मधुर पौडेल । बाँसगढी (बर्दिया) ।
बाँसगढी प्रिमियर लिग सिजन ३ अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा बाँसगढी रोयल टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै माछागढ सुपर स्ट्राइकर्सलाई ६२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । टस जित्दै पहिलो ब्याटिङ रोजेको रोयल टाइगर्सले १९.१ ओभरमा ९९ रनको योगफल बनायो ।
ब्याटिङतर्फ निर्मल गुरुङले सर्वाधिक २२ रन योगदान दिए भने बलिङमा स्ट्राइकर्सका नितेश न्यौपानेले ३ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको माछागढ सुपर स्ट्राइकर्सको टोली ३७ रनमै समेटिँदै खेल गुमायो । स्ट्राइकर्सतर्फ सम्मान ज्ञवालीले मात्र दोहोरो अंकमा पुग्दै १० रन बनाए । बलिङतर्फ रोयल टाइगर्सका समीर आचार्य र लभकुश यादवले समान ३–३ विकेट लिए भने निर्मल गुरुङले २ विकेट हात पारे ।
सर्वाधिक प्रभावशाली प्रदर्शन गर्दै १४ रन र ३ विकेट लिएका लभकुश यादव ‘म्यान अफ द म्याच’ घोषित भए । पुरस्कार प्राप्त गरेपछि उत्साहित लभकुश यादवले भने, ‘टिमको लागि योगदान दिन पाउँदा निकै खुसी लागेको छ ।
हामी सबैको लक्ष्य अब फाइनल जितेर बिपिएल ट्रफी घर ल्याउनु हो । आजको जित सम्पूर्ण टिमको मेहनतको नतिजा हो ।’ यस जितसँगै बाँसगढी रोयल टाइगर्स फाइनलमा प्रवेश गरेको छ । आज बाँसगढी रोयल टाइगर्स र बाँसगढी राइनोजबीच रोमाञ्चक फाइनल भिडन्त हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्