमा चार, रूकुममा दसैँमा ११ र तिहारमा पाँच, जाजरकोटमा दसैँमा पाँच र तिहारमा चार तथा दैलेखमा दसैँमा चार र तिहारमा तीन सवारीसाधन दुर्घटना भएका हुन् ।
जुम्लामा दसैँको अवधिमा चार र डोल्पामा एक सवारी दुर्घटना भए पनि यी दुई जिल्लामा तिहारमा भने कुनै दुर्घटना भएका छैनन् । मृत्युको तथ्यांक विश्लेषण गर्दा रूकुम पश्चिममा तिहारको समयमा भयावह स्थिति देखिएको छ, जहाँ दसैँमा भएका दुर्घटनामा शून्य मृत्यु रहेपनि तिहारमा आठ जनाको ज्यान गएको छ । सल्यानमा दसैँमा चार जनाको मृत्यु भएको थियो भने तिहारमा कुनै मृत्यु भएको छैन । सुर्खेत र दैलेखमा दसैँमा दुई–दुई र तिहारमा एक–एक जनाको मृत्यु भएको छ ।
तथ्यांकले चाडपर्वको समयमा सवारी सुरक्षामा थप सचेतना र कडाइ आवश्यक रहेको देखाउँछ । कर्णालीमा प्रहरीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर लागू गरेको थियो । यो सुरक्षा योजना असोज ६ गतेदेखि कात्तिक १० गतेसम्म लागू गरिएको थियो । तर प्रहरीले विशेष सुरक्षा योजनाअनुसार कामकारबाही जारी राखेको छ ।








प्रतिक्रिया दिनुहोस्