नेपालगन्ज ।
भेरी अस्पतालमा थप चारवटा डायलासिस मेसिनहरू सञ्चालनमा ल्याइएको छ । योसँगै अस्पतालमा सञ्चालनमा रहेका डायलासिस मेसिनको सङ्ख्या १० पुगेको छ । १० वटा मेसिनबाट तीन सिफ्टमा गरेर एक दिनमा बढीमा ३० जना बिरामीहरूले सेवा लिन सक्ने अवस्था बनेको छ ।
अस्पतालका डायलासिस विभाग प्रमुख डा. पारश श्रेष्ठका अनुसार मन्त्रालयबाट करिब एक महिनाअघि प्राप्त मेसिनहरूलाई व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको हो ।
यसअघि ६ वटा मेसिन राखेर सञ्चालन भइरहेको डायलासिस कक्षमा ठाउँ नहुँदा आइसियुलाई नयाँ इण्डोर भवनमा सारेर उक्त कक्षमा नयाँ मेसिनहरू राखेर सेवा सुरु गरिएको डा. श्रेष्ठले जानकारी दिए । मेसिन थपिएसँगै अब बिरामीहरूले पालो कुर्नपर्ने समस्या नहुने अपेक्षा गरिएको उनको भनाइ छ । भेरी अस्पतालमा अहिले ५७ जना बिरामीहरूले नियमित डायलासिस सेवा लिइरहेका डा. श्रेष्ठले जानकारी दिएका छन् ।सामन्यतया एकजना बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्ने हुन्छ ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा डायलासिस गरेको शुल्क अस्पताललाई शोधभर्ना गरिदिने गर्छ । पछिल्लो समय बर्दिया अस्पताल, टीकापुर अस्पताललगायत नेपालगन्ज आसपासका अरु अस्पतालमा पनि डायलासिस सेवा विस्तार भएको छ । तर, रेफरल सेन्टर भएका कारण भेरीमा चाप कहिल्यै नघट्ने डा. श्रेष्ठको भनाइ छ । उनले अझै अस्पतालमा इमरजेन्सी सेवाका लागि थप चार÷पाँचवटा डायलासिस मेसिन आवश्यक रहेको उनले बताए । ‘अहिले हामीसँग रहेका मेसिनहरू तीन सिफ्टमा सञ्चालन गर्छाैँ ।
रातिको समयमा बन्द गर्छाैँ । तर सर्पले टोकेर मृगौलामा असर गरेका वा तत्काल डायलासिस गर्नुपर्ने इमरजेन्सी अवस्थाका बिरामीका लागि केही मेसिनहरू तयारी हालतमा राख्नुपर्ने अवस्था छ । त्यसैले अझै थप चार÷पाँचवटा मेसिन राख्न आवश्यक छ भनेर हामीले भनेका छौँ,’ डा. श्रेष्ठले भने । अहिलेपनि अस्पतालमा दुईवटा मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थाका रहेका र त्यसका लागि पहल पनि भइरहेको उनको भनाइ छ ।
भेरी अस्पतालमा बाँकेका साथै सुर्खेत, सल्यान, दैलेख, कालीकोट, अछाम, जाजरकोटलगायत पहाडी तथा हिमाली जिल्लाका बिरामीहरू पनि सेवा लिन आउने गरेका छन् । डायलासिस सेवा स्थानीयस्तरमा पनि विस्तार भएमा बिरामीहरूलाई डायलासिस गर्न डेरामा बस्नुपर्ने खर्च कम हुने र भेरीमा मात्रै पर्ने चाप कम हुने डा. श्रेष्ठको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्