कोहलपुर ।
कोहलपुर बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । बजारको मुख्य चोकदेखि गल्लीहरूमा व्यवसायीहरूले प्लास्टिक माला छ्यापछ्याप्ती बिक्री गरिहेका हुन् । तिहार नजिकिएसँगै बजार क्षेत्रमा प्लास्टिकका मालाहरू खुलेआम बिक्रीका लागि राखिएका छन् ।प्लास्टिक माला बिक्री वितरणमा रोक लगाउन राज्यका कुनै पनि निकायको ध्यान जान सकेको छैन ।
कोहलपुरको न्यूरोड र साझा चोकलगायतका बजार क्षेत्रका पसलहरूमा अहिले जताततै प्लास्टिक माला खुलेआम बिक्री गर्नका लागि पसलमा सजाएर राखिएका छन् । नेपालको कानुनअनुसार अहिले प्लास्टिक माला किनबेच गर्न पाइँदैन । तर, अहिले कोहलपुर बजार क्षेत्रमा खुलेआम बिक्री भइरहेका छन् । स्थानीय सरकारको यसतर्फ कुनै ध्यान जान सकेको छैन् ।
नगरपालिकाले विगत वर्षहरूमा सूचना जारी गरेर प्लास्टिक माला बिक्री गर्न रोक लगाए पनि यस वर्ष कुनै चासो देखाएको छैन् । प्लास्टिक नकुहिने वस्तु भएकोले यसले वातावरण प्रदूषण गर्नुका साथै स्वास्थ्यलाई समेत असर गर्ने गर्छ । स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकका मालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पूर्णरूपमा स्थानीय तहले रोक लगाउनु पर्ने हो । तर, पछिल्लो समय प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दो छ ।
नागरिकको दैनिकीमा अहिले सबैभन्दा बढी प्रयोग हुने वस्तुका रूपमा पनि प्लास्टिक छ । चाडपर्वमा प्राकृतिक फूलको मालाका सट्टा प्लास्टिकका मालाको प्रयोग बढ्नाले पुष्प व्यवसायी विस्थापित भइरहेका छन् । एकपटक प्रयोग भइसकेपछि फालिने त्यस्ता प्लास्टिक मालाले वातावरणमा समेत असर गर्ने गर्छ ।
अर्काेतर्फ प्लास्टिक मालाका कारण स्वदेशी उत्पादन फूलले बजार पाउन समस्या भइरहेको छ । खुला सिमानाका कारण अवैधरूपमा भित्रिने यस्ता प्लास्टिकजन्य मालामा रोक नलागाउँदा स्वदेशी पुष्प व्यवसायी मर्कामा छन् ।









प्रतिक्रिया दिनुहोस्