पार्टी कार्यालय मर्मतसम्भारमा एमाले बाँके



नेपालगन्ज ।

जेनजी आन्दोलनका बेला आगजनी भएको बाँके एमालेको क्षतिग्रस्त भवन पार्टीका नेता कार्यकर्ताको सहयोगबाटै मर्मतसम्भार गर्न थालिएको छ । पार्टीको जिल्ला कार्यसमितिले पार्टी नेता, कार्यकर्ता र सुभेच्छुकहरूबाट स्वैच्छिक सहयोग संकलन गरेर पार्टी कार्यालय भवन मर्मतसम्भार गर्ने अभियान सञ्चालन गरिरहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

नेपालगन्जमा भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा एमाले बाँके र नेपाली काँग्रेस बाँकेको कार्यालय भवनमा आगजनी र तोडफोड गरिएको थियो । आगजनीले कार्यालयका कागजातका साथै फर्निचरहरूसमेत जलेर नष्ट भएका थिए । त्यसक्रममा ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएकोमा करिब २० लाख लगानीमा कार्यालयको मर्मतसम्भार गर्न सकिने अनुमान रहेको प्रदेश सांसदसमेत रहेका एमाले नेता रत्न खत्रीले जानकारी दिए ।

अहिले कार्यालय मर्मतसम्भारका लागि सहयोग रकम प्रदान गर्न कार्यकर्ताहरू अघि सरिरहेका उनले बताए । केही दिनमै कार्यालयको मर्मतसम्भार गरिसकिने उनको भनाइ छ । सहयोगको एकरुपताका लागि सबैसँग रकम मात्रै संकलन गरिने उनले बताए । अहिले कार्यालय भवनको बाहिरी भाग रंगरोगन सम्पन्न भई भित्री भागको रंगरोगन भइरहेको छ । यसका साथै तोडफोड गरिएका झ्यालढोकाहरू मर्मतको काम पनि चलिरहेको छ ।

कार्यालय आगजनी र तोडफोडपछि नजिकै रहेको एउटा टहरोमा टेबल राखेर पदाधिकारीहरूले सम्पर्क डेस्क चलाइरहेका छन् । मर्मत र रंगरोगनका साथै कार्यालयको लागि आवश्यक फर्निचर तथा साधनहरूको व्यवस्थापछि केही दिनमा भवनमै कार्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार