कर्णाली प्रदेशसभा बैठक अनिश्चित



जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कर्णाली प्रदेशसभा बैठकस्थल ध्वस्त भएको छ । जसले गर्दा आगामी अधिवेशनको बैठक कहाँ बस्ने भन्नेबारे अन्योल कायमै रहेको छ । आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ । तर प्रदेशसभा बैठकस्थलको व्यवस्था नभएका कारण बैठक अनिश्चित भएको छ । बैठकस्थल कहाँ र कसरी बस्ने भन्नेबारे अहिलेसम्म प्रदेशसभामा सहभागी दलहरूबीच छलफल हुन सकेको छैन ।

नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशसभा बैठकस्थलबारे निर्णय गर्न छलफलको आयोजना गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकस्थलबारे निष्कर्षका लागि आज बुधबार छलफल कार्यक्रम राखिएको हो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा कर्णाली प्रदेशसभा बैठकस्थल ध्वस्त भएको छ । जसले गर्दा आगामी अधिवेशनको बैठक कहाँ बस्ने भन्नेबारे अन्योल कायमै रहेको छ । आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ । तर प्रदेशसभा बैठकस्थलको व्यवस्था नभएका कारण बैठक अनिश्चित भएको छ ।

प्रदेशसभाको हिउँदे अधिवेशन हुने दिन नजिकिँदै छन् । तर बैठकस्थल कहाँ र कसरी बस्ने भन्नेबारे अहिलेसम्म प्रदेशसभामा सहभागी दलहरूबीच छलफल हुन सकेको छैन । बुधबार आयोजना गरिएको छलफल कार्यक्रमबाट दलहरूले यसबारे निर्णयसहित निष्कर्ष निकाल्नेछन् । अहिलेकै प्रदेशसभा भवनलाई मर्मत गर्ने वा अन्य वैकल्पिक स्थानको छनोटबारे छलफल हुनेछ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सबै काम शून्यबाट गर्नुपर्ने भएकाले आगामी बैठक सञ्चालन, स्थानबारे समस्या भएको छ । बैठकस्थलका बारेमा छलफलपछि आउने निष्कर्षका आधारमा मात्रै अगाडि बढ्न सकिने उनले बताए ।

‘अहिले प्रदेशसभा बैठक मर्मतका लागि बजेट र समयको अभाव छ,’ उनले भने, ‘बैठक सञ्चालनका लागि न्यूनतम पूर्वाधार बनाउन कम्तीमा ६ महिना वा एक वर्ष लाग्छ । यसका साथै सामान खरिद प्रक्रियामा पनि समय लाग्छ । हाल वैकल्पिक स्थानको खोजी गर्ने विषमया छलफल हुनेछ ।’ यदि तोकिएको समयभित्र प्रदेशसभा मर्मत हुन सकेन भने बैठकका लागि मन्त्रालय तथा निर्देशनालयका भवन वा जिल्ला समन्वय समितिको हल र सिटी हल वैकल्पिक स्थान हुन सक्ने अनुमान गरिएको छ । प्रदेशसभा भवन र विभिन्न समितिका कार्यकक्ष जलेपनि हाल प्रदेशसभाको दुईवटा समितिले आफ्नो काम जारी राखेका छन् ।

सामाजिक विकास समिति र अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठक बसेर काम सञ्चालन गरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । आगजनीका कारण समितिका कार्यकक्ष पनि जलेपछि अहिले आलोपालो गरेर बैठक बस्ने गरिएको छ । सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिको कार्यकक्ष आंशिक क्षति भएकाले त्यसलाई सामान्य सफाइ गरेर अन्य समितिको पनि बैठक आलोपालो बस्ने व्यवस्था मिलाइएको सूचना अधिकारी पौडेलले बताए । जेनजी आन्दोलनका व्रmममा प्रदेशसभामा मात्रै करिब चार करोड बराबरको क्षति भएको छ ।

प्रदेश सरकारको करोडौँ क्षति

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको प्रत्यक्ष असर कर्णाली प्रदेश सरकारमा परेको छ । भदौ २४ गते आन्दोलनकारीहरूले प्रदेश सरकारको करोडौँ क्षति गरेका छन् । प्रदेश सरकारका विभिन्न भौतिक संरचनामा क्षति पु¥याउँदा कूल १९ करोड ७५ लाख ४५ हजार बढीको घाटा बेहोर्नु परेको छ ।

आन्दोलनको असर सरकारका कामकारबाहीमा अझै परेको सरकारी अधिकारीहरू बताउँछन् । अझै पनि कर्मचारी र मन्त्रीहरू पूर्णरूपमा कार्यालयमा फर्केर काम गर्न सकिरहेका छैनन् । प्रदेश सरकारले आन्दोलनबाट भएको क्षतिको मूल्यांकन गरेको छ । जसमा अनुमानित क्षतिअनुसार कर्णाली प्रदेश सचिवालय सुर्खेतको तीन करोड ९४ लाख १६ हजार बढी क्षति पुगेको छ । जिल्ला समन्वय समितिको कार्यालय सुर्खेतको चार लाख तीन हजार, सडक डिभिजन सुर्खेतको दुई लाख चार हजार र भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना सुर्खेतको दुई करोड ६३ लाख ६० हजार बढी क्षति भएको उल्लेख छ ।

यस्तै नापी कार्यालय, सुर्खेत, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सुर्खेत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र मुख्य न्यायाधिवक्ताको कार्यालयमा क्षति भएको विवरण तयार भएको छ । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको निवास, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वीरेन्द्रनगर नगरपालिका, १ नं. वडा कार्यालयदेखि १२ नं. वडा कार्यालयमा क्षति पुगेको प्रहरीले मुचुल्का तयार पारेको छ ।

सांसदले लिए उपचार खर्च 

कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्य (सांसद)हरूले राज्यकोषबाट औषधि उपचारबापत साढे दुई लाख रूपैयाँ खर्च लिएका छन् । प्रदेशसभा सचिवालयका अनुसार सांसदहरूले उपचार खर्चबापत ०८१ साउन महिनादेखि हालसम्म उक्त रकम लिएका हुन् । गत साउनसम्म दुई लाख ३७ हजार ६४६ रूपैयाँ सांसदहरूको उपचार खर्चबापत भुक्तानी भएकोमा पछिल्लो ६ महिनामा चार हजार ८२३ रूपैयाँ थपिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

जनप्रतिनिधिहरूका लागि राज्यले विभिन्न सुविधा उपलब्ध गराउने भएपनि जनताको स्वास्थ्यमा सहज पहुँच हुन नसकिरहेको अवस्थामा सांसदहरूको उपचार खर्चले भने चर्चा पाउने गरेको छ । तर कुन सांसदले कति रकम लिएका हुन् भन्ने तथ्यांक भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको जनाइएको छ । आन्दोलनका क्रममा प्रदेशसभा पूर्णरूपमा ध्वस्त भएको छ । प्रदेशसभाका सबै कागजात जलेर नष्ट भएका छन् भने महत्वपूर्ण दस्ताबेज पनि त्यसैमा जलेर नष्ट भएका छन् ।

‘प्रदेशसभा भवन पुनर्निर्माण कार्य सुरू गर्नुहोस्’ 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभाको पुनर्निर्माण कार्य सुरु गर्न सुझाव दिएका छन् । प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको भवनलाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै शीघ्र मर्मत र सरसफाइ अभियान सुरु गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो । मंगलबार प्रदेशसभाका सभामुख नन्दा गुरुङ र प्रदेशसभा सचिव जीवराज बुढाथोकीसँग प्रदेशसभामा भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

प्रदेशसभा हलबाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरु गर्न उनले सुझाव दिए । उनले भने, ‘बजेटको अभावलाई कारण नबनाइ तत्काल काम सुरु गर्नुपर्छ, आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ ।’ मुख्यमन्त्री कँडेलले सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापन जस्तै प्लास्टिकका कुर्सी, सामान्य सरसफाइसहित १० दिनभित्र प्रशासनिक भवनको पुननिर्माण व्यवस्थापन गर्न निर्देशन दिएका छन् । भदौ २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेशसभा परिसरमा सरसफाइ र पुनर्संरचना सुरु नहुँदा उनले असन्तुष्टि जनाए ।

उनले थपे, ‘कर्मचारी हुनुहुन्छ, तर ढलेका बोर्ड, फोहर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान दिइएको छैन । अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ ।’ प्रदेश सरकारको प्राथमिकतामा प्रदेशसभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको उनले बताए । सभामुख गुरुङ र सचिव बुढाथोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनर्निर्माणका लागि आवश्यक सहयोग र प्रक्रिया अघि बढाउने प्रतिबद्वता जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार